Successfully Copied

स्वाभाविक रहन दिनुहोस् बालबालिकालाई

फ्रान्सका सम्राट् नेपोलियन दिनभरि बालुवामा चम्किला कणहरू बटुल्थे र त्यसलाई घरमा सजाउँथे । आमाबुबाले गाली गर्दा उनी भन्थे, ‘यी चम्किला बालुवा मेरा सिपाही हुन्, जसले फ्रान्सलाई माथि उठाउन सहयोग गर्नेछन् ।

फ्रान्सका सम्राट् नेपोलियन दिनभरि बालुवामा चम्किला कणहरू बटुल्थे र त्यसलाई घरमा सजाउँथे । आमाबुबाले गाली गर्दा उनी भन्थे, ‘यी चम्किला बालुवा मेरा सिपाही हुन्, जसले फ्रान्सलाई माथि उठाउन सहयोग गर्नेछन् ।’ बेलायतका प्रधानमन्त्री बिस्टन चर्चिललाई स्कुल गएर शिक्षकको लेक्चर सुन्न मन लाग्दैनथ्यो । बरु उनी स्कुलबाहिर निस्केर सेनालाई सुसज्जित बनाउने र चक्रब्यूह रच्ने काम गरेर समय बिताउँथे । उनका बुबा छोराको त्यस्तो क्रियाकलाप देखेर दिक्क थिए । एकपल्ट बेलायतका सेनापति चर्चिलको घरमा आए । चर्चिलको घरभरि युद्ध सामग्री देखेर ती सेनापति छक्क परे ।

सेनापतिले चर्चिलसँग केहीबेर कुरा गरेपछि थाहा पाए, उनी विलक्षण प्रतिभाका बालक हुन् । उनले चर्चिलका बुबासँग भने–‘तपाईंले आफ्नो छोराको प्रतिभाको विचारै नगरी गलत शिक्षा दिनुभएको रहेछ । यसलाई म सैनिक विद्यालयमा भर्ना गरिदिन्छु ।’

नभन्दै चर्चिल साधारण जनता पढ्ने विद्यालयबाट सैनिक विद्यालयमा भर्ना भए । उनको प्रतिभा निखारिँदै गयो । पछि गएर उनी बेलायतकै सर्वाधिक चर्चित सैनिक बने । त्यतिमात्र होइन, उनी उक्त देशका प्रधानमन्त्रीसमेत भए ।

माथिका उदाहरणबाट के थाहा हुन्छ भने हरेक बालबालिका जन्मदै विशेष प्रतिभा लिएर जन्मिएका हुन्छन् । कतिपय बालबालिका चुपचाप एकान्तमा बसेर सोचिरहन्छन् । कोही एकदमै चकचके हुन्छन् भने कोही जतिबेला पनि किताब लिएर पढ्न रुचाउँछन् । कोही खेलमा मात्र रमाउँछन् भने कोही झगडा गरिरहन्छन् । यो उनीहरूको स्वाभाविक गुण हो । धेरैजसो आमाबुबा यो कुरा बुझ्दैनन् । पढ्ने छोराछोरी मात्र असल र अन्य क्रियाकलाप गर्ने छोराछोरी बिग्रँदै गएको भ्रम उनीहरूमा हुन्छ । वास्तविकता के हो भने हरेक बालबालिका जन्मदै विशेष गुण लिएर जन्मिएका हुन्छन् । बरु उनीहरूको गुणअनुसार उनीहरूलाई कस्तो किसिमको शिक्षा वा कस्तो किसिमको व्यवहारले सकारात्मक असर गर्छ, त्यस्तै व्यवहार र शिक्षा दिने प्रयत्न गर्नुपर्छ ।

कतिपय बालबालिका घरमा होम वर्क गर्नुभन्दा कम्प्युटरमा गेम खेलेर बस्न रुचाउँछन् । यस्ता बालबालिकालाई खेल्नै नदिने तर पढ् मात्र भनेर कचकच मात्र गर्नुहुँदैन । कम्प्युटरमा बस्ने बालबालिकाले खेल खेले पनि त्यसको सकारात्मक असर के पर्छ भने उसमा कम्प्युटरमा बस्ने बानी पर्छ र भविष्यमा उसले कम्प्युटरबाटै प्रगति गर्न सक्छ । कतिपय बालबालिका सानैदेखि गीत वा कविता भनेपछि हुरुक्कै हुन्छन् भने कसैको ध्यान नृत्यतर्फ जान्छ । उनीहरूलाई त्यस्ता काममा रोक लगाउनु मूर्खता हो । बरु बेलैमा उनीहरूको प्रतिभा चिनेर त्यहीअनुरूपको शिक्षामा ध्यान दिनुपर्छ । आजको जमाना नै प्राविधिक शिक्षाको हो । कोरा किताबी ज्ञानलाई मात्र आधार बनाएर कुनै व्यक्तिले ठूलो पद र राम्रो पैसा कमाउन सक्दैन । आफ्ना छोराछोरीहरू विशेष मानिस बनून्, नाम कमाऊन् र देशको प्रतिष्ठित व्यक्ति हून् भन्ने चाहने हो भने उनीहरूको शिक्षा र संस्कार उनीहरूको स्वभावअनुसार हुनुपर्छ भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । कुनै पनि बालबालिकाको स्वभावलाई परिवर्तन गर्ने प्रयास गर्नुभन्दा उसको स्वाभाविक स्वभावलाई चिनेर त्यसैअनुसारको शिक्षा दिने प्रयत्न गर्नुपर्छ ।

बालबालिकाको आत्मविश्वास

आत्मविश्वासले आत्मसम्मानलाई जन्म दिन्छ । श्रेष्ठतम जीवन बाँच्न आत्मसम्मानको ठूलो आवश्यकता हुन्छ अर्थात् आत्मविश्वासले नै राम्रो जीवन बाँच्ने आधार तयार गर्छ । आत्मसम्मान एकै दिनमा प्राप्त गरिने चीज होइन । यो बिस्तारै–बिस्तारै मानिसको मनभित्र पस्छ र प्रभाव जमाउन थाल्छ । त्यसैले बालबालिकाहरूलाई सुरुदेखि नै आत्मविश्वासी बनाउनुपर्छ ।

हरेक आमाबुबा आफ्ना छोराछोरीले विशेष नाम कमाऊन्, उच्च पदमा पुगून् भन्ने चाहन्छन् । त्यसका लागि उनीहरू अरूले जति पैसा खर्च गर्छन्, जुन विद्यालयमा पढाउँछन्, त्यति नै पैसा खर्च गरेर आफ्ना छोराछोरीहरूलाई त्यस्तै विद्यालयमा भर्ना गरिदिन्छन् ।

बालबालिकामा आत्मविश्वास बढाउने केही उपाय

–बालबालिकालाई आमाबुबाले धेरै माया गरेर बिगार्छन् । हरेक आमाबुबालाई आफ्ना छोराछोरीको माया लाग्छ । यद्यपि त्यो मायाले उनीहरूलाई कमजोर बनाउनुहुँदैन । सानैदेखि बालबालिकालाई बढी सुरक्षा दिने, कुनै पनि काम गर्न लाग्दा यो गर्नु हुँदैन, यो किन गरेको जस्ता शब्दले उनको मनमा मैले गर्न नहुने र गर्न नसक्ने धेरै कुरा रहेछन् भन्ने भ्रम पर्छ । उसको मनमा मैले गरेको काम राम्रो हुँदैन, मैले गर्नुहुँदैन भन्ने पर्नेबित्तिकै उसमा आत्मविश्वासको कमी हुँदै जान्छ ।

–बालबालिकाहरूमा सुरुदेखि नै कुनै पनि काम म आफैं गर्न सक्छु भन्ने विश्वास जगाउनुपर्छ । जस्तो सानामा उठ्न सिकाउने, बोल्न सिकाउने, हिँड्न सिकाउने आदि ।

–हरेक बालबालिकालाई उमेरअनुसार काम गर्न लगाउनुपर्छ र सफलतापूर्वक काम गरेवापत स्याबासी पनि दिनुपर्छ ।

–आफ्ना छोराछोरीहरूलाई अरूका छोराछोरीसँग तुलना गर्नुहुँदैन । अरूभन्दा राम्रो वा नराम्रो पनि भन्नुहुँदैन । सत्य के हो भने हरेक सन्तान भिन्न भएर जन्मिएका हुन्छन् । यो पृथ्वीमा ऊ भिन्नै किसिमको कामका लागि आएको हो भन्ने विश्वास गर्नुपर्छ । यस्तो सोच्नु नै उसलाई अघि बढाउने पहिलो उपाय हो ।

–घरमा आएका पाहुनाका अगाडि तैंले यो गर्नुपर्छ, यसो किन नगरेको ? जस्ता आलोचनात्मक शब्द प्रयोग गर्नुहुँदैन । उसलाई पनि आफूजस्तै परिवारको सदस्य मानेर व्यवहार गर्नुपर्छ । पाहुना भएको बेला उसले कुनै गल्ती गरे पनि पाहुना गएपछि त्यस्तो गर्नुहुँदैनथ्यो, अबदेखि यसो गर्नू है भनेर सम्झाउनुपर्छ ।

–बालबालिकासँग कुराकानी गर्दा आफू पनि ऊजस्तै केही जान्ने र केही नजान्ने भएर व्यवहार गर्नुपर्छ । यसो गर्दा उसलाई आफ्नो मनको कुरा भन्न गाह्रो हुँदैन । यसले मित्रता बढाउँछ । यसरी कुरा गर्दा जहिले पनि पढाइलाई नै बीचमा ल्याउनुहुँदैन । जतिबेला पनि पढाइको कुरा गर्दा आफूले उसलाई भन्दा पढाइ र राम्रो रिजल्टलाई महत्व दिएजस्तो हुन्छ । यसले मित्रतामा आघात पुर्‍याउँछ ।

–बालबालिकाहरू जिज्ञासु हुन्छन् । उनीहरूको जिज्ञासा सुन्ने र त्यसलाई निदान गर्ने प्रयास गर्नुपर्छ ।

–बालबालिकाबाट जस्तो व्यवहारको अपेक्षा गरिन्छ, उनीहरूसँग पनि त्यस्तै व्यवहार गर्नुपर्छ । भनाइ नै छ–बिरुवा जस्तो रोपिन्छ, फल पनि त्यस्तै फल्छ ।

बालबालिकाको संवेदनशीलता

बालबालिकाहरू संवेदनशील हुन्छन् । उनीहरूलाई कुन कुरा नराम्रो लाग्छ, ठूला मानिसहरूले अनुमान पनि लगाउन सक्दैनन् । यो उनीहरूको जन्मजात स्वभाव हो । ठूला मानिसको तुलनामा उनीहरू बढी संवेदनशील हुन्छन् । जो संवेदनशील हुन्छन्, उनीहरू जिद्दी हुन्छन् । उनीहरूलाई मैले गरेको कुरा, देखेको कुरा र बुझेको कुरा नै ठीक हो भन्ने भ्रम हुन्छ । आफ्ना बालबालिका कति संवेदनशील छन् भन्ने कुरा थाहा पाउन निम्न विधि प्रयोग गर्न सकिन्छ ।

–संवेदनशील बालबालिका सानो कुराप्रति पनि निकै आकर्षित हुन्छन् । बारम्बार त्यो कुराले उनीहरूको मनमा प्रश्न उब्जाउँछ । यदि छोराछोरी संवेदनशील छन् भने एउटै कुरामा बारम्बार प्रश्न गरिरहन्छन् र चित्तबुझ्दो जवाफ नआउँदासम्म व्यग्र पाइन्छन् ।

–संवेदनशील बालबालिकाहरू कुनै दु:खद् कथा सुनेर रुन थाल्छन् । उनीहरू कथाका पात्रको दु:खलाई पनि आफ्नै दु:ख मान्छन् ।

–चलचित्रका कुनै पात्रले कुटाइ खायो वा दु:ख पर्‍यो भने त्यसलाई सही मानेर दु:खी हुन्छन् र आफ्नो डरलाई अझ बढाउँदै लान्छन् ।

–संवेदनशील बालबालिकाहरू परिस्थितिअनुसार सुरक्षाको काम गर्छन् । उदाहरणका लागि कसैले भुइँचालो जान्छ भन्यो भने भुइँचालो जाँदा के–के सावधानी अपनाउने भनेर पहिले नै सचेत हुन्छन् । घर अलिकति हल्लियो भने पनि भुइँचालो गएको मानेर खाटमुनि लुक्न सक्छन् ।

खेलकुद र बालबालिकाको विकास

खेलकुद बालबालिकाको मानसिक तथा शारीरिक विकासको महत्त्वपूर्ण साधन बन्दै आएको छ । खेलले उनीहरूमा क्षमता विकास गर्छ । खेलले नै प्रतिस्पर्धाको भावनाको विकास गर्छ । कुनैबेला खेलकुदले बालबालिकाहरूलाई बिगार्छ भन्ने धारणा व्याप्त थियो । त्यसैले उनीहरूलाई खेलमा भन्दा पढाइमा ध्यान दिन आग्रह गरिन्थ्यो । आज खेलकुद पनि पढाइ जत्तिकै आवश्यक मानिन्छ । त्यसैले विद्यालयहरूले पनि पढाइलाई जत्तिकै खेलकुदलाई पनि ध्यान दिन थालेका छन् । तर आज पनि प्रतिस्पर्धात्मक खेललाई मात्र खेल मँन्ने धारणाले गर्दा घरमा खेलिने खेललाई अभिभावकहरू अनावश्यक मान्छन् । यद्यपि आसपास, चोर पुलिस, कपर्दी, चेसजस्ता शारीरिक एवं बौद्धिक दुवै किसिमका खेलले बालबालिकाको विकासमा मद्दत गर्छन् । यसले उनीहरूलाई अनावश्यक संवेदनशील हुनबाट जोगाउँछ, उनीहरूमा आत्मविश्वास बढाउँछ । खेलकुदले उनीहरूलाई स्वस्थ बनाउन मद्दत गर्छ । खेलले खेल सामग्री बटुल्ने बानीको विकास गर्छ । यो सोख पछि गएर पुरातात्विक, टिकट वा पुराना पैसा बटुल्ने बानीमा परिवर्तन हुन सक्छ । यी सबै बालबालिकामा हुने सकारात्मक गुण हुन् ।

 

 Image