Successfully Copied

गिनिज बुकले चर्चामा ल्याएका महिला

दुनियाँले पत्याउनै नसक्ने वा विश्वलाई आश्चर्यचकित तुल्याउने उक्त सूचीमा महिलाहरू पनि छन् ।

विश्वमा अनौठा मानिसहरू भेटिन्छन् । प्राकृतिक रूपमा होस् वा अद्भुत क्षमताका कारण, केही मानिस बिल्कुल फरक हुन्छन् । त्यसका साथै स्वभाव र सोखका रूपमा पनि कतिपय मानिसले दुनियाँलाई आश्चर्यचकित तुल्याउँछन् । त्यस्ता केही मानिस गिनिज बुक अफ दि वल्र्ड रेकर्डसमार्फत सार्वजनिक हुने गरेका छन् । अहिलेसम्म गिनिज बुकमा दर्ता भएकाहरूमा पुरुषको संख्या बढी छ । दुनियाँले पत्याउनै नसक्ने वा विश्वलाई आश्चर्यचकित तुल्याउने उक्त सूचीमा महिलाहरू पनि छन् । ती महिलाहरू प्राकृतिक रूपमा मात्र नभई अनौठो सोख वा स्वभावका कारण पनि विश्वभर चर्चित छन् । 

चराको गुँडजस्तो केश

अफ्रिकी मुलुकमा बसोबास गर्ने मानिसको केश त्यसै पनि घुँग्रिएको र बाक्लो हुन्छ । एउटी अफ्रिकी महिलाको केश चराले लगाउने गुँडजस्तो बाक्लो छ । एविन दुगास नाम गरेकी ती ३८ वर्षीया महिलाको केश धुन र सुक्न मात्र करिब ४८ घन्टा लाग्छ । उनको केश धुन एकपटकमा पाँच बोतलसम्म स्याम्पु वा कन्डिसनर प्रयोग हुन्छ । चार फुट चार इन्च बाक्लो केशले दुनियाालाई चकित पारेकै कारण उनको नाम गिनिज बुकमा दर्ता गरिएको छ । एविनको घुँग्रिएको केशलाई तन्काउँदा घुँडासम्म आइपुग्छ । उनले १४ वर्षको उमेरदेखि आफ्नो केशलाई मेहनतपूर्वक स्याहार गरिरहेकी छिन् । 

खुट्टाले विमान उडाउने र पियानो बजाउने

जन्मजात हात भएन भने वा कुनै कारणले हात गुम्यो भने के होला ? कल्पनासम्म गर्न सकिँदैन । यद्यपि एक अमेरिकाकी महिला हात नभएकै कारण विश्वचर्चित छिन् । अमेरिकाको एरिजोनाकी बासिन्दा जेसिका कक्सका दुवै हात छैनन् तर जेसिका खुट्टाले विमान उडाउन सफल भएकी छिन् । जन्मजात हात नभएकी जेसिका खुट्टाकै सहायताले अन्य साहसिक काम पनि गर्छिन् । उनी तेक्वान्दो तथा कराँतेमा अब्बल छिन् । जेसिकाले खुट्टाले नै पिनायो बजाएर धेरै संगीतप्रेमीको मन जितेकी छिन् । सन् २००८ मा गिनिज बुकमा नाम लेखाएकी जेसिका विशेष गरेर खुट्टाको सहायताले विमान उडाएर विश्वभर चर्चामा आइन् । हाल उनी सामाजिक काममा सक्रिय छिन् । 

सर्वाधिक ठूलो वक्षस्थल

मानिसहरू चर्चामा आउन जे गर्न पनि पछि पर्दैनन् । कतिपयले आफ्नो शरीरको अंग नै बदलेर दुनियाँलाई चकित पारिदिएका छन् । जर्मनीकी ३२ वर्षीया मेरा हिल्सले संसारको सबैभन्दा ठूलो स्तन (वक्षस्थल) भएकी महिलाका रूपमा आफ्नो नाम गिनिज बुकमा लेखाएकी छिन् । उनको वक्षस्थलको तौल ९ किलो छ भने आकार १०/१० लिटर छ । उनको वक्षस्थल कृत्रिम हो । हिल्सको शरीरलाई मिल्ने ब्रा बजारमा पाइँदैन । विशेष अर्डर गरेर बनाउन दिइएका ब्रा पनि च्यातिएर हैरान हुने जानकारी हिल्सले आफ्नो सामाजिक संजालमार्फत दिएकी छिन् । 

सबैभन्दा लामो खुट्टा

मानिसका हात–खुट्टालाई तन्काउन वा बढाउन सकिँदैन तर कतिपय मानिसका खुट्टा अस्वाभाविक रूपमा बढेर लामा भएका उदाहरण पनि छन् । उत्तरी भर्जिनियामा बस्ने श्वेतलाना पानकारारटोभाको खुट्टा सर्वाधिक लामो भएकाले गिनिज बुकमा दर्ता भएको छ । उनको खुट्टाको लम्बाइ ४ फिट, ४ इन्च छ भने उनको पूरा उचाइ ६ फिट ५ इन्च छ । गिनिज बुकमा प्रकाशित तस्बिरमा उनलाई लन्डनको नेसनल ग्यालरी अफ आर्टको भर्‍याङमा देखिन्छ । यद्यपि उनी संसारकै सबैभन्दा अग्ली महिला भने होइनन् । लामो खुट्टाकै कारण सानो छँदा उनलाई बास्केटबल टिममा सामेल गरिन्थ्यो । श्वेतलाना स्कुल च्याम्पियन नै भएकी थिइन् । अमेरिकामा बसे पनि उनी रुसी नागरिक हुन् ।

रोगका विरुद्ध शरीरभरि ट्याटु

मानिसहरू सोखले मात्र नभै रोगका कारण पनि शरीरभरि ट्याटु खोप्न बाध्य छन् । शरीरको ९५ प्रतिशत भागमा ट्याटु खोपेर एक अमेरिकी महिलाले गिनिज बुकमा आफ्नो नाम दर्ता गराएकी छिन् । जुलिया गुनिसले छालासम्बन्धी गम्भीर रोगबाट ग्रसित भएपछि टाटु खोपाएकी हुन् । चिकित्सकहरूले पनि उनको रोग निको पार्न सकेनन् । त्यसैले उनले नौलो उपाय अपनाउँदै शरीरका अधिकांश भागमा ट्याटु खोपाइन् । सन् १९५९ मा जन्मिएकी जुलिया क्यालिफोर्नियामा बसोबास गर्छिन् । उनको शरीरमा विभिन्न व्यक्तिका तस्बिरका ट्याटु खोपिएको छ । 

६९ सन्तान जन्माउने आमा

महिलाहरूमा सन्तान जन्माउने क्षमता कति हुन्छ भनेर मापन गर्न कठिन छ । रुसकी फ्योदोर भ्याजिलिफ धेरै सन्तानकी आमा बनेर विश्वचर्चित छिन् । उनका ६९ जना छोराछोरी छन् । उनका १६ जना जुम्ल्याहा, ७ जना तिम्ल्याहा तथा ४ जना चम्ल्याहा गरी जम्मा २७ पटकको गर्भबाट ६९ जना सन्तान भएका हुन् । यो घटना धेरै पुरानो हो । भ्याजिलिफ सन् १७२५ देखि १७६५ सम्म २७ पटक गर्भवती भएकी थिइन् । भ्याजिलिफले कतिजना श्रीमान्बाट त्यतिका सन्तान जन्माइन् भन्ने कुरा चाहिँ कुनै पनि संचारमाध्यमले प्रस्ट पारेका छैनन् । 

पचपन्न फिट लामो ड्रेडलक केश

मानिसको केश कतिसम्म लामो हुनसक्छ भन्ने जिज्ञासा मेट्न ५१ वर्षीया आशा मन्डेलालाई हेरे पुग्छ । सन् २००९ मा उनले संसारको सबैभन्दा लामो ड्रेडलक केश भएकी महिलाका रूपमा गिनिज बुकमा नाम लेखाइन् । उनको केश ५५ फिट ७ इन्च लामो छ भने त्यसको तौल २० किलोभन्दा बढी छ । डाक्टरले धेरै पटक केमोथेरापी गर्दा पनि उनको केश झरेन । आइसल्यान्डकी मन्डेला हाल अमेरिकामा बस्छिन् । उनका श्रीमान् हेयर स्टाइलिस्ट हुन् भने उनी हेयर प्रोडक्स्को व्यापार गर्छिन् ।  

ओठ बनाएर कीर्तिमान

सुन्दर र सेक्सी देखिन महिलाहरू अनेकौं उपाय अपनाउँछन् । कुनै पनि अंगको सर्जरी गरेर सेक्सी देखिने होड चलेको उदाहरण पश्चिमा देशमा प्रशस्तै सुन्न वा देख्न पाइन्छ । रुसको सेन्ट पिटर्सबर्गकी क्रिस्टिना रिले आफू कामुक वा सुन्दर देखिन ओठमा एक सय पटक सिलिकन इन्जेक्सन लगाएर कीर्तिमान राखेकी छिन् । यसरी नियमित सिलिकन भरेपछि उनको ओठ सर्वाधिक ठूलो, गुलाबी तथा सेक्सी देखियो । त्यसपछि उनको नाम गिनिज बुकमा दर्ता भयो । टेलिभिजन कार्टुनमा एक महिलाको ठूलो र कामुक ओठ देखेपछि क्रिस्टिनाले १७ वर्षको उमेरदेखि निरन्तर २३ वर्षसम्म ओठमा सिलिकन भरेकी थिइन् । करिब ६० हजार डलर खर्च गरेर बनाइएको उनको ओठ यतिबेला कुरूप देखिएको संचारमाध्यमहरूले उल्लेख गरेका छन् । 

सातौं पटक सगरमाथा

नेपाली महिलाहरू पनि कहाँ कमजोर छन् र ? सर्वाधिक अग्लो शिखर सगरमाथा सात पटक चढेर एक नेपाली महिलाले पनि गिनिज बुकमा नाम लेखाएकी छिन् । संखुवासभाकी ४४ वर्षीया ल्हाक्पा शेर्पा अहिलेसम्म सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुग्ने महिला हुन् । अमेरिकी पुरुषसँग विवाह गरेकी ल्हाक्पा सन् २००० मा पहिलोपटक सगरमाथा चढेकी थिइन् । शेर्पा पाँच पटक आफ्नै श्रीमान्सँग सगरमाथा पुगेकी थिइन् ।

संसारको ठूलो हिप

४३ वर्षीया मिकेल रफिनेलीको हिप देखेर चकित हुने मानिस थुप्रै छन् । चार फिट मोटो  कम्मर भएकी मिकेलको हिप भने ८ फिट चौडा छ । पहिलो सन्तानको जन्मपछि उनको हिप बढ्न थालेको हो । मिकेल लस एन्जलसमा बसोबास गर्छिन् । ५ फिट ४ इन्च अग्ली मिकेल १ सय ९० केजीकी छिन् । उनलाई विश्वकै सर्वाधिक ठूलो हिप भएकी महिलाका रूपमा चिनिन्छ । 

एक मिनेटमा दस वटा स्याउ फोर्ने महिला

अमेरिकाको टेक्सासमा बस्ने ३६ वर्षीया लिन्सी लिंडवर्गले आफ्नो कुहिनाको अगाडिको भागले चेपेर एक मिनेटमा १० वटा स्याउ फुटाई गिनिज बुकमा नाम दर्ता गराएकी छिन् । लिन्सीले सन् २०१३ मा पहिलो पटक र २०१४ मा दोस्रो पटक इटालीमा यसरी स्याउ फुटाएर कीर्तिमान राखेकी थिइन् । यसअघि उनले मुखमा सबैभन्दा धेरै टेनिस बल राखेर आफ्नो पहिलो कीर्तिमान बनाएकी थिइन् । 

धेरै वर्ष बाँचेर विश्वभर चर्चा

जापानकी एक महिलाले सबैभन्दा धेरै बाँचेर गिनिज बुकमा नाम लेखाएकी छिन् । सन् २०१३ मा गिनिज बुकमा नाम दर्ता भएकी ती महिलाको नाम हो–मिसाओ ओकवा । उनको जन्म सन् १८९८ मा भएको थियो । मिसाओले सन् १९१९ मा विवाह गरेकी थिइन् । उनले १ सय १७ औं वर्ष दिन धुमधामका साथ मनाएकी थिइन् । हाल उनको मृत्यु भैसकेको छ । दुई छोरी तथा एक छोराकी आमा मिसाओका १० नातिनातिना छन् । जापान त्यस्तो मुलुक हो जहाँ ५० हजारभन्दा बढी मानिसको उमेर एक सय वर्षभन्दा माथि छ जसमध्ये ८७ प्रतिशत महिला छन् । 

(एजेन्सीको सहयोगमा)

 Image