Successfully Copied

सम्बन्धको सर्भिसिङ जरुरी

जीवन परिवर्तन हुन्छ र त्यससँगै हाम्रो सम्बन्ध पनि परिवर्तन हुन्छ ।

जीवन परिवर्तन हुन्छ र त्यससँगै हाम्रो सम्बन्ध पनि परिवर्तन हुन्छ । समयको उकाली–ओरालीसँगै अनुभवका आधारमा सम्बन्धहरू पनि परिवर्तन हुन्छन् । बितेका क्षणहरूले विगतका प्राप्ति र गुमाएका कुराहरू सम्झना गराउँछन् । त्यतिबेला स्वयंसित आँखा जुधाउन नसक्ने अवस्था नहोस्, आफ्नो सम्बन्धलाई बोझमा परिवर्तन गरेको दोष सहनु नपरोस् भनेर उचित समयमा उचित तरिकाले सम्बन्धलाई सर्भिसिङ गर्नु जरुरी छ । अञ्जान दिशातर्फ दौडिरहेका सबैले आफ्नो गतिलाई कम गरेर भए पनि सम्बन्धलाई सुमधुर बनाउनुपर्छ किनभने प्रेम र आफ्नोपन, आत्मीयता र सामीप्यरूपी तेलले आपसी सम्बन्धको सर्भिसिङ भैरहन्छ । 

किन जरुरी छ सर्भिसिङ ? 

–हरेक सम्बन्ध, चाहे त्यो बालबालिका र अभिभावकबीचको होस् वा भाइबहिनी बीचको, श्रीमान्–श्रीमती वा अरु मित्रजन र आफन्तजनको सबैले हामीबाट समय र अटेन्सनको माग राख्छन्, जुन आधुनिक व्यस्त जीवनमा कमै पाइन्छ । 

–समयको कमीका कारण सम्बन्ध पूर्णरूपमा झाँगिन पाउँदैन फलस्वरूप हामी स–साना खुसीबाट पनि विमुख हुन्छौं भने आफूसित जोडिएका व्यक्तिहरूसित पनि टाढिन्छौं । यस्तो भएपछि सम्बन्धमा गुनासाहरू सिर्जना हुन थाल्छन् ।

–हामी सदैव आफूसित समय अभाव भएको कुरा गर्छौं भने एकदिन हाम्रा लागि हाम्रा आफन्तसँगसमय रहने छैन । 

–चाहे हामी जति नै सफल हौं वा उचाइमा उडौं, आफन्तजनको साथको आवश्यकता सधैं कायम रहन्छ अन्यथा जीवनमा एक्लोपनको निराशाले हामीलाई नकारात्मक दिशातर्फ धकेल्न सक्छ । समय छँदै सम्बन्ध जोगाउने, सम्हाल्नेतर्फ विचार पुर्‍याइएन भने जब हामीलाई ती सम्बन्धको आवश्यकता हुन्छ तब हामीसित कोही पनि नरहने अवस्था उत्पन्न हुनसक्छ ।

–आपसी मेलमिलापका बीच एकसाथ समय बिताउँदा हामीभित्र सकारात्मक भावना सिर्जना हुन्छ । 

–आफन्तजनको ख्याल छ, आफूलाई उनीहरूको आवश्यकता छ भनेर उनीहरूलाई अनुभूति गराउन   पनि सम्बन्धको सर्भिसिङ जरुरी छ । 

तस्वीर : नवराज वाग्ले 

 Image