सिन्धुपाल्चोक जिल्लाको लामो साँघुमा जन्मिएकी बिनु शाक्य ६ वर्षको उमेरदेखि नै नृत्यमा सक्रिय छिन् । उनी १० वर्षयता भने ‘बेली डान्स’ को ‘स्टेज परफर्मेन्स’मा काम गरिरहेकी छन् । म्युजिक भिडियो र चलचित्रमा ‘आइटम डान्स’ समेत उनले गरिसकेकी छन् । पछिल्लो समय ‘बेली डान्स’ इन्स्टिच्युट खोल्ने तयारीमा रहेकी उनी यसका लागि आवश्यक पहिरनको आउटलेट पनि खोल्ने योजनामा छिन् । नेपालमा ‘बेली डान्स’ र ‘मोडलिङ’ बारे उनीसँग गरिएको कुराकानी :
‘बेली डान्स’ तर्फ कसरी रुचि बढ्यो ?
६ वर्षको उमेरदेखि नै स्कुलका कार्यक्रममा नाच्थें । ९–१० कक्षा पढ्दा साकिराको डान्सबाट प्रभावित भएँ । सिन्धुपाल्चोकबाट काठमाडौं आएपछि कुनै एउटा नृत्यलाई फलो गर्नुपर्छ भन्ने लागेर यता केन्द्रित भएकी हुँ ।
तपाईंका लागि ‘बेली डान्स’ के हो ?
जीवन जिउने आधार हो । नृत्यबिनाको जीवन कल्पना पनि गर्न सक्दिन । शरीरले नाच्न छाडे पनि मेरो दिमाग नाच्नेछ ।
कहाँबाट सिक्नुभयो ?
दिदीहरूबाट सिकें । काठमाडौं आएपछि राष्ट्रिय नाचघर र विभिन्न केन्द्रबाट प्रशिक्षण लिएर नृत्य सिकेकी हुँ ।
नेपालमा ‘बेली डान्स’को अवस्था कस्तो छ ?
‘बेली डान्सर’का रूपमा म स्थापित भएको पाँचवर्ष भयो । पहिले–पहिले ‘बेली डान्स’लाई पश्चिमा शैली भित्र्याएको आरोप लगाइन्थ्यो, विकृतिका रूपमा बुझिन्थ्यो । पछिल्लो समय यो नृत्यबारे सोचमा परिवर्तन भएको छ । यो नृत्यलाई थोरै भएपनि महत्व दिन थालिएको छ । युवाहरू यसतर्फ आकर्षित भएका छन् ।
तपाईं आफ्नो विगतमा फर्किन पाउनुभयो भने कुन समयमा फर्किनुहुन्थ्यो, किन ?
म मेरो बाल्यकालमा फर्किन्थें किनभने कुनै कुराको भार र जिम्मेवारी थिएन, आनन्द र रमाइलो जिन्दगी थियो ।
नृत्य र मोडलिङमध्ये एक रोज्नुपरे कुन रोज्नुहुन्छ, किन ?
नृत्य । किनभने म नृत्यबाटै आएकी हुँ । नृत्यमा म डुब्न सक्छु, यसमा मलाई बढी सन्तुष्टि मिल्छ ।
नृत्य गर्दाको कुनै अविस्मरणीय क्षण ?
केही दिनअघि मात्रै परफर्मेन्स गर्दै थिएँ । अचानक अर्को गीत बजिदियो । म स्टेज नै छोडेर हिँडें । त्यो मेरो नृत्य करियरकै पहिलो घटना थियो ।
एउटा यस्तो कुरा जुन तपाईं कहिल्यै कसैलाई सेयर गर्न चाहनुहुन्न ।
म अलि रिसाहा छु जुन कुरा म अरुलाई सेयर गर्न चाहँदिन ।
तपाईंसँग चलाख सुगा छ, उसलाई सबैभन्दा पहिले के बोल्न सिकाउनुहुन्छ ?
‘डान्स’ शब्द वा मेरो नाम ‘बिनु’ भन्न सिकाउँथें ।
तपाईंलाई कुन जनावरको चाल मनपर्छ ?
बिरालो चाल (क्याटवाक) मनपर्छ ।