Successfully Copied

ह्विलचियरको सहारामा खेल्ने बास्केटबल खेलाडी यामी

११ कक्षामा पढ्दापढ्दै ढाडको मेरुदण्डमा ट्युमर देखिएर अप्रेसन गराएपछि उनी उठ्न तथा हिँड्न नसक्ने भइन् ।

यामी झाँक्री, ह्विलचियर (बास्केटबल खेलाडी)

११ कक्षामा पढ्दापढ्दै ढाडको मेरुदण्डमा ट्युमर देखिएर अप्रेसन गराएपछि उनी उठ्न तथा हिँड्न नसक्ने भइन् । प्यूठानमा जन्मिएर उतै पढिरहेकी यामी त्यही रोगकै कारण काठमाडौं आएकी हुन् । वीर अस्पतालमा अप्रेसन असफल भएपछि उनले जीवन नै रोकिएको मान्न थालिन् । ह्विलचियरको सहारामा हिँड्न थालेकी यामीका लागि ४ वर्षजति सारै कठिन भयो । उपचारका क्रममा जोरपाटीको पुनस्र्थापना केन्द्रमा बस्न थालेकी यामीले त्यहाँ बस्ने साथीहरूकै हौसला एवं प्रेरणाका कारण काठमाडौंमै बस्ने निर्णय लिइन् । त्यहाँ आफूजस्ता धेरै मानिस देखेर आफूमा आत्मविश्वास बढेको उनी बताउँछिन् ।

यामी आफूजस्ता ह्विलचियरमा हिँड्नेहरूले बास्केटबल खेलेको देखेर सुरुमा त अचम्मित भइन् । पछि आफू पनि खेल्न सक्छु भन्ने आँटका कारण उनले बास्केटबल खेल्न थालेकी हुन् । केही वर्ष क्याप्टेनको जिम्मेवारीसमेत सम्हालेकी यामीले अरु पनि क्याप्टेन हुनुपर्छ भन्ने सोचका कारण अहिले क्याप्टेनको जिम्मेवारी छोडेर खेलाडीका रूपमा बास्केटबल खेलिरहेकी छिन् । अहिले नेपालमा ४–५ वटा ह्विलचियर बास्केटबल टिम छन् । त्यसमा यामीकै टिम अग्रणी छ । प्राय: खेलमा यामीकै टिम विजयी भैरहेको हुन्छ । उक्त टिममा यामी र ज्योति अर्यालले टिमलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

मैदानमा खेल्न पुग्दा आफू अपाङ्ग छु, उठ्न र हिँड्न सक्दिन जस्ता कमजोर मानसिकता हराउने अनुभव उनको छ । पोखरा, धरान आदि ठाउँमा सम्पन्न ह्विलचियर बास्केटबलमा प्रथम स्थान हासिल गरेकी यामी ब्याचलर सकेर आय आर्जनका लागि बागबजारस्थित हार्दिक होटलमा सहायक एकाउन्टेनको काम पनि सम्हालिरहेकी छिन् । २८ वर्षकी यामी इलेक्ट्रिक काम गर्ने श्रीमान्को साथ, सहयोग एवं हौसलाले काम र खेललाई सँगसँगै लान सकिरहेको बताउँछिन् । हिँडेर, दगुरिरहेको व्यक्ति अचानक ह्विलचियरको सहायतामा हिँड्नुपर्दा नरमाइलो लागे पनि अहिले उनी यसैमा खुसी छिन् । मानिसमा विद्यमान साँघुरो मानसिकता हटाउन सके शारीरिक रूपमा अशक्त व्यक्ति पनि उदाहरणीय बन्न सक्ने यामी बताउँछिन् । 

 Image