Successfully Copied

मधुमेह

मधुमेह मानिसको शरीरमा इन्सुलिनको अभाव भएर लाग्ने रोग हो । रगतमा चिनीको मात्रा बढ्नु नै मधुमेह हो ।

मधुमेह कस्तो रोग हो ? 

मधुमेह मानिसको शरीरमा इन्सुलिनको अभाव भएर लाग्ने रोग हो । रगतमा चिनीको मात्रा बढ्नु नै मधुमेह हो । 

मधुमेह कुन उमेर समूहका व्यक्तिलाई लाग्छ ? 

यो रोग हरेक उमेरकालाई लाग्छ । सामान्यत: ३५ वर्षमाथिका व्यीक्तलाई टाइप–२ मधुमेह हुन्छ । यद्यपि हिजोआज बालबालिकामा समेत मधुमेह देखा परेको छ । बालबालिकालाई टाइप–१ मधुमेह हुने गरेको छ । 

मधुमेह हुने कारण के होला ?  

टाइप–१ मधुमेह शरीरमा इन्सुलिनको कमीले गर्दा हुन्छ । यो मधुमेह बालबालिकामा धेरै पाइएको छ । वंशाणुगत कारणले पनि मधुमेह हुन्छ । टाइप–१ मधुमेहमा जीवनभर इन्सुलिन लगाइरहनुपर्छ । यसैगरी टाइप–२ मधुमेह ३५ वर्षको उमेर वा त्यो भन्दा अघिदेखि हुनसक्छ । यसका लागि औषधी सेवन गर्नुपर्छ । औषधीले काम गर्न छोडेको अवस्थामा भने इन्सुलिन नै दिनुपर्छ । 

स्वस्थ मानिसको शरीरमा सुगरको मात्रा कति हुनुपर्छ ? 

स्वस्थ मानिसको शरिरमा सुगरको मात्रा खाली पेटमा ९० भन्दा कम र खानापछि १ सय ४० भन्दा कम भए उपयुक्त मानिन्छ ।  

मधुमेहमा कस्ता लक्षण देखा पर्छन् ? 

कतिपयलाई कुनै लक्षणविना नै मधुमेह देखिन सक्छ । कतिपयलाई भने मुख सुक्ने, तिर्खा लाग्ने, थकाइ लाग्ने, आलस्य हुने, छिनछिनमा पिसाब लाग्ने, खुट्टामा कमिला हिँडेजस्तो हुने, भोक धेरै लाग्नेजस्ता लक्षण देखा पर्छन् । त्यसका साथै छातीमा संक्रमण हुने, हातखुट्टा झमझम गर्ने तथा पोल्ने समस्या पनि हुन्छ ।  

मधुमेह भएकाले खानपानमा कस्तो परहेज गर्नुपर्छ ? 

मधुमेह भएकाले सबै खानेकुरा खान हुन्छ तर खानाको मात्रा कम गर्नुपर्छ । थोरै खाना पटक–पटक खानुपर्छ । यसैगरी चिनी हालेको चिया, कोल्ड ड्रिंक्स, जुस तथा चिल्लो कुरा खानुहुँदैन । फलफूल भने दिनमा एउटासम्म खान सकिन्छ । अण्डाको पहेलो भागले कोलेस्ट्रोल बढाउने भएकाले सेतो भाग मात्र खानु उपयुक्त हुन्छ । अन्न समूहका खानेकुरा, प्रोटिन तथा चिल्लो पदार्थ सीमित मात्रामा खानुपर्छ ।

मधुमेहबाट छुटकारा पाउन के गर्नुपर्छ ?

मोटोपनले पनि मधुमेह हुने भएकाले यसबाट मुक्त हुनुपर्छ । जंकफूड खानुहुदैन । घरमै बनाइएको रेशायुक्त खानेकुरा खानुपर्छ । दिनमा कम्तीमा पनि आधा घण्टा हिँडडुल गर्नुपर्छ । खानपान तथा जीवनशैलीमा सुधार ल्याउनुपर्छ । वंशाणुगत कारणले पनि मधुमेह हुने भएकाले समय–समयमा सुगर जाँच गराइरहनुपर्छ ।

डा. मधु पाण्डे, इन्डोक्राइनोलोजिष्ट, हिमाल अस्पताल 

 Image