Successfully Copied

महिलाहरूबीच लोकप्रिय साडी

विवाह तथा पार्टीमा हेबी वर्क गरिएका साडी बढी रुचाइए पनि दसैंमा हेबी साडी त्यति लगाइँदैन ।

उमा नेमकुल, फेसन डिजाइनर

महान् चाड दसैं आउनासाथ हरेक उमेरका मानिसमा राम्रा पहिरन लगाउने चाहना वृद्धि हुन्छ । अहिले पनि महिलाहरू दसैंजस्तो चाडमा साडी नै लगाउन चाहन्छन् । महिलाहरू आफ्नो परम्परा र संस्कारअनुसार मठ–मन्दिरमा पूजा गर्न, आफन्तहरूकहाँ टीका लगाउन जान साडी नै रोज्छन् । यद्यपि दसैंमा लगाइने साडी भने अलि फरक हुन्छ । विवाह तथा पार्टीमा हेबी वर्क गरिएका साडी बढी रुचाइए पनि दसैंमा हेबी साडी त्यति लगाइँदैन ।

मठ–मन्दिरमा पूजा गर्न एवं टीका थाप्न हिँडिरहनुपर्ने, बसेर काम गर्नुपर्ने आदि कारणले दसैंमा हल्का साडी लगाउनु उत्तम मानिन्छ । यसपटकको दसैंमा कोटाको बोर्डर साडी, कोटा साडी, प्लेट जर्जेटमा सेल्फ बोर्डर साडी, बनारसी सिल्क, बनारसी सिल्कमा कटन सिल्क मिक्स, चन्दोरी कटनमा बनारसी प्रिन्ट आदि साडी उपलब्ध छन् र धेरैको रोजाइमा पनि यिनै साडी परिरहेका छन् । सदाबहार प्रिन्टेड साडी, सिफन, जर्जेट, नेट आदि पनि दसैंका लागि उपयुक्त साडी हुन् ।

दसैंको नवरात्रिसम्मका नौ दिनमा मठ–मन्दिर जान कटन तथा सिल्कका साडी बढी उपयुक्त हुन्छन् । यी साडी प्लस तीसकाले बढी रुचाउँछन् । कटन तथा रसिल्कमा पनि अहिले महिलाहरू डिजाइनर वर्क चाहन्छन् । यो खुसीको पर्व भएकाले रंगमा ब्राइट कलर अर्थात् रातो, पहेंलो, हरियो आदि उपयुक्त मानिन्छ । त्यसमा पनि यसपटक रातो रंग नै हाबी छ । टीकाको समयमा भने हल्का वर्क गरिएको तर लगाउँदा हल्का साडी उपयुक्त मानिन्छ । 

अहिले साडीमा पनि विभिन्न स्टाइलिस्ट लुक्स दिन थालिएको छ जसका कारण हरेक उमेरका महिला यसतर्फ आकर्षित हुँदैछन् । किशोरी तथा अधबैसे महिलाहरूलाई फिक्स साडी, गाउन साडी, धोती साडी, ग्याडर साडी आदि सुहाउँछ । त्यसमा पनि साडी स्टाइलको गाउन त टिनएजरदेखि नवदुलहीहरूले समेत निकै रुचाएका छन् । हिजोआज धेरैलाई साडी लगाउन नआउने भएकाले यस्ता डिजाइनर साडी उपयुक्त मानिन्छ । लगाउन कम समय लाग्ने र हिँडडुल गर्न सजिलो हुने हुँदा पनि यस्ता साडी उपयुक्त हुन्छन् ।

फेसनेबल, ट्रेन्डी लुक्स पनि आउने भएकाले दसैंमा यी साडी निकै राम्रा देखिन्छन् । यो साडीलाई एलिगेन्ट देखाउन भेल्भेटको लेस वर्क बोर्डर प्रयोग गर्न सकिन्छ । साडी जति सिम्पल भए पनि ब्लाउजमा भने हेबी वर्क गरेर डिजाइन गर्न सकिन्छ । दसैंमा अलिअलि चिसो सुरु हुने भएकाले भेल्भेटका डिजाइनर ब्लाउज उपयुक्त हुन्छन् । ब्लाउजको कलरसँगै म्याच हुने गरी जुत्ता र ब्याग भए सुनमा सुगन्ध थपिन्छ । यसमा छपक्क गहना लगाउनुभन्दा साडी वा ब्लाउजको वर्कअनुकूल डिजाइनर ज्वेलरी लगाउनुपर्छ । मोतीको टप र मालाले मात्र पनि हाइक्लास लुक्स दिनसक्छ । अहिले साडीमा कम्मर बेल्ट लगाउने ट्रेन्ड छ । यसलाई कम्मरको माथि ब्लाउजको लाइनसँगै अथवा हिपको केही माथि लगाइन्छ । भेल्भेटमा वर्क गरिएका यस्ता बेल्टबाट राम्रो लुक आउँछ । भेल्भेटका अतिरिक्त साडीसँग म्याच गर्ने अन्य फेब्रिकबाट पनि यस्ता बेल्ट तयार पार्न सकिन्छ ।

ज्याकेट स्टाइल

ब्लाउजसँग लगाउँदा साडीमा बढी निखार आउँछ । त्यसैले यसलाई ट्ेरन्डी बनाउन ज्याकेट स्टाइलको स्टिच ब्लाउज अथवा सिम्पल ब्लाउज लगाउन सकिन्छ । ब्लाउजको कलरले साडीसँग कन्ट्रास्ट गर्नुपर्छ । यो भेल्भेट, एम्बलिस्ट वा ब्रोकेट साडीसँग मेल खान्छ । ज्याकेटवाला ब्लाउजको विशेषता भनेकै जुनसुकै समयमा लगाउन सक्नु हो । 

धोती स्टाइल 

तराईमा धोती स्टाइलको साडी लगाउने चलन आज पनि छ । अहिले यो स्टाइलको साडी आधुनिक रूपमा देखा परेको छ । धोती साडी टिनएजरहरूको स्टाइलिस्ट पहिरनका रूपमा परिचित हुँदै गएको छ । अहिले सजिलोका लागि स्टिच धोती स्टाइलको फेसन पनि फस्टाएको छ । धोती स्टाइल क्यारी गर्न नयाँ साडी किनिरहनुपर्ने आवश्यकता पर्दैन । आफूसँग भएका पुराना साडीलाई पनि डिजाइनरले स्टाइलिस धोती साडीमा परिणत गर्न सक्छन् ।

 

 Image