Successfully Copied

संयोगले जुराएको जोडी

टेलिभिजनकर्मी नरेश भट्टराईको मोबाइलमा हरेक साँझ नारी आवाजले प्रश्न सोध्छ ।

‘आज के पकाउने ?’ 

टेलिभिजनकर्मी नरेश भट्टराईको मोबाइलमा हरेक साँझ नारी आवाजले प्रश्न सोध्छ । दिनहुँ आउने यो प्रश्नसँग उनी यति अभ्यस्त भैसकेका छन् कि, उत्तर मुखमै झुन्डिएको हुन्छ । जब राति नरेश घर पुग्छन्, स्वादिला परिकार तयार गरेर पर्खिरहेकी हुन्छिन्–श्रीमती मुना । 

मुनाको हातबाट पाक्ने खानाले नरेशको जिब्रोलाई लोभी बनाएको छ । बाहिर भोज खाएर आएपछि पनि उनलाई घरको खाना नखाई चित्त बुझ्दैन । नरेश भन्छन्–‘एक–दुई गास भए पनि घरको खाना खानैपर्छ ।’ 

विवाहअघि चलचित्रको रंगीन दुनियाँमा चम्कने क्रममा थिइन्–मुना । करिब सात वर्षअघि उनीहरूले प्रेम विवाह गरेका थिए । नरेशको दैनिकी अक्सर धपेडीमा बित्छ । बिहान उठ्नासाथ इमेज एफएममा कार्यक्रम प्रस्तुत गर्नु, दिउँसो तराई टेलिभिजनमा देखा पर्नु उनको नियमित दैनिकी हो । त्यसबाहेक राजधानीमा भैरहने सांगीतिक कार्यक्रम, क्यासेट विमोचनजस्ता कार्यक्रमले उनलाई बेफुर्सदिलो बनाउँछन् ।

यस्तै व्यस्तताबीच साँझ नरेश जब थकित ज्यान लिएर घर पुग्छन्, श्रीमती मुनाले स्नेहपूर्वक तातो र स्वादिलो खाना पस्कन्छिन् । घरको शान्त वातावरण र श्रीमतीको राम्रो व्यवहारले उनलाई कुनै थकान महसुस हुन दिँदैन । नरेश भन्छन्–‘घर पुगेपछि बेग्लै ताजगी अनुभव हुन्छ ।’ दुवै मसालेदार, स्वादिलो र चिल्लो खाना रुचाउँछन् । मनोरञ्जन गर्ने कुरामा पनि मतभिन्नता हुँदैन । घुम्न जाने, फिल्म हेर्ने कुरामा उनीहरूको रोजाइ एउटै हुन्छ । 

यद्यपि उनीहरूबीच केही ‘एन्टी नेचर’ पनि छ । नरेशलाई भान्साको काममा पटक्कै जाँगर चल्दैन तर मुना भने भान्सामै रमाउँछिन् । लुगा किन्ने, लुगा धुने कुरामा मुना उस्तो रुचि देखाउँदिनन् तर नरेश भने त्यस्ता काममा निकै अग्रसर हुन्छन् । नरेश गीत सुन्न र फिल्म हेर्न भनेपछि हुरुक्कै हुन्छन्, तर मुना त्यस्ता कुराको पर्वाह गर्दिनन् । नरेश आफ्नो करियरप्रति बढी सजग छन्, मुना घरपरिवारप्रति । 

नरेश आफूलाई चाहिने पहिरन आफै खरिद गर्छन् । जुत्ता पोलिस गर्ने तथा आफ्नो अन्डरगार्मेन्ट धुन मुनालाई दिँदैनन् । विपरीत चुम्बकीय ध्रुव आपसमा आकर्षित भएजस्तै श्रीमान्–श्रीमतीको यो ‘एन्टी नेचर’ ले उनीहरूको दाम्पत्यलाई थप पूर्णता दिएको छ । ‘मुनालाई जुन कुरामा अल्छी लाग्छ, त्यसमा मलाई जाँगर चल्छ’ नरेश भन्छन्–‘अनि, जुन कुरा मलाई पटक्कै गर्न आउँदैन, त्यसमा उनी पारंगत छिन् ।’ 

‘साह्रै सानो इस्युमा झगडा हुन्छ’ नरेश भन्छन्–‘अनि त्यो केही समयमै सेलाएर जान्छ ।’ नरेशले समय नदिएकोमा मुनाको गुनासो हुन्छ । नरेशलाई श्रीमतीले आफ्नो कार्यव्यस्तता बुझिदिए हुन्थ्यो भन्ने लाग्छ । पहिले–पहिले नरेशको फेसबुक, फोन आदिका कारण घरमा कलह हुन्थ्यो । 

यसरी श्रीमान्–श्रीमतीबीच ठाकठुक परेपछि दुवै बोल्दैनन् । कहिले जानाजानी नरेश घर ढिलो पुगिदिन्छन् भने कहिले मुना चुपचाप सुतिरहन्छिन् । ‘उनी रिसाएर मसँग बोल्दिनन्  नरेश भन्छन्–‘तर, मेरो लागि खाना पकाएर राखिदिएकी हुन्छिन् ।’ ‘घरमा श्रीमती रिसाएकी छिन् भने काम गर्ने जाँगर पनि चल्दैन’ नरेश भन्छन्–‘दिनभर मुडअफ हुन्छ । त्यसैले त नरेश घरबाट निस्कनुअघि श्रीमतीलाई खुसी तुल्याउन लागिपर्छन् । ‘जे गरेर हुन्छ, खुसी बनाएरै मात्र काममा जान्छु’ नरेश भन्छन् । पारिवारिक सम्बन्ध सुमधुर होस् भन्ने हेतुले नै नरेश समयमै घर पुगी घरमा पाकेको खानेकुरा खान्छन् । 

मुनाले नरेशका अगाडि कहिल्यै उनको प्रसंशा गर्दिनन् । उनको टेलिभिजन तथा एफएमको प्रस्तुतिमाथि भने टिप्पणी गरिरहन्छिन् । ‘सायद ममा थप निखार आओस् भनेर होला’ नरेश भन्छन्–‘मेरो कामको कहिल्यै प्रशंसा गर्दिनन् । वरु, यो भएन, त्यो भएन भनेर टिप्पणी गर्छिन् ।’ नरेशको बानी ठीक उल्टो छ । उनी चाहिँ श्रीमतीले पकाएको खानेकुरा खाँदैपिच्छे त्यसको प्रशंसा गर्छन् । कतिसम्म भने नरेशले श्रीमती मुनालाई समर्पित गरेर आधा दर्जनभन्दा बढी गीत लेखेका छन् । 

स्कुटरमा हुइँकिदै रेडियो नेपालमा अन्तर्वार्ता दिन गैरहेकी मुना र क्लासिक एफएममा कार्यक्रम सञ्चालन गरिरहेका नरेशबीच भएको फिल्मी शैलीको जम्काभेट सम्झेर अझै पनि उनीहरू रोमाञ्चित हुन्छन् ।

नरेशको नजरमा मुना

राम्रो बानी 

–परिवारप्रति समर्पित ।

–एकदमै स्वादिलो खाना बनाउने ।

नराम्रो बानी 

–झनक्क रिसाउने । 

–कतिपय अवस्थामा मेरो व्यस्तता नबुझ्ने । 

–रिसाएपछि मैले नै फकाउनुपर्ने । 

मुनाको नजरमा नरेश 

राम्रो बानी 

–इमान्दार र घरपरिवारलाई बुझ्ने । 

–आफ्नो करियरप्रति सचेत । 

नराम्रो बानी 

–घरका लागि समय मिलाउन नसक्ने । 

–बिहान ठीक समयमा उठे पनि कसरत गर्ने काममा अल्छी गर्ने । 

 Image