घरमा बिजातीय बुहारी भित्रिँदा

छोराले बिजातीय बुहारीसँग प्रेम गर्‍यो वा विवाह गर्‍यो भने, कतिपयले त छोराका लागि घरको बाटो नै बन्द गरिदिएका छन् ।

नारी संवाददाता

श्रावण २५, २०७३ 

समाज र यसका मान्यताहरू तीव्र गतिमा बदलिरहेका छन् । हिजो जुन कुरा वा घटना असामान्य र असम्भव थिए, आज ती कुरा सामान्य र सम्भव भएका छन् । अन्तरजातीय विवाह यस्तै श्रेणीको एउटा घटना हो, जसलाई केही समय अघिसम्म यस्तो पनि हुन्छ भनेर आश्चर्य व्यक्त गरिन्थ्यो । आज सहरी क्षेत्रका हरेक चौथो घरमा बिजातीय बुहारी भित्रिन थालेका छन् । बिजातीय बुहारी भित्रिनुको प्रमुख कारण युवतीहरू घरबाट निस्कनु पनि हो । उनीहरू युवकहरूसँग एउटै सीटमा बसेर स्कुल–कलेज पढ्न थालेका छन् । एउटा अफिसमा एउटै पदमा एउटै तलब खाएर उनीहरूसँग प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूको व्यक्तित्व पुरुषको जत्तिकै अग्लिँदै जान थालेको छ । टेलिफोन, इमेल, इन्टरनेट आदिका कारण को नारी वा को पुरुष वा के जात–थर भन्ने कुरा गौण हुन थालेको छ । कतिपय अवस्थामा मित्रता भएको महिनौं बितिसक्दा पनि आफ्नो मित्र उपाध्याय बाहुन हो कि जैसी वा क्षेत्री छुट्टिन सकेको हुँदैन । जात र धर्मको निर्णयविना नै प्रेम सुरु भैसकेको हुन्छ । समयको गतिसँगै हाम्रो समाजका मान्यता एवं हाम्रा सोचहरूमा परिवर्तन आउन सकेको छैन ।

"जात र धर्मको निर्णयविना नै प्रेम सुरु हुन्छ ।"

अशिक्षित र गाउँघरका कुरा छाडिदिऊँ, सहर–बजारका पढे–लेखेका मानिसहरू पनि छोराले बिजातीय बुहारीसँग प्रेम गर्‍यो वा विवाह गर्‍यो भने असन्तुष्ट हुन्छन् । कतिपयले त छोराका लागि घरको बाटो नै बन्द गरिदिएका छन् । यदि आफ्नी छोरी तल्लो जातसँग गइन् भने उनलाई घर बोलाउने, ज्वाइँ स्वीकार गर्ने काम हुँदैन । यसले छोराछोरीलाई दु:खी त बनाउँछ नै आमाबुबाको बुढेसकालको जीवन पनि सुखमय हुँदैन ।

विशेष गरी आमबुबाले छोरा वा छोरीले यस प्रकारको काम गरिहाले पनि त्यसलाई सामान्य रूपमा लिन सक्नुपर्छ ।

  • बिजातीय बुहारी भित्रिनुको अर्थ बुहारीमार्फत केही फरक संस्कार घरभित्र हुर्काउनु पनि हो । यदि आफ्नो संस्कार मात्र ठीक अरूको संस्कार गलत भनेर बस्ने हो भने त्यसले समस्या निम्त्याउँछ । कुनै पनि काम गर्दा आफ्नी बुहारीलाई यो काम यस कारण गरिएको हो, यो काम गर्नुको अर्थ यो हो भनेर बुझाउन सक्नुपर्छ । विनातुक र तर्कको काम गर्न बुहारीलाई दबाब दिनुहुँदैन ।
  • ब्राह्मणको घरमा बुहारीले छोएको नखाने, भान्साभित्र पस्न नदिने, छि:छि र दुरदुर गर्ने चलन छ । यदि बुढेसकालमा पनि उनीहरूले छोएको खान्न भन्ने दृढ विश्वास छ भने मात्र आफै पकाउनुपर्छ । तर अहिले शरीरमा जोस छ, खाना पकाउने शक्ति छ भन्दैमा म सधैं यस्तै हुन्छु भन्ने भ्रम पाल्नुहुँदैन ।
  • बिजातीय बुहारीको संस्कार र काम गर्ने तरिका बुझ्ने प्रयास गर्नुपर्छ । नबुझेका संस्कारका बारेमा चासो देखाउनुपर्छ र उनका कुरालाई महत्व दिनुपर्छ । यसो गरियो भने उनले पनि आफ्नो संस्कारका सम्बन्धमा चासो दिन्छिन् ।
  • हरेकलाई आफ्नो धर्म–संस्कृति प्यारो हुन्छ । यो कुरा बुझेर पनि धर्म–संस्कृतिप्रति व्यंग्य गरियो भने त्यसले विकराल रूप लिन पुग्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>