Successfully Copied

स्वस्थ मिर्गौलाका लागि

अहिले धेरै मानिस मिर्गौलासम्बन्धी समस्याबाट ग्रस्त छन् । स्वस्थ जीवनशैली तथा खानपान अपनाए यसबाट सजिलै जोगिन सकिन्छ ।

अहिले धेरै मानिस मिर्गौलासम्बन्धी समस्याबाट ग्रस्त छन् । स्वस्थ जीवनशैली तथा खानपान अपनाए यसबाट सजिलै जोगिन सकिन्छ । हाम्रो शरीरलाई स्वस्थ तथा सक्रिय बनाउन मिर्गौलाले फिल्टरको काम गरी रगत सफा गर्छ तसर्थ यसलाई स्वस्थ राख्नु आवश्यक छ । 

मिर्गौलाको काम 

पाचन क्रियाका दौरान हाम्रो खानाबाट निस्कने सूक्ष्म खराब तत्व मिर्गौलामा जम्मा हुन्छ र पिसाबको माध्यमबाट शरीर बाहिर निस्कन्छ । मिर्गौलाले रातो रक्तकोशिका निर्माण गर्नुका साथै रगत सफा राख्न सहयोग गर्छ । यसले भिटामिन डी निर्माण गर्नुका अतिरिक्त हड्डी बलियो बनाउने काम पनि गर्छ । अहिलेको व्यस्त जीवनशैलीमा खानपिनसम्बन्धी अनुशासन कायम हुन सक्दैन । फलस्वरूप मिर्गौला रोगीको संख्या वृद्धि हुँदै गएको छ । स्वस्थ जीवनशैली अपनाएर मिर्गौलासम्बन्धी समस्याबाट जोगिन सकिन्छ । 

पानी प्रशस्त मात्रामा पिउनुपर्छ 

मिर्गौलालाई स्वस्थ राख्न पर्याप्त मात्रामा पानी पिउनुपर्छ । स्वस्थ मानिसले दिनभरमा चार लिटर पानी पिउनुपर्छ । पानीले शरीरमा भएको खराब तत्व पिसाबको माध्यमबाट बाहिर निकाल्छ भने पाचन तन्त्रको कार्यप्रणाली पनि दुरुस्त राख्छ । यसले कब्जियतको समस्या पनि हुन दिँदैन । पानीले शरीरमा रक्त प्रवाहलाई ठीक राख्दै रगतलाई गाढा हुनबाट रोक्छ । प्रशस्त पानी पिउँदा रक्तचापको मात्रा पनि सन्तुलित हुन्छ । 

सन्तुलित आहार 

खानामा चिनी तथा नुनको मात्रा आवश्यकभन्दा बढी हुँदा मिर्गौलामा क्षति पुग्छ । यी दुवै चीज बढी प्रयोग गर्दा मिर्गौलाको कार्यक्षमता ह्रास हुन्छ । त्यसैले मिठाईं, चकलेट, केक, पेस्ट्री, अचार, पापडजस्ता चीजको सेवन सीमित मात्रामा गर्नुपर्छ । यी खानेकुरामा नुन तथा चिनीको मात्रा बढी हुन्छ । त्यसका अतिरिक्त माछा, मासु, च्याउ तथा दालको सेवन पनि सन्तुलित मात्रामा गर्नुपर्छ । यस्ता खानेकुरामा प्रोटिनको मात्रा बढी हुन्छ । प्रोटिन शरीरका लागि आवश्यक त छ तर यसको मात्रा धेरै भए युरिक एसिडको समस्या उत्पन्न हुनसक्छ । यसैगरी दूधबाट बनेका खानेकुराको सेवनले हड्डी बलियो बनाउँछ तर यसको बढी सेवनले पत्थरी हुनसक्छ । त्यसैले यस्ता समस्याबाट जोगिन सन्तुलित खाना खानुपर्छ । क्याल्सियम तथा प्रोटिनयुक्त चीज खानुपर्छ तर त्यसको प्रयोग बढी मात्रामा गर्नुहुँदैन । विभिन्न फलफूल तथा सागपात पनि आफ्नो खानामा समावेश गर्नुपर्छ । यसमा भएको एन्टिअक्सिडेन्टले मिर्गौलाको संक्रमणबाट जोगाउँछ । त्यसका अतिरिक्त धूम्रपान तथा मद्यपानबाट अलग रहनुपर्छ किनभने यसले कलेजोका साथै मिर्गौलालाई पनि नोक्सान पुर्‍याउँछ । खानपानसम्बन्धी स्वस्थ बानी बसाउन सके मिर्गौलासम्बन्धी रोगले कहिल्यै दु:ख दिँदैन । 

बक्समा   

कतिपयको मिर्गौलाले सही ढंगले काम गरे–नगरेको कुरा केही कुरामा निर्भर रहन्छ ।

–कुनै पनि औषधि सेवन नगरेका सामान्य स्वस्थ मानिसको पिसाब रंगहीन हुनुपर्छ ।

–दिनहुँ चार लिटर पानी पिउनुपर्छ । सामान्य स्वस्थ मानिसबाट हरेक तीन घन्टाको फरकमा पिसाब बाहिर निस्कनुपर्छ ।

–रोकिँदै, थोरै पिसाब आएको तथा पटक–पटक पिसाब आएको वा पोलेको तथा खुट्टा सुन्निएको अवस्थामा मिर्गौला खराब भएको हुनसक्छ । 

–मधुमेह तथा उच्च रक्तचापको समस्या भए चिनी तथा नुनको सेवन ठिक्क मात्रामा गर्नुपर्छ  । वर्षमा एकपटक किड्नी फङ्सन टेस्ट गराउनुपर्छ ।  

 

 Image