Successfully Copied

तीजमा गहनाको लहर

तीज महिलाहरूको शृंगारको पर्व भएकाले गहना लगाउनु स्वाभाविक पनि हो ।

तीजलाई गहनाको पर्व पनि भनिन्छ । अरू समयमा गहना लगाउन नरुचाउनेहरू पनि तीजमा सुनका गहनामा सजिएका देखिन्छन् । तीज महिलाहरूको शृंगारको पर्व भएकाले गहना लगाउनु स्वाभाविक पनि हो । रातो साडीमा पहेंला गहना निकै खुल्छन् । यसले महिलाहरूको सौन्दर्य वृद्धि गर्ने काम गर्छ । ती जमा महिलाहरूले विशेष रूपमा लगाउने गहना तिलहरी, नौगेडी, मंगलसूत्र, बाजु, नत्थी तथा जन्तर हुन् । सुनको भाउ जति नै आकासिए पनि महिलाहरूको सुनप्रतिको मोह भने नघट्ने व्यवसायीहरू बताउँछन् । महिलाहरू विशेषगरी चाडपर्वमा गहना खरिद गर्छन् ।

तीजमा पनि महिलाहरूको भीड गहना पसलहरूमा देखिने व्यवसायीहरूको अनुभव छ । तीजको अवसरमा विशेषगरी नयाँ सडकका सुन पसलहरूमा थेग्न नसकिने भीड हुन्छ । त्यसपछि असन, भेडासीं आदि ठाउँका सुन पसल पनि गहना पारखीहरूको प्राथमिकतामा पर्छन् । पिके कलेजमा अध्ययनरत रमा शर्मा तीजलाई गहनाको चाड भन्न रुचाउँछिन् । अरु बेला पटक्कै सुन नलगाउनेहरू पनि तीजमा एकसरो भए पनि गहना लगाउन रुचाउँछन् । के युवती के वयस्क सबै सुनका गहनामा देखिन्छन् । शर्मा पनि तीजमा रातो साडीमा पहेंला गहना लगाउँछिन् । तीजमा सौभाग्यसँग सम्बन्धित गहना प्रयोग हुने भएकाले अरु धातु तथा स्टोनभन्दा सुनकै वर्चश्व देखिन्छ । शर्माको विचारमा सुनका गहनाको महत्व अरू पर्व तथा कार्यक्रममा भन्दा तीजमा बढी हुन्छ । 

तीज सुरु हुनुभन्दा करिब १ महिनाअघिदेखि नै महिलाहरू नयाँ गहना बनाउने, पुरानोलाई मासेर नयाँ बनाउने तथा लकरमा भएका गहना निकालेर सरसफाइ गर्नपट्टि लाग्छन् । तीजमा महिलाहरू आफ्ना भएभरका गहना लगाएर मन्दिर जान्छन् । यतिबेला सुनले भरिपूर्ण महिलाहरूको परेड नै चल्छ । गहना लगाउनैपर्छ भन्ने कुनै सांस्कृतिक मान्यता नभए पनि सुन शुद्धता तथा सौभाग्यको प्रतीक भएकाले महिलाहरूले तीजमा सुनकै गहनालाई प्राथमिकता दिन्छन् । 

चावहिलका पूर्ण महर्जनले तीजलाई लक्षित गरी नयाँ गहना पसल खोलेका छन् । उनको विचारमा विवाह तथा अन्य पर्वमा भन्दा तीजमा गहनाको रौनक बढी देखिन्छ तसर्थ गहनाको कारोबार पनि अत्यधिक नै हुन्छ । उनको रुद्रमणि गहना पसलमा सुनजस्तै देखिने गहनाहरू पाइन्छन् । महर्जन भन्छन्–सुनका गहनाको मूल्य एक दशकको अन्तरमा निकै आकासिएको छ । हुनेले त शुद्ध सुनका गहना लगाउन सक्छन् तर नहुनेले के गर्ने ? त्यसको समाधान भनेको सुनजस्तै देखिने नक्कली गहना हुन् । उनको पसलमा सुनजस्तै देखिने सबै प्रकारका गहना खरिद गर्न सकिन्छ । सुनजस्तै देखिने तिलहरी, नौगेडी, चुरा, मंगलसूत्र तथा नत्थीजस्ता गहनाको सेटलाई ३ हजारभन्दा बढी पर्छ । हेर्दा सुनजस्तै देखिने तथा आफ्नो इज्जत पनि जोगिने भएकाले महिलाहरूलाई यस्ता गहनाले निकै सहयोग गरेका छन् ।

अहिले पहिले लगाइने जन्तर तथा नत्थीको स्वरूपमा परिवर्तन आएर विभिन्न फ्युजन वर्क गरिएका गहना यगार हुन थालेपछि यसलाई सबैले मन पराएको महर्जन बताउँछन् । बी. एस. ज्वेलर्सका बाबुकाजी गमाल तीजमा सुनका गहनाको कारोवार अरु बेलाभन्दा बढी हुने बताउँछन् । विवाहका बेला विवाह गर्ने घरबाट मात्र गहना खरिद गरिन्छ तर तीजमा सबैले गहना खरिद गर्छन् । तीजकै लागि भनेर गहना बनाउने महिलाहरूको भीड पनि उत्तिकै हुने बाबुकाजीले बताए । तीजमा हेबी गहना बढी बिक्री हुन्छन् । तीजका लागि रानीहार, मंगलसूत्र तथा जन्तरको अर्डर बढी हुन्छ । अहिले तीज सबै समुदायका महिलाहरूले मनाउने भएकाले ठूलो तिलहरी तथा नौगेडीको माग उत्कर्षमा पुग्छ । गहना लगाउने होड नै चल्ने भएकाले पनि तीजमा गहनाको माग बढेको हो भन्दा अत्युक्ति नहोला । 

तस्विरहरु: श्रूति श्रेष्ठ

 Image