Successfully Copied

शसक्त अभिनयकी धनी गौरी मल्ल

काँचको पर्दामा सामान्यतया सुन्दरताको व्याख्या र बखान हुन्छ । चलचित्र, मोडलिङजस्ता ग्ल्यामर क्षेत्रमा उमेर र सुन्दरता रहुन्जेल मात्र टिकिन्छ भन्ने मान्यतालाई चुनौती दिँदै पाँचौं वसन्त पार गरिसक्दा पनि सशक्त अभिनयद्वारा दर्शकको मन जितिरहेकी गौरी मल्ल उक्त मान्यताविरुद्धको बलियो उदाहरण हुन् ।

काँचको पर्दामा सामान्यतया सुन्दरताको व्याख्या र बखान हुन्छ । चलचित्र, मोडलिङजस्ता ग्ल्यामर क्षेत्रमा उमेर र सुन्दरता रहुन्जेल मात्र टिकिन्छ भन्ने मान्यतालाई चुनौती दिँदै धेरै वसन्त पार गरिसक्दा पनि सशक्त अभिनयद्वारा दर्शकको मन जितिरहेकी गौरी मल्ल उक्त मान्यताविरुद्धको बलियो उदाहरण हुन् ।

आर्मीका मेजर धनबहादुर मल्ल तथा हेमकुमारी मल्लले गौरीको भविष्य नाचगान र अभिनयमा बित्ला भनेर सायदै सोचेका थिए । सन् २९६७ मा नक्साल काठमाडौंमा जन्मिए पनि उनको बाल्यकाल पाल्पामा बित्यो । केही समय उनले तानसेनको पाल्पा बोर्डिङ स्कुलमा अध्ययन गरिन् तर बुवाको जागिरको सिलसिलामा पुन: काठमाडौं नै उनको कर्मथलो बन्न पुग्यो । नेपाल एकेडेमीको जागिरसँगै उनी सक्रिय अभिनयमार्फत आफूभित्रको कला प्रस्फुटनमा लागिन् ।

वि.सं. २०४३ सालमा सन्तान चलचित्रबाट अभिनय यात्रा थालेकी मल्लले पिरती, कन्यादान, चोट, सरस्वती, चेलीबेटी, चाहनाजस्ता ५० भन्दा बढी चलचित्रमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । पात्रमा डुब्ने र त्यसलाई जीवन्त बनाउन आफूमा भएको सम्पूर्ण शक्ति खर्चिने गौरी अभिनय कलाका अतिरिक्त कवयित्री तथा सुन्दर स्वरकी धनीसमेत हुन् । अमेरिका बसाइमा उनले व्यावसायिक रूपमै गीत गाइन् । गौरीको अभिनय नेपालमा मात्र होइन अभिशेष चौबेको भारतीय चलचित्र इस्कियामा पनि देख्न पाइन्छ । श्रद्धा, रक्षा, अपुताली, आशा, अमरपुत्र आदि दर्जनभन्दा बढी टेलिचलचित्रमा सशक्त अभियनय गरिसकेकी मल्लको सिंहदरबार अहिले सर्वाधिक लोकप्रिय छ । आफ्नो पात्रलाई हुबहु तथा सशक्त रूपमा प्रस्तुत गर्न सक्ने क्षमता भएकी गौरी चलचित्र क्षेत्रमा महिलाको उपस्थिति सन्तोषजनक भएको बताउँदै भन्छिन्–‘जसले कलाको महत्व बुझेको छ उसले पूजा गर्छ । कला एउटा सशक्त माध्यम हो, यसको आकर्षण अवर्णनीय छ । सुरुवातका दिनमा फिल्म क्षेत्रमा महिलाका लागि ठूलो चुनौती भए पनि अहिले यो क्षेत्रले गति लिन थालेको छ जसले सन्तोष प्रदान गर्छ ।’

विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मान तथा पदकहरूद्वारा सम्मानित गौरी मल्ललाई कठिन चुनौतीका बाबजुद पनि चलचित्र क्षेत्रमा महिला पात्रको अस्तित्व जोगाइराख्न तथा यो क्षेत्रको पुरानो मान्यतालाई तोडी आजसम्म पनि दर्शकलाई आफूतर्फ तान्न सफल भएकोमा सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान)–२०१६ को महामाया विधाद्वारा सम्मान गरियो ।  

 Image