Successfully Copied

सफल कामकाजी बुहारी

के भयो सुजाता, मुड किन अफ ?’ ‘के भनूँ रीता, मेरी सासू आजभोलि अत्यन्त रिसाउन थालेकी छिन् ।

के भयो सुजाता, मुड किन अफ ?’ ‘के भनूँ रीता, मेरी सासू आजभोलि अत्यन्त रिसाउन थालेकी छिन् । उनका अनुसार म अफिस गएपछि, उनी घरको काम र बालबच्चा सम्हाल्न बाध्य हुन्छिन् । पहिले उनी आफ्नो गृहस्थी सम्हाल्थिन् र अहिले मेरो गृहस्थी सम्हाल्नु परेकोमा उनलाई गुनासो छ । अब तिमी नै भन मके गरूँ ? पहिले त उनी मेरो नोकरीलाई लिएर अत्यन्त उत्साहित हुन्थिन् तर अहिले मेरो कामकाज नै उनलाई दिक्कलाग्दो भएको छ ।

वर्तमान परिस्थितिमा कतिपय महिला कामकाजी भएका छन्, कामका लागि घरबाहिर निस्कनुपर्ने स्थितिमा यस्ता कुरा पनि स्वाभाविक भएका छन् । यसकारण सासू–बुहारीबीच कलह प्रारम्भ हुन्छ र परिवार टुट्ने स्थितिसम्म पुग्छ । यदि सासूको दृष्टिकोणबाट हेर्ने हो भने उनी आफ्नो ठाउँमा सही छिन् । आफ्नो जीवनको सन्ध्याकालीन अवस्थामा पुगिसकेकी सासू आफ्नो जिम्मेवारीबाट मुक्त भएर राहतको अनुभूति गर्न चाहन्छिन् अनि बाँकी जीवन आफ्नो इच्छानुसार बाँच्न चाहन्छिन्, परन्तु यस्तो हुन पाउँदैन । बुहारीको घरबाहिर कामकाज हुनाले घर तथा नातिनातिनाको दोहोरो जिम्मेवारी उनीमाथि नै पर्छ । यस्तो स्थितिमा जब उनी आफू समान उमेरका महिलाको आरामदायक जीवन देख्छन् तब तिनलाई ईष्र्या हुन थाल्छ ।

कतिपय अवस्थामा आफ्नो इच्छालाई दबाएर बस्नुपर्ने हुन्छ । त्यसपछि पनि जब परिवारबाट उनको योगदानको कुनै कदर हुँदैन, तब रिस उठ्नु स्वाभाविक हुन्छ र समाजले दोष दिन्छ, उनको बढ्दो उमेरलाई । त्यसो त यो कुनै त्यस्तो समस्या होइन, जसको कुनै समाधान छैन । यदि कामकाजी बुहारी हुनुहुन्छ भने सोच्नु जरुरी छ कि यसमा सासूको कति ठूलो योगदान छ ? त्यसैले यस विषयमा आफ्नी सासूको सुख–सुविधाका बारेमा ध्यान पुर्‍याउनु कर्तव्य पनि हुन्छ । केही कुरालाई ध्यान दिए आफ्नी सासू खुसी राख्दै तनावमुक्त भएर आफ्नो नोकरी गर्न सकिन्छ ।

प्रशंसा गर्नुपर्छ : आफ्नी सासूलाई समय–समयमा के बताउनुपर्छ भने तपाईं उनकै सपोर्टका कारण काम गर्न सकिरहनुभएको छ । उनको प्रशंसा गर्नुपर्छ, उनका कारण नै घरको व्यवस्था सुचारु ढंगले सञ्चालन भैरहेको छ र बालबच्चाको राम्रो लालनपालन भैरहेको छ । उनलाई यो कुराको आभास दिलाउनु जरुरी छ कि तपाईं उनीप्रति कृतज्ञ हुनुहुन्छ । उनको योगदानको तपाईं कदर गर्नुहुन्छ भन्ने अनुभूतिले उनलाई खुसी प्रदान गर्छ र तपाईं वर्किङ विमेन भएकाले उनीमाथि जिम्मेवारी बढेको आभास हुन पाउँदैन ।

सबै कुरा उनीबाट गराउनुहुँदैन : यो उमेरमा कामकाजको बोझले उनी थकित हुनुका साथै बिनाकारण तनावग्रस्त हुनसक्छिन् । अत: उनका सुविधाहरूका बारेमा पनि सोच्नुपर्छ । उनीमाथि घरेलु कामकाजको बोझ थुपार्नुभन्दा होम मेड (नोकर) राख्नु उचित हुन्छ ।

स्पेस दिनुपर्छ : जिम्मेवारी र कर्तव्यका बीच कतै उनले आफू स्वयंलाई नभुलून् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । साँझ जब घर फर्कनुहुन्छ तब उनलाई समय दिनुपर्छ । उनलाई आफ्नो रुचिअनुसार काम गर्न, पुस्तक वा पत्रपत्रिका पढ्न, गीत–संगीत सुन्न, टिभी हेर्न प्रोत्साहित गर्नुपर्छ । साताको अन्त्यमा स–परिवार घुम्नुका साथै सिनेमा घरमा फिल्म हेर्न जानुपर्छ । यी स–साना कुराले जीवनलाई एकरूपताबाट जोगाउँछन् र नयाँ ऊर्जा तथा फुर्ती सञ्चार हुन्छ ।

आफूले पनि जिम्मेवारी लिनुपर्छ : आफ्नो सम्पूर्ण जिम्मेवारी सासूमाथि थुपार्ने काम गर्नुहुँदैन । अफिसका दिनमा सम्भव नभए आफूले बहन गरेर उनलाई कार्यभारबाट छुटकारा दिने प्रयास गर्नुपर्छ । यसबाट उनलाई आराम प्राप्त हुन्छ र तपाईं स्वयंलाई पनि गृहस्थीका सम्बन्धमा जानकारी प्राप्त हुन्छ । यसबाट उनको अनुपस्थितिमा पनि आफ्नो गृहस्थी सम्हाल्न गाहं्रो हुँदैन ।

व्यवहारलाई संयमित राख्नुपर्छ : तपाईं हरेक महिना कमाएर ल्याउनुहुन्छ भन्ने कुराको अनुभूति आफ्नी सासूलाई गराउनुहुँदैन । नोकरी गरेर तपाईंले उनलाई सहयोग गरिरहनुभएको कुरा नभएर नोकरी गर्नमा तपाईंलाई उनको साथ र सपोर्ट प्राप्त भएको छ भन्ने कुरा बुझ्नुपर्छ । तपाईंका हरेक कुरा उनले मान्नुपर्छ, बुझ्नुपर्छ भनेर सोच्नु मूर्खता हो, तपाईंले सुझाव सल्लाह दिन सक्नुहुन्छ परन्तु निर्णय उनी स्वयं आफैँलाई लिन लगाउनुपर्छ । व्यर्थको हस्तक्षेपले तनाव उत्पन्न हुने सम्भावना बढ्छ । संयमित व्यवहारले सासूको नजरमा तपाईंको महत्त्व अझ बढ्छ ।

प्राथमिकता दिनुपर्छ : समय–समयमा सासूलाई उपहार दिनुपर्छ । उनको जन्मदिन, विवाहको एनिभर्सरीमा बधाइ दिनुपर्छ । यदि तपाईंलाई उनको कुनै कुरा राम्रो लाग्छ भने त्यसलाई सधै याद राख्नुपर्छ । कम्प्लिमेन्ट सबैलाई राम्रो लाग्छ, खुलेर उनको प्रशंसा गर्नुपर्छ । उनका साथमा समय बिताउनुपर्छ, कुराकानी सेयर गर्नुपर्छ । उनीसित भावनात्मक रूपबाट जोडिने प्रयास गर्नुपर्छ । उनको अस्तित्वलाई आदर गर्नुपर्छ ।

 Image