Successfully Copied

सोचेको काम गर्नुपर्छ

पावर थिङकिङ एउटा एक्सनमा आधारित सिद्धान्त हो ।

हामी वरपर कतिपय त्यस्ता व्यक्ति फेला पर्छन् जो श्रेष्ठता, योग्यता तथा दक्षता भएर पनि सही अर्थमा सफल देखिँदैनन् । उनीहरू अघि बढे र सानो लक्ष्य प्राप्त भएपछि रोकिए । यसो हुनुको कारण हो सकारात्मक सोच र स्पष्ट लक्ष्य भएर पनि उनीहरूमा एक्सनको कमी थियो, संघर्षशीलताको कमी थियो, परिस्थितिका सामु अडिने क्षमताको कमी थियो, जुझारुपनको कमी थियो । आत्मनिरीक्षण गरेर तिनले जीवनमा के प्राप्त गर्ने भन्ने कुरा त तय गरे तर त्यो इच्छामा एक्सनको पावर समावेश गर्न सकेनन्  । पावर थिङकिङ एउटा एक्सनमा आधारित सिद्धान्त हो । यदि कसैले सोचिमात्र रहन्छ तर उसले काम गर्न पाएन भने कहिल्यै लक्ष्य प्राप्त गर्न सक्दैन ।

सकारात्मक सोच+एक्सन=पावर थिङकिङ

प्रथम सिद्धान्त र द्वितीय सिद्धान्त नभई तेस्रो सिद्धान्तका लागि मार्गदर्शन प्राप्त हुन सक्दैन । जब आत्मनिरीक्षण गरिँदैन र ‘जीवनमा के प्राप्त गर्ने’ भन्ने तय गरिँदैन तबसम्म एक्सन कुन दिशामा गर्ने निक्र्यौल हुन सक्दैन । तृतीय सिद्धान्तले भने आफ्नो पूर्ण क्षमता र समर्पणलाई आफ्नो लक्ष्यमा लगानी गर्न प्रेरित गर्छ । काम गर्न राम्रो संगत गर्नुपर्छ, पुस्तक पढ्नुपर्छ, मेहनत गर्नुपर्छ, गुण विकसित गर्नुपर्छ, जुझारु हुनुपर्छ, पसिना बगाउनुपर्छ र त्यसमा डटिरहनुपर्छ । हुनसक्छ, आफूलाई ठट्टामा उडाइएला तर डटिरहनुपर्छ । किनभने उनीहरूलाई थाहा छैन उनीहरू के गरिरहेका छन् तर तपाईंलाई आफू के गर्दैछु भन्ने कुरा राम्रोसँग थाहा छ ।

 आलोचकहरूका अनुसार पोजिटिभ थिङकिङले मात्र केही फरक पर्दैन, कारण त्यस्ता अनेकौं उदाहरण छन् जहाँ पोजिटिभ थिङकर भएर पनि उनीहरूले केही प्राप्त गर्न सकेका छैनन् । पोजिटिभ थिङकिङले व्यक्तिलाई असल त बनाउँछ तर ऊ सफल हुन्छ कि हुँदैन भन्ने कुरामा भने सन्देह रहन्छ ।पोजिटिभ थिङकिङ र पावर थिङकिङका बीच एक्सन, पसिना बगाउने र अरूको प्रतिरोध सामना गर्ने फरक हुन्छ । कसैसित मर्सिडिज कार छ तर पेट्रोल छैन भने त्यो बेकार हुन्छ, रेफ्रिजेरेटर छ तर बिजुली छैन भने पनि त्यसको उपयोगिता समाप्त हुन्छ । यसैगरी पोजिटिभ विचार भए पनि त्यसमा एक्सन पावर छैन, चाहना छैन भने त्यो विचारले मात्र अपेक्षित उचाइ प्राप्त हुन सक्दैन ।

आफूले बनाएको लक्ष्यमा पुग्न ठोस कार्ययोजना बनाएर काम गर्नुपर्छ ।

  • कुन कुरालाई प्राथमिकता दिँदा लक्ष्यमा पुग्न सकिन्छ विचार पुर्‍याउनुपर्छ ।
  • छोटो र लामो अवधिका लक्ष्यलाई अलग–अलग लेख्नुपर्छ ।
  • अब ठूला लक्ष्यलाई स–साना भागमा विभाजन गर्नुपर्छ ।
  • सम्पूर्ण लक्ष्य पूरा गर्न अपेक्षित समयसीमा तय गर्नुपर्छ ।

स्वयंसित पूर्ण इमान्दारीपूर्वक यी प्रश्नहरू गर्नुपर्छ :

  • कुनै कार्यमा प्रमुख बाधा के छ ?
  • कुनै कार्य विशेष तरिकाबाट गर्ने हेतुले कुन–कुन गुणको विकास गर्नुपर्छ ?
  • कामलाई सफलतापूर्वक सम्पन्न गर्न आफ्नो कुन बानी तत्काल त्याग्नुपर्छ ?
  • कुनै कार्य गर्न उपलब्ध संसाधन के–कस्ता छन् ?
  • ती व्यक्ति को हुन सक्छन् जो यो काम सफलतापूर्वक सम्पन्न गर्न आफ्नो मार्गदर्शक वा सहयोगी साबित हुन सक्छन् ?
  • यो कामलाई पूरा गर्ने उद्देश्यले मेरो कार्ययोजना के हुनेछ र यसमा कुन समयसीमा लागू हुनेछ ?

यसरी व्यवस्थित तरिकाबाट कुनै विषयमा सोचियो भने अनिश्चितताबाट जोगिन सकिन्छ । आफूलाई आफ्नो क्षमता र कमजोरीका सम्बन्धमा ज्ञान हुन्छ ।

सार

  • समयसीमायुक्त कार्ययोजनामा तत्काल काम गर्न प्रारम्भ गर्नुपर्छ ।
  • सम्पूर्ण सम्भावनाको खोज इमान्दारीपूर्वक गर्नुपर्छ ।
  • लक्ष्य प्राप्तिको मार्गमा स्वयंलाई पुरस्कृत र दण्डित गर्नुपर्छ ।
  • यो सिद्धान्त हिम्मत र दृढ निश्चयमा आधारित छ ।

यो अत्यन्त क्रियाशील सिद्धान्त हो । त्यसैले अरूको प्रतिरोध र समर्थन दुवै प्राप्त हुनसक्छ । यो सिद्धान्त अपनाउन असल संगत र रोल मोडलको आवश्यकता पर्छ ।

 Image