Successfully Copied

इन्धन बचत गर्ने केही उपाय

हामीले समय–समयमा पेट्रोल अभावको समस्या सामना गर्दै आएका छौं । महिनैपिच्छे हुने पेट्रोल अभाव हाम्रा लागि नौलो कुरा होइन । यसका साथै बढ्दै गएको पेट्रोलको मूल्यले सबैलाई चिन्तित पारेको छ ।

हामीले समय–समयमा पेट्रोल अभावको समस्या सामना गर्दै आएका छौं । महिनैपिच्छे हुने पेट्रोल अभाव हाम्रा लागि नौलो कुरा होइन । यसका साथै बढ्दै गएको पेट्रोलको मूल्यले सबैलाई चिन्तित पारेको छ । यसका लागि हामीले थोरै मात्र ध्यान दिन सक्यौं भने पनि हाम्रो ठूलो समस्या समाधान हुन सक्छ ।

कार मर्मत

कार किन्दा पाइएको निर्देशिका पुस्तिका राम्रोसँग पढेर त्यसमा दिइएको निर्देशन पालना गर्नुपर्छ । यसका साथै कारमा चाहिने लुब्रिक्यान्ट सही समयमा फेर्नुका साथै टायरको हावा पनि जाँच गर्नुपर्छ । कम हावा भएको बेला यसले बढी तेल खान सक्छ । त्यसैले कतै टाढा लामो टुरमा जानुअघि टायर जाँच गरी गाडीको सरसफाइमा पनि ध्यान दिनुपर्छ ।

सही टायरको प्रयोग  

विदेशमा विभिन्न मौसमका लागि विभिन्न खालका टायर उपलब्ध छन् । हिउँ परेको बेलामा मोटो ग्रिपको टायर हुन्छ भने गर्मी तथा जाडो मौसमका बेला फरक खालको । तर नेपालमा हिउँ नपर्ने तथा धेरै जाडो–गर्मी नहुने भएकाले सामान्य टायर प्रयोग गर्न सकिन्छ । यसका साथमा यदि ट्युब भएको टायर छ भने त्यसलाई समय–समयमा जाँच्नु तथा फेर्नुपर्छ ।

गति नियन्त्रण  

इन्धन कम खर्च गर्ने सबैभन्दा राम्रो उपाय गतिको नियन्त्रण हो । गाडी जथाभावी चलाउनु हुँदैन, सकेसम्म समान गतिमा राख्नुपर्छ । साथै अनावश्यक रूपमा ब्रेक लगाउनु हुँदैन ।  यसो गर्दा थोरै भए पनि इन्धन  बचत हुन्छ ।

एयर फिल्टरको जाँच  

फोहोर भएको एयर फिल्टरले हावा इन्जिनमा जान अवरोध पुर्‍याउँछ । यसले गाडीको पर्फोमेन्स तथा इकोनोमीमा असर गर्छ । एयर फिल्टर आफैंले जाँच्न सकिन्छ । यसका लागि एयर फिल्टर निकालेर घामको सहायताले यसलाई चेक गर्नुपर्छ । फिल्टर सकभर स्थायी खालको लिनुपर्छ । यसलाई फेर्नुपर्ने झन्झट हुँदैन, बेलाबेलामा सफा गरे पुग्छ । साथै यस्ता फिल्टर वातावरणमैत्री पनि हुन्छन् ।

प्राकृतिक कुरामा ध्यान  

गाडीमा एसी चलाउनुभन्दा झ्यालको सिसा खोल्न सकिन्छ । यसले गर्दा हामीले प्राकृतिक हावाको मज्जा लिनुका साथै इन्धन पनि बचत हुन्छ ।

अनावश्यक गाडी नचलाउनु

घर नजिकै कतै किनमेलमा जाँदा हिँड्नु राम्रो हुन्छ । हिँडेरै पुग्न सकिने ठाउँमा जानुपर्दा गाडीको प्रयोग नगर्ने  हो भने इन्धनको बचत हुनुका साथै शरीरलाई पनि फाइदा पुग्छ ।

स्टार्टमा नछोड्नु

गाडी स्टार्ट गर्न लामो समय स्टार्ट गरेर छोड्नु हुँदैन । इन्जिन तताउन मात्र दुई मिनेट राखे पुग्छ ।

इन्धन कम खपत गर्ने गाडीको प्रयोग  

गाडी किन्दा कम पेट्रोलले बढी माइलेज दिने रोज्नुपर्छ । स्टाइलका लागि कम माइलेज लिने गाडी लिनु हुँदैन ।

कम दूरी

कतै जाँदा सकेसम्म छोटो बाटो प्रयोग गर्नुपर्छ । गाडीमा सपरिवार घुम्नु रमाइलो हुन्छ तर इन्धन जोगाउने हो भने लामो बाटो प्रयोग गर्नु हुँदैन ।

गाडी रोज्दा आवश्यकतामा ध्यान  

गाडी के प्रयोजनका लागि लिने हो पहिले नै ध्यान दिनुपर्छ । यदि घरपरिवार तथा अफिस आउजाउका लागि हो भने सानो गाडी लिनुपर्छ । सानो गाडीले राम्रो माइलेज दिन्छ । गाडीले आफ्नो स्टेट्समा फरक पार्छ भन्ने सोच राख्नु हँुदैन ।

 Image