विजयादशमी धुमधामका साथ मनाइन्छ । यसलाई नारीशक्तिको पूजा हुने महान् पर्वका रूपमा लिइन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म यो पर्व मनाइन्छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजयका रूपमा यो पर्व मनाउन थालिएको हो । भगवान् रामले रावणलाई युद्धमा पराजय गरी विजय प्राप्त गरेकाले नै यो पर्वलाई विजयादशमी भनिएको हो । त्यस्तै, देवीभागवतमा उल्लेख भएअनुसार दुर्गामाताले शुम्भ–निशुम्भलगायतका असुरमाथि विजय प्राप्त गरेका कारणले यो पर्व शक्ति उपासनाका रूपमा मनाउँदै आइएको भन्न सकिन्छ ।
विजयादशमीको पहिलो दिनलाई घटस्थापना भनिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मका नौ दिनलाई नवरात्र भनिन्छ । यस अवसरमा विभिन्न देवीका मठमन्दिरमा पूजा गर्न भक्तजनको घुइँचो लाग्छ । यो अवधिमा पूजा गरिने देवीलाई नवदुर्गा भनिन्छ । नवरात्रमा नवदुर्गाका आ–आफ्नै विशेषता रहेका छन् । यो अवधिमा दुर्गाका विविध स्वरूपको पूजा हुन्छ । ती हुन्–शैलपुत्री, ब्र≈मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री । नौ दिन भगवती दुर्गाका स्वरूपको आराधना गर्दै यो नवरात्र पर्व मनाइन्छ । यस अवसरमा देवी दक्षिणकाली, भद्रकाली, नरदेवी, शोभा भगवती, गुह्येश्वरी, पलाञ्चोक भगवती, छिन्नमस्ता, सखडामाई, गढीमाई, मनकामना, भैरवीलगायत मुलुकका थुप्रै शक्तिपीठमा पूजा गर्न मानिसको बाक्लै उपस्थिति देखिन्छ ।
त्यस्तै यस पर्वका अवसरमा विभिन्न शक्तिपीठमा वर्षको एक दिन मात्र मेला लाग्छ । त्यसरी वर्षमा एक दिनमात्र मेला लाग्ने मन्दिरमध्येको एक हो काठमाडौं हनुमान ढोकास्थित तलेजु भवानी मन्दिर । जुन मन्दिर विश्व सम्पदा सूचीमा समावेश छ । यसलाई अति आकर्षक र प्राचीन मन्दिरमध्ये एक मानिन्छ । तुलजा भवानीको मन्दिरमा वर्षको एकदिन अर्थात् दसैंको नवमीको दिनमात्र सर्वसाधारण भक्तजनहरूका लागि खुल्ला गरिन्छ । नवमीका दिन यहाँ तुलजा भवानीको पूजा र दर्शन गर्न टाढाटाढाबाट थुप्रै मानिस आउँछन् ।
तुलजा भवानीलाई मातृशक्तिका रूपमा परम्परादेखि पूजा गर्दै आएको पाइन्छ । तुलजा भवानीलाई पूजा गर्ने परम्परा मल्लकालदेखि नै भएको तथ्य इतिहासमा पाइन्छ । प्रायः नेवारी सम्प्रदायले तुलजा भवानीलाई इष्टदेवीका रूपमा पूजा गर्ने गरेको पाइन्छ । तुलजालाई तलेजु, तलेजी, तुर्जा आदि नामले पूजा गरिन्छ । तुलजा भवानीको पूजा परम्परा स्वदेशमा मात्र नभएर विदेशमा समेत रहेको छ । काठमाडौं उपत्यकाका भक्तपुर, ललितपुर, कीर्तिपुर, साँखु, फर्पिङ, चापागाउँ, ठिमीबाहेक नाला, बनेपा, पनौती, दोलखा आदि सहरमा तुलजा भवानीका मन्दिर छन् । त्यसका अलावा भारतको हैदरावादको तुलजापुर र तिब्बतको भाखौरमा पनि तुलजा भवानीको मन्दिर छ ।
नेपालमा तुलजा भवानीलाई प्रवेश गराउने कर्नाटवंशी राजा हरिहरसिंह देव हुन् । उनी सिम्रौनगढका राजा थिए । त्यतिबेला अर्थात् सन् १३२५ मा भारतीय मुसलमान शासक गयासुद्दीनले सिम्रौनगढमाथि आक्रमण गर्दा हरिहरसिंह तुलजा भवानीलाई लिएर भक्तपुर आइपुगेका थिए । भक्तपुरमा तुलजा भवानीको मन्दिर स्थापना गरेपछि काठमाडौ र ललितपुरमा पनि मन्दिर स्थापना गर्ने क्रम बढ्दै गयो । काठमाडौंमा तुलजा भवानीको मन्दिर स्थापना गर्ने राजा रत्न मल्ल हुन् । प्रारम्भमा मल्ल राजाले तुलजा भवानीलाई कुलदेवीका रूपमा पूजा गर्ने गरेको पाइन्छ । नेपाल एकीकरणपछि शाहवंशका राजाहरूले पनि तुलजा भवानीलाई इष्टदेवीका रूपमा पूजा गर्न थाले ।
काठमाडौंमा तलेजु मन्दिरमा पर्व विशेष, दैनिक र वार्षिक गरी तीन प्रकारले परम्परागत पूजा गरिन्छ । यी सबै पूजागुठी संस्थानबाट नै सञ्चालित हुन्छन् । बडादसैंको अष्टमी र नवमीका दिन तुलजा भवानीको भव्य रूपमा पूजा गरिन्छ । यस अवसरमा तलेजु भवानीलाई बली चढाएर कालरात्रि पूजा गरिन्छ । अनि सर्वसाधारण भक्तजनलाई पूजाका लागि नवमीका दिन एक दिनमात्र सार्वजनिक रूफमा खुल्ला गरिन्छ ।