Successfully Copied

गायिकाहरूको दसैं

नाम चलेका गायिकाहरूका साथमा फाट्टफुट्ट लोकदोहोरी गाउने गायिकाहरू पनि तीज गीतका लागि वैशाख–जेठदेखि नै व्यस्त हुन्छन् ।

तीज गीत गाउने गायिकाहरू वर्षैपिच्छे बढ्दैछन् । नाम चलेका गायिकाहरूका साथमा फाट्टफुट्ट लोकदोहोरी गाउने गायिकाहरू पनि तीज गीतका लागि वैशाख–जेठदेखि नै व्यस्त हुन्छन् । तीजका गीतहरू रेकर्ड, म्युजिक भिडियो निर्माण तथा कार्यक्रमको सेड्युलले उनीहरूलाई व्यस्त बनाउँछ । यसपटक झन्डै ३ सयजति तीज गीत रेकर्ड भैसकेको प्रिज्म स्टुडियोकी व्यवस्थापक स्वरूपा बराइली बताउँछिन् । त्यसमा २ दर्जनजति गीत चर्चामा रहन्छन् र अरु सोखमै सीमित हुन्छन् । अहिले गायिकाहरूका साथमा मोडल, नायिका तथा लगानीकर्ताहरू पनि एउटा तीज गीत गाइहालौं न त भनेर गीत रेकर्ड गराई म्युजिक भिडियो बनाइरहेका छन्–गायिका राधिका हमाल बताउँछिन् । त्यसैले पनि तीज गीत गाउने गायिकाहरूलाई तुलनात्मक रूपमा गीत गाउने अफर कम आउने उनको ठहर छ । तैपनि हमालले यसपटक दुई दर्जन तीज गीतमा स्वर दिएकी छिन् । 

 

अघिल्ला वर्षहरूमा वर्षको ७५ वटासम्म तीज गीत गाएको उनको अनुभव छ । विगत ७–८  वर्षयता तीज गीत गाउनेहरूका लागि तीज दसैंजस्तै पर्व भएको छ । यसबाट कमाइ पनि राम्रो हुने गायिका देविका केसी बताउँछिन् । अरुको एल्बममा गाउने अवसर तथा स्टेज शोहरू आम्दानीका राम्रा स्रोत भएको केसीले बताइन् । यता कोमल वली भने तीजका गीत गाएर कमाइन्छ भन्ने कुरा मान्न तयार छैनन् । तीजका कार्यक्रममा सहभागी हुँदा प्रशस्त पारिश्रमिक पाइन्छ भन्ने उनलाई लाग्दैन । कोमल त कतिपय ठाउँमा पैसा नै नलिई प्रस्तुति दिन्छिन् । कोमलले समाज सेवाका कार्यक्रमहरूमा आफू नि:शुल्क प्रस्तुत भएको जानकारी दिइन् । अरु बेलाभन्दा बढी आम्दानी  हुने भए पनि वर्षभरि पुग्छ भन्ने कुरामा उनी सहमत छैनन् । कोमल भन्छिन्–खोई कसले यतिका पैसा दिने हो मलाई थाहा भएन । त्यस्तै गायिका सुनीता दुलाल तथा मुना थापा मगरको फेसबुक फ्यान पेजलाई फेसबुकले भेरिफाइ गर्नुलाई पनि तीज गीतप्रति श्रोताहरूको रुचि बढेको मान्नुपर्ने तर्क कतिपयको छ । यस क्रममा विदेशका कार्यक्रममा आफूले प्रयोग गरेको डिजाइनर साडी प्रशंसकहरूलाई बेचेर लगानी उठाउने गायिकाहरू पनि उत्तिकै छन् । 

तीज गीतमा नाम चलेका गायिकाहरूमा कोमल वली, मुना थापा मगर, राधिका हमाल, सुनीता दुलाल, टीका पुन, देविका केसी, मञ्जु पौडेल, राधिका हमाल, देवी घर्ती, जानकी तारी मगर, सम्झना लामिछाने, पूर्णकला डीसी आदि प्रमुख छन् । यसपटक नायिका सुप्रिया कटुवालले पनि तीज गीत गाइन् । त्यस्तै नर्सका रूपमा कार्यरत गायिका सरिता प्रजापति पनि पोहोर सालदेखि तीज गीतमा रमाइरहेकी छिन् । यसपटक पनि उनी तीज गीत मैले बारुली कम्मर मर्काउँदा लिएर आएकी छिन् । पप तथा कोरस गायनमा व्यस्त योजना पुरीले पनि यसपटक तीज गीत गाइन् । तीज गीत गाउँदा नेपाल तथा विदेशी भूमिमा आयोजना गरिने तीजका कार्यक्रमहरूमा सहभागी हुने अवसर पाइने भएका कारण तीज गीत गाउने लहर बढिरहेको गायिका कोमल वलीको ठहर छ ।  

 

कोमल वली

तीज गायिका भन्नासाथ अग्रपंक्तिमै आउने नाम हो–कोमल वली । अविवाहित वली हरेक वर्ष पोइ चाहियो सिरिज सार्वजनिक गरिरहेकी छिन् । त्यसैको निरन्तरता स्वरूप यसपटक उनले लास्टै चोटी भन्दै फेरि एकपटक महादेवसँग पोइ मागेकी छिन्–जुन तीज गीतले सबैको मन तानेको छ । अरुका ४ वटा तीज गीतमा स्वर दिएकी गायिका वली साउनको दोस्रो सातादेखि नै तीजको कार्यक्रममा व्यस्त छिन् । वली सहभागी हरेक कार्यक्रममा उनी एक्ली कलाकार हुन्छिन् । 

यसपटकको तीजमा विदेश यात्रा 

अस्ट्ेरलियाका ८ वटा तथा क्यानाडाका ७ वटाजति ठाउँमा कार्यक्रम । 

तीजको खर्च : गीत तथा म्युजिक भिडियोका लागि ४ लाखजति । तीजको कार्यक्रमकै लागि पहिरनहरू बनाउँदा १ लाखजति ।

कमाइ : ८ लाखजति ।

 

देविका केसी गुरुङ

यसपटक दुईवटा तीज एल्बममा स्वर दिएकी देविका केसी १० वर्षदेखि तीज गीत गाइरहेकी छिन् । आफूलाई स्टेज गायिका भन्न रुचाउने देविका वर्षभरि नै विदेश टुरमा व्यस्त रहने गायिका हुन् भन्दा फरक पर्दैन । श्रीमान् र छोरासँग कतारमा बस्दै आएकी देविका तीज गीत रेकर्ड तथा म्युजिक भिडियो छायांकनका लागि नेपाल आउँछिन् । यसै क्रममा उनी असारमै नेपाल आएर गीत रेकर्ड तथा भिडियो निर्माणको काम सकेर विभिन्न देशका तीज कार्यक्रममा सहभागी हुन विदेसिइसकेकी छिन्् ।  

यसपटकको तीजमा विदेश यात्रा 

युके, जापान तथा क्यानाडा ।

तीजको खर्च : म्युजिक भिडियो एवं कार्यक्रममा १ लाखसम्म ।

कमाइ : एउटा कार्यक्रमको १ हजार डलर । 

 

राधिका हमाल पुन

वर्षमा ४ महिनाजति तीजकै एल्बममा व्यस्त हुने गायिका हुन्–राधिका हमाल पुन । अरुको एल्बममा स्वर दिँदादिँदै आफ्नो सोलो तीज एल्बमको काम गर्न नपाएको गुनासो गर्ने राधिकाले यसपटक समय मिलाएर आफ्नै तीज गीत तयार पारेकी छिन् । राधिकाले पहिलेका वर्षजस्तै अरूका एल्बममा पनि स्वर दिएकी छिन् । उनले यो वर्ष तीजका जम्मा २४ वटाजति गीतमा स्वर दिएको बताइन् । 

 

यसपटकको तीजमा विदेश यात्रा 

युके, इजरायल तथा जापान ।

तीजको खर्च : गीत तथा म्युजिक भिडियोमा डेढ लाख तथा पहिरनमा एक लाखजति ।

कमाइ : एक वर्षलाई पुग्छ ।

 

रमिला न्यौपाने

६ वर्षदेखि तीज गीत गाइरहेकी रमिला न्यौपानेलाई तीजको मौकामा गीत गाउन रमाइलो लाग्छ । अरु लोक गीत गाए पनि तीजका गीतमा उनको भिन्नै रुचि छ । आफूले गाएको पहिलो तीज गीत ‘आज त भेट्न आउँदिन है कालु’ बाटै चिनिएकीले पनि उनी हरेक वर्ष तीज एल्बम तयार पार्छिन् । यसपटक उनी पंखा चलाई देऊ तीज गीत लिएर आएकी छिन् । उनको यो गीत युट्युबमा धेरैले हेरिरहेका छन् ।

यसपटकको तीजमा विदेश यात्रा : फिक्स नभएको ।

तीजको खर्च : गीत तथा म्युजिक भिडियोमा २ लाख ।

कमाइ : ६–७ लाखसम्म ।

 Image