Successfully Copied

दाँतको सुरक्षाका लागि चाडबाडमा कस्तो उपाय अपनाउनुपर्छ ?

चाडपर्वमा गुलिया, चिल्ला खानेकुरा बढी खाइन्छ ।

डा. लक्ष्मी मानन्धर पौडेल,  भिभान्ता डेन्टल क्लिनिक, कमलपोखरी

दाँतको सुरक्षाका लागि चाडबाडमा कस्तो उपाय अपनाउनुपर्छ ?

चाडपर्वमा गुलिया, चिल्ला खानेकुरा बढी खाइन्छ । त्यसैले यस्ता खानेकुरा खाइसकेपछि ब्रस गर्नुपर्छ । ब्रस गर्न सम्भव नभएको अवस्थामा भने सफा पानीले कुल्ला गर्नुपर्छ । डिस्पोजेबल ब्रस पनि प्रयोग गर्न सकिन्छ । यसैगरी सुगर फ्रि चुइँगमले पनि दाँतलाई रिफ्रेस राख्छ । खाना खाएपछि दूध, दही, चीजजस्ता खानेकुरा खाँदा त्यसबाट क्याल्सियम प्राप्त हुने भएकाले दाँत सुरक्षित रहन्छ । चाडपर्वको समयमा कोल्ड ड्रिंक्स पनि सेवन पनि गरिन्छ । कोल्ड ड्रिंक्स सेवन गर्दा स्ट्रको प्रयोग गर्नु उचित हुन्छ । यसो गर्दा कोल्ड ड्रिंक्स सिधै दाँतमा लाग्दैन । 

गुलिया, चिल्ला खानेकुराले दाँतलाई कस्तो असर गर्छ ? 

गुलिया, चिल्ला खानेकुरा दाँतमा रहिरहन्छ । त्यस्ता खानेकुरा खाएपछि दाँत सफा नगरे दाँतमा प्लक जम्छ । यस्तो अवस्थामा ब्रस नगरे दाँतमा फोहोर जम्छ र किटाणु पैदा हुन्छन् । किटाणुले रसायन उत्पन्न गराएर दाँतको इनामेल नाश गरी प्वाल बनाउँछन् जसलाई क्याभिटी भनिन्छ । 

खानेकुरा खाएपछि कस्तो सावधानी अपनाउनुपर्छ ? 

गुलिया तथा चिल्ला खानेकुरा खाएपछि डेन्टल फ्लस गर्नुपर्छ । त्यसो गर्न सम्भव नभए सफा पानीले दाँत कुल्ला गर्नुपर्छ भने फ्लोराइडयुक्त माउथ वास प्रयोग गर्नुपर्छ ।

मासु वा अन्य खानेकुरा खाएपछि दाँतमा अड्कन्छ, त्यसलाई कसरी सफा गर्ने ? 

दाँतमा अड्किएको खानेकुरा निकाल्न डेन्टल फ्लस प्रयोग गर्नुपर्छ । यसले दाँत सफा हुनुका साथै अड्किएको खानेकुरा बाहिर निस्कन्छ । फलस्वरूप सास गन्हाउने, कीरा लाग्ने समस्या पनि हुँदैन । 

दाँतलाई दिनहुँ कसरी सफा गनुपर्छ ? 

बिहान–बेलुकी खाना खाएपछि दाँत माझ्नुपर्छ । नियमित रूपमा डेन्टल फ्लस प्रयोग गर्नुपर्छ भने माउथ वास पनि प्रयोग गर्न सकिन्छ । गुलिया खानेकुरा खाएपछि सफा पानीले कुल्ला गर्दा पनि दाँतमा कीरा लाग्न पाउँदैन । 

दाँत कति समयको फरकमा चिकित्सकलाई देखाउनुपर्छ ? 

सामान्यतया ६–६ महिनाको फरकमा चिकित्सककहाँ गएर जँचाउनुपर्छ । कतिपयको दाँत कीरा लागेको, खिइएको तथा दुखेको हुनसक्छ । बीचमै केही समस्या देखापरे पनि देखाउनुपर्छ । खानेकुरा खाँदा दाँत दुख्नुका साथै सिरिङ–सिरिङ हुनसक्छ । मुखमा गिजाको समस्या पनि हुनसक्छ तसर्थ चाडपर्व आउनुअघि चिकित्सकलाई देखाउनु उत्तम हो । यसो गर्दा समयमै रोग पत्ता लागेर चाडपर्वको मज्जा लिन सकिन्छ ।

 Image