अमेरिकास्थित विभिन्न राज्यमा बसोबास गर्ने १२ जना नेपाली छोरीहरूले आ–आफ्ना आमाको जीवनी र स्मृतिकथाको संकलन/पुस्तक प्रकाशित गरेका छन् । नाम दिएका छन्, ‘छोरीले जन्माएका आमाहरू’ । पुस्तकमा नेपालका विभिन्न जिल्ला, जातजाति, वर्ग, उमेर समूह, पेसा र अवस्था विशेषलाई प्रतिनिधित्व गर्ने आमाहरूका जीवनकथा समेटिएका छन् ।
पुस्तकका लेखकहरूमा यो स्तम्भकारसहित इन्द्र गुरौ, उमा शर्मा, कमला न्यौपाने, कल्पना तामाङ, कविता घिमिरे, जानु ओझा, तनुजा पोखरेल, निर्मला राई, मीरा बस्नेत, मोनिका आचार्य र संजिता बराइली छन् ।
सामान्यतया विश्वभरि नै इतिहास विजेताहरू र शक्तिशालीहरूको इतिहास लेख्ने गरिएको छ । इतिहास लेखनको यो एकांगी र अपूर्ण प्रकृयाले ठूलो संख्यामा रहेका जनस्तरका मानिसको योगदान र कर्मलाई अभिलेखीकरण हुनबाट वञ्चित गरिरहेको छ । अन्य सीमान्तकृत समुदायजस्तै महिलाहरू पनि यसको मारमा परेका छन् । इतिहास लेखनको मूलधार ‘हिज स्टोरी’ लेखन मात्र भइरहेको परिप्रेक्ष्यमा अब‘हर स्टोरी’ लेखनको पनि सुरुवात हुनुपर्छ भन्ने नारीवादी तर्क र अभियानप्रति स्तम्भकारको पनि बलियो समर्थन रहेको थियो र छ । महिलालाई केन्द्रमा राखेर महिलाको दृष्टिकोणबाट तयार गरिने ‘हर स्टोरी’ लेखनले महिलाहरूले परिवार, समाज, मुलुक र मानवताका लागि गरेको योगदान तथा कर्मलाई अभिलेखीकरण गरी उनीहरूको इतिहास जोगाउँछ ।
यो पुस्तकको अवधारणामाथि छलफल र पुस्तक प्रकाशन गरी विमोचन गर्दाको अवधिसम्म ठ्याक्कै डेढ वर्षको समय लागेको छ । पुस्तकमा समावेश लेखकहरूले हरेक महिना जुम मिटिङ, छलफल, एक–अर्कालाई प्रोत्साहित गर्दै आइपरेका विभिन्न असजिलालाई पन्छाउँदै यो पुस्तकतयार भएको हो । पुस्तक लेखनका लागि लामो समय आमाहरूका जीवनका सत्यतथ्य जानकारीहरू अनुसन्धान र खोज गर्नमा लागेको छ । किनभने सबै आमाहरूको बाल्यावस्थाका बारेमा र कतिपय दिवंगत आमाहरूका जीवनका विभिन्न पक्षहरूका सम्बन्धमा सोधखोज गरी यथार्थ पहिल्याउनु लेखकहरूका लागि सजिलो थिएन । त्यसैगरी, अधिकांश लेखकहरूले पहिलोपटक कुनै गद्य आलेख लेखेकाले त्यसलाई व्यवस्थित गरी अन्तिम सम्पादन गर्ने प्रकृयाले पनि राम्रै समय लियो ।
सुरुमा करिब २५ जना महिला लेख्न अघि सरेका भए पनि अन्ततः १२ जनाले मात्र लेखनलाई पूर्णता दिन सफल भएका छन् । त्यसैले यो पुस्तक मूलतः १२ जना आमाहरूको जीवनमा केन्द्रित छ र यसका मूलपात्र ती आमाहरू हुन् । उनीहरूको जीवन कस्तो थियो, दृष्टिकोण कस्तो थियो, के–के भोगे र योगदान दिए, पुस्तकमा त्यसको सबिस्तार वर्णन छ । यो पुस्तकमा आमाको जीवनलाई महिलावादी दृष्टिकोणबाट लेख्ने उद्देश्य राखिएकाले आमाका कुरा समेटिनु अत्यन्त स्वाभाविक हो । तर सँगसँगै बिर्सन नहुने कुरा के हो भने यस पुस्तकमा ती आमासँगै लेखकका हजुरआमा, लेखक आफैं र लेखकका छोरीहरूसमेत गरी चार पुस्ताका महिलाहरूका प्रसंगहरू प्रशस्त आएका छन् । साथै ती चारै पुस्ताका महिलाहरूसँग जोडिएका परिवारका पुरुषहरू तथा समकालीन समाज र समयका कुराहरूको पनि यथेष्ट चर्चा भएको छ । कुनै पनि व्यक्तिको जीवन निरपेक्ष रूपमा एक्लो हुँदैन, उनीसँग जोडिएका र उनलाई प्रभाव पार्ने वा उनीबाट प्रभावित हुनेहरू धेरै हुन्छन् । त्यसैले आमाहरूको जीवनगाथा लेख्दा उहाँहरूसँग सम्बन्ध राख्ने सबैका कुराहरू पनि त्यसको सेरोफेरोमा आएकै हुन्छन् ।
यो पुस्तकका लेखकहरूका सबैजसो सन्तानहरू र अरु आप्रवासी नेपाली नयाँपुस्ता जसले नेपाली भाषामा पढ्न सक्दैनन्, उनीहरूलाई लक्षित गरी यो पुस्तकलाई अंग्रेजीमा अनुवाद गरी प्रकाशन गर्ने लक्ष्य पनि छ । यो पुस्तकको सम्पादन जयदेव गौतमले गरेका हुन् ।