Successfully Copied

‘कर्मशील केकी’

चलचित्र क्षेत्रलाई महिलामैत्री बनाउने सवालमा केकी भन्छिन्–‘महिलाका लागि सहज र उचित वातावरण बनाउन आफैंले पहल गर्नुपर्ने रहेछ । यसका लागि आवाज उठाउन डराउनु हुँदैन


 
नेपाली सिने क्षेत्रमा कला र अभिनयले अब्बल नायिका केकी अधिकारी क्लोजअपको विज्ञापनबाट मनोरञ्जन क्षेत्रमा प्रवेश गरेकी हुन् । प्रेसिडेन्सियल कलेजबाट एमबीए सिध्याएकी उनले हालसम्म ३३ वटा फिचर फिल्म, दुई दर्जन बढी टिभिसी एवं विभिन्न सामाजिक अभियानका लागि सद्भावना दूत भएर काम गरिसकेकी छिन् । कोहलपुर एक्सप्रेसबाट निर्मातृका रूपमा उदाएकी उनको ‘बोक्सीको घर’ नामक चलचित्र आगामी वैशाख १४ गते रिलिज हुँदैछ, त्यसकी निर्मातृ एवं मुख्य पात्र उनै हुन्  । उनको यो ३४ औं चलचित्र हो । भूकम्पपछि जिआइजेडद्वारा सञ्चालित मर्यादित महिनावारी अभियानकी सद्भावना दूतका रूपमा समेत काम गरिरहेकी उनले धनगढीलगायत सुदूरका ग्रामीण भेगमा रहेका सरकारी विद्यालयहरूमा सुरक्षित र मर्यादित महिनावारीमा धेरै काम गरिसकेको बताइन् । कमेडी च्याम्पियन दुई सिजनको प्रोड्युसर भएर काम गरिसकेकी अधिकारी पोयट आइडलकी निर्णायक पनि हुन् । चलचित्र क्षेत्रलाई महिलामैत्री बनाउने सवालमा केकी भन्छिन्–‘महिलाका लागि सहज र उचित वातावरण बनाउन आफैंले पहल गर्नुपर्ने रहेछ । यसका लागि आवाज उठाउन डराउनु हुँदैन।’

केकीसँग संवाद

‘बोक्सीको घर’ निर्माण गर्ने सोच कसरी आयो ?
नौवर्षअघि सरिता गिरीको एकल नाटक बोक्सीको घर हेरेकी थिएँ । यसले महिलाका विविध पक्षलाई छोएको थियो । नाटक सकिएपछि सबै हलबाट निस्किए तर म एक्लै घोत्लिएर भित्रै बसेकी थिएँ । कोभिडको ‘सेल्फ रिफ्लेक्सन टाइम×’ मा त्यो नाटक सम्झिएँ । फिल्म निर्माण गर्ने हुटहुटी मनमा अझैं थियो । जीवन केही रहेनछ, कतिबेला के हुन्छ भनेर संसार नै चिन्तामा डुबिरहेका बेला चलचित्र बनाउने रिस्क लिन्छु भन्ने सोच आयो । त्यसपछि सुलक्षण भारतीसँग सहकार्य गरें । उहाँ नै बोक्सीको घरको लेखक तथा निर्देशक हुनुहुन्छ । साइकोलोजी ‘थ्रिलर जनरा’मा बनेको यो चलचित्रमा मुख्य पात्रका रूपमा मैले अभिनय गरेकी छु ।

नेपाली चलचिक्र क्षेत्रमा ‘हिरो–इन’ अर्थात् हिरोइन, सि–रो अर्थात् सि इज हिरो, जस्ता कल्चरलाई अझै बढावा दिन के गर्नुपर्ला ?
यो कल्चर बढाउने कुरामा हाम्रै हात छ । महिला प्रधान चलचित्र धेरै बन्नुपर्छ, जुन अनुपातमा पुरुषप्रधान चलचित्र बन्छन् । महिलाकथामा रिस्क लिन डराउनु हुँदैन । विकसित देशमा समेत यो कुरा लडाइँको विषय नै छ अझैसम्म भने हामीकहाँ नहुने त कुरै भएन । निर्णायक तहमा हुनेहरूले यो विषयमा गम्भीर र जिम्मेवार हुनुपर्छ ।


महिला निर्मातृका चुनौती के–कस्ता छन्? निर्माणमा महिला संख्या बढाउन के गर्नुपर्ला ?
संख्यात्मक रूपमा वृद्धि भइरहेको छ । महिला आइसकेपछि के नयाँ दिन सकिन्छ त्यो अत्यन्तै महत्वपूर्ण छ । तर लगानी गरिसकेपछि पैसा उठाउनुपर्छ भन्ने सोचका कारण उही ट्रेन्ड फलो गर्न हामी बाध्य छौं । महिला निर्मातृ रहेका चलचित्रमा केही फरक र नयाँपन हुनुपर्छ । नयाँ अवधारणा र सिर्जनामा लागेर घाटा हुने जोखिम नै किन नहोस् चलचित्र निर्माण गर्न छोड्नु हुँदैन ।

नेपाली चलचित्र क्षेत्रमा स्तर वृद्धिका लागि के आवश्यक ठान्नुहुन्छ ?
कथामा लगानी गर्न सक्नुपर्छ । हाम्रा संस्कार, संस्कृति, खानपान, जातजाति, वेशभूषामै लाखौं अर्गानिक कथा लुकेका छन् । यसलाई हामीले बाहिर ल्याउन सक्नुपर्छ, कमर्सियल भ्यालु दिन सक्नुपर्छ ।साथै सिर्जनामा इमान्दारिता पनि हुनैपर्छ । कालोपोथी, ऐना झ्यालको, पुतली आदि चलचित्र अन्तर्राष्ट्रिय रूपमा नगएका होइनन् ।

नेपाली चलचित्र अन्तर्राष्ट्रिय स्पर्धामा किन पछाडि परेका होलान्?
हाम्रो चलचित्रको इतिहास पल्टाएर हेर्ने हो भने त्यति लामो छैन । र पनि हामी अघि बढिरहेकै छौं, जुन सकारात्मक कुरा हो । केही समयअघि मात्रै मीन भामको ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिबलको प्रतिस्पर्धामै पुगेको छ जुन हाम्रा लागि उपलब्धि हो ।

यो क्षेत्र कत्तिको महिलामैत्री छ ? महिलाको निर्णय कत्तिको स्वीकार्य हुन्छ ?
महिलामैत्री हामीले नै बनाउन पर्नेरहेछ । हामीले सुरु गर्दा सुरक्षित वातावरण पाइन्छ कि पाइँदैन भन्ने थियो । महिनावारी हुँदा क्यामेरा छुन हुँदैन भन्ने, ट्वाइलेटका समस्यादेखि लिएर पुरुषसँग भन्न अप्ठ्यारो हुने त्यस्ता थुप्रै विषय थिए । केही समय अघि गौरी मल्ल दिदीसँगको भेटमा पहिले अनिवार्य रूपमा आमालाई सुटिङस्थलमा लिएर जानुपर्थ्यो रे जसले गर्दा त्यहाँ कुनै अपशब्द सुन्नै पर्दैनथ्यो । मेरो अनुभवमा सन् २०१० यताक्रमशः सहज हुँदै गएजस्तो लाग्छ । सुटिङमा स्यानिटरी प्याड, शौचालयको व्यवस्था, महिला कलाकारलाई सम्मान गर्ने ट्रेन्ड विस्तारै विकसित हुँदैछ । अर्को कुरा महिलाको निर्णय स्वीकार गर्ने प्रचलन भने कमै छ । बलिया महिला पात्रलाई ब्वाइफ्रेन्डको मोटरसाइकलमा साइड बस्न लगाउँदा मैले अस्वीकार गरेर पनि मलाई साइड बसाएरै छाडियो, खोइ त त्यहाँ निर्णायक शक्ति र आवाजले काम गरेको ?

अब केकी अधिकारीले चलचित्र क्षेत्रमा के गर्न बाँकी छ ?
अझधेरै कुरा बाँकी छन् ।महिलाका गहन विषयमाथि चलचित्र बनाउन र भूमिका निर्वाहगर्नेरहर मरेको छैन । कथा र पात्रमार्फत महिला मुद्दामा जोड दिने रहर उत्तिकै छ ।

नयाँ योजना केही छन् कि ?
जो, जहाँ, जे गरिरहेका छौं, आफ्नो क्षेत्रमार्फत क्षमता प्रयोग गरेर पछाडि परेकालाई अगाडि ल्याउनुपर्छ । यसका लागि म हरक्षण तयार थिएँ र भविष्यमा पनि रहनेछु । हामीले आ–आफ्नो क्षेत्रमार्फत समृद्धि र विकासका लागि भूमिका निर्वाह गर्नैपर्छ ।


पहिरन - केडिए फेसन हाउस नक्साल
हेयर एन्ड मेकअप - वन्दना राउत
लोकेसन - द स्ट्रान्ड लाउञ्ज एन्ड बार, बत्तीसपुतली
तस्बिर - महेशमान प्रधान

 Image