Successfully Copied

किन घट्दैन हिंसा ?

महिला हिंसा न्यूनीकरण एवं निर्मूल गर्न भनेर संसारभर विभिन्न कार्यक्रम तथा नीति तर्जुमा भैरहेको लामो समय बितिसक्दा पनि पूर्वीय मुलुकहरूमा हिंसाको अनुपात अझ बढ्दो देखिन्छ ।

 महिला हिंसा न्यूनीकरण एवं निर्मूल गर्न भनेर संसारभर विभिन्न कार्यक्रम तथा नीति तर्जुमा भैरहेको लामो समय बितिसक्दा पनि पूर्वीय मुलुकहरूमा हिंसाको अनुपात अझ बढ्दो देखिन्छ । समाज एवं व्यक्तिमा आएको चेतना स्तर र आत्मविश्वासका कारण हिंसा घट्ने तर्क सम्बन्धित विशेषज्ञहरूको रहे पनि दक्षिण एसियाली मुलुकमा महिला हिंसाको तथ्यांक निरन्तर उकालो लागिरहेको पाइन्छ । संसारभर एकैपटक महिला हिंसाविरुद्धको सोह्र दिने अभियान संचालनका क्रममा के गरे महिला हिंसा न्यूनीकरणमा टेवा पुग्छ ? भन्ने प्रश्नमा केन्द्रित रही चलाइएको नारी बहस :

रुपी सिंह, शिक्षाविद्

हिजोआज महिलाहरू बोल्ड हुँदै गएकाले महिला हिंसाका घटना बाक्लिएको देखिएको हो । यो उहिलेजस्तो लाजको विषय रहेन अब । यसलाई कम गर्न महिलाहरू शारीरिक तथा मानसिक रूपमा आफ्नो आत्मरक्षा गर्न सक्षम हुनुपर्छ । चेतना, महिलालाई सम्मान गरौं भन्ने अभियान, यस विषयमा सञ्चार माध्यमको सकारात्मक सहयोग भएको खण्डमा हिंसा क्रमश: घट्दै जान्छ । अर्को कुरा महिलाहरूका सम्बन्धमा जकडिएर रहेको सामाजिक सोचमा परिवर्तन आउनुपर्छ । बालबालिकालाई एक–अर्काको सम्मान गर्ने ज्ञान दिन अभिभावकको सहयोग आवश्यक हुन्छ । अब हामीले महिलामैत्री शिक्षामा विशेष जोड दिनुपर्छ ।

अभया सुब्बा, गायिका तथा संगीतकार

अब महिलाहरू पहिलेजस्तो सहेर बस्दैनन् । उनीहरू पनि सक्षम र सबल भैसकेका छन् । आफ्नो अधिकारका बारेमा सजग र बोल्न सक्ने भैसकेका छन् । हिंसा बाहिर देखिनुको एउटा कारण यो पनि हो । अब हिंसा घटाउने कार्यक्रम सहरमा मात्र होइन गाउँ–गाउँसम्म पुर्‍याइनुपर्छ । हिंसा गर्ने सम्भावित समूहसम्म चेतनामूलक कार्यक्रम तथा दण्ड–सजायसम्बन्धी सूचना पुग्नैपर्छ । यो विषयमा व्यापक जनचेतना अभियान आवश्यक छ । सरकारका तर्फबाट यससम्बन्धी बलियो नीति मात्र होइन त्यसको प्रभावकारी कार्यान्वयन पनि जरुरी छ ।

शान्ता दीक्षित, निर्देशक–रातो बंगला स्कुल

सामाजिक चेतना एवं महिलामा भरिएको साहसका कारण महिला हिंसा अब गुपचुप रहने अवस्था छैन । यसलाई घटाउन महिलालाई मात्र नभई पुरुषलाई समेत यो अभियानमा अभियन्ता बनाउनु जरुरी छ । मानव भएपछि मेरो कर्तव्य–जिम्मेवारी के हो भन्ने ज्ञान हरेकमा आवश्यक छ ।  विद्यालयमा लिसनिङ स्किल (अरूको खेमाका पनि कुरा सुन्ने) मूलक शिक्षा दिनु जरुरी छ । सञ्चार माध्यम पनि यो विषयमा गम्भीर हुनुपर्छ । विषयवस्तु बुझेर संवेदनशील ढंगले सूचनाहरू प्रसारण गर्नुपर्छ । अधिकार र जिम्मेवारी महसुस गर्न सक्ने समाजमा हिंसा कम हुन्छ । वास्तविक खुबी एवं महिला हिंसाविरुद्धको कानुन कार्यान्वयन गर्न सकियो भने समाज हिंसामुक्त बन्न कुनै समय लाग्दैन ।

डा.संगीता रायमाझी, प्रोफेसर

चेतनामूलक कार्यक्रमहरूमा जोड दिनुपर्छ । कसैले कसैलाई हिंसा गर्नुमा ऊ कस्तो पारिवारिक तथा सामाजिक वातावरणमा हुर्किएको छ भन्ने कुरामा निर्भर हुन्छ । तसर्थ परिवार र वरिपरिको वातावरणलाई मैत्रीपूर्ण बनाउनु जरुरी छ । महिला–पुरुष दुवैद्वारा हिंसा हुन सक्ने कुरा अब हामीले स्वीकार गर्नैपर्छ । महिला–पुरुष दुवैका लागि समान ज्ञान र शिक्षाले चेतना जगाउँछ । हिजोआज बालबालिकाहरू सानै उमेरदेखि टेलिभिजन हेर्छन् । सञ्चार माध्यमले यस विषयसँग सकारात्मक सूचना प्रवाह गर्नु जरुरी छ । महिला हिंसा न्यूनीकरणका कार्यक्रम लक्षितवर्गसम्म पुग्नु अत्यन्त जरुरी छ ।

प्रीति सिटौला, निर्देशक, आइपीडी तथा पूर्वमिस नेपाल–२००३

महिला हिंसा कम गर्न सर्वप्रथम घरबाटै आमाले छोरालाई पनि हरेक काम सिकाउनुका साथै उसको जीवनमा महिलाको महत्व बोध गराउनुपर्छ । एक छोरा–एक छोरी छन् मेरा, म छोरीलाई मात्र यो गर, त्यो नगर, यो लगाऊ, त्यो नलगाऊ वा यस्तो ठाउँमा नजाऊ भनेर सिकाउँदिन । दुवैलाई एउटै शिक्षा दिन्छु । हरेक घरमा यो प्राक्टिस भए अबको २० वर्षपछि केही परिवर्तन होला कि ? छोरीलाई पनि एक्सपोजर दिनुपर्छ । उनीहरूलाई कुवाको भ्यागुता होइन समुद्रमा तैरिन सक्ने बनाउनुपर्छ । सञ्चार माध्यमले महिलाका पक्षमा सकारात्मक सूचना प्रचार–प्रसार गरिदिनुपर्छ । शिक्षाले चेतना जगाउने र सक्षम बनाउने काम गर्छ जुन सबैका लागि अत्यावश्यक छ । महिला हिंसाविरुद्धका कार्यक्रम ग्रामीण क्षेत्रसम्म पुर्‍याउनुपर्छ ।

 Image