Successfully Copied

कार्यस्थलमा भेदभाव

कानुनले महिला–पुरुषलाई समान अधिकार प्रत्याभूत गर्न खोजे पनि व्यवहारमा भने त्यस्तो देखिँदैन । महिला–पुरुष समान गतिमा अघि बढिरहेको अवस्थामा कार्यक्षेत्र वा स्थलमा महिलाप्रति गरिने व्यवहार फरक पाइन्छ ।

कानुनले महिला–पुरुषलाई समान अधिकार प्रत्याभूत गर्न खोजे पनि व्यवहारमा भने त्यस्तो देखिँदैन । महिला–पुरुष समान गतिमा अघि बढिरहेको अवस्थामा कार्यक्षेत्र वा स्थलमा महिलाप्रति गरिने व्यवहार फरक पाइन्छ । महिला भएकै कारण कार्यस्थलमा गरिने विविध भेदभावपूर्ण व्यवहार वा क्रियाकलापलाई कार्यस्थलमा हिंसाको संज्ञा दिइएको छ । आफ्नो काम र करियरप्रति महिलाहरू पनि गम्भीर हुँदै गएको अवस्थामा कार्यस्थलमा महिलाप्रति हुने फरक व्यवहारले उनीहरूको उन्नति एवं प्रगतिमा मात्र होइन मानसिक तथा वैयक्तिक जीवनमै असर पार्ने अन्तरंग साइकोसोसियल काउन्सिलिङ सेन्टरकी मनोविज्ञ सुनिता श्रेष्ठ बताउँछिन् । श्रेष्ठका अनुसार आफू महिला भएकै कारण जिम्मेवारी तथा आम्दानीमा गरिने भेदभावका कारण कतिपय महिला डिप्रेसनको सिकार भएका छन् । कतिपय अवस्थामा कमजोर परफरमेन्सका कारण अफिसबाटै अवकाश लिनुपर्ने अवस्था आएको छ । श्रेष्ठ भन्छिन्–हामीकहाँ आउने अधिकांश मुद्दा कामकाजी महिलामा केन्द्रित छन् । जसमा बराबर काम गर्दा पनि कम तलब पाएको, महिला भनेर काममा भेदभाव गरिएको, बढुवा एवं सम्मान आदिमा पनि भेदभाव गरिएकाजस्ता समस्या छन् । 

विशेष गरी सरकारी निकायमा यस्ता समस्या बढी देखिएको एक अध्ययनले देखाएको छ । कार्यस्थलमा महिला पत्रकारका विषयमा सञ्चारिका समूहले गरेको एक अध्ययनले महिला भएकै कारण फितला विषयमा मात्र रिपोर्टिङको जिम्मा लगाइने तथा महिलालाई अर्थ, राजनीतिबाहेक महिलाकै बिट मात्र दिने गरिएको देखाएको थियो । निजी बैंकमा कार्यरत प्रीति भन्छिन्–प्रकृतिले नै महिलालाई केही अतिरिक्त जिम्मेवारी दिएको छ । महिनावारी, गर्भावस्था, सुत्केरीजस्ता कुरा महिलामा मात्र हुने कुरा हुन् जसका कारण महिलाको व्यावसायिक जीवनको रफ्तारमा ब्रेक त लाग्छ नै ती कुराले महिलाको शारीरिक अवस्थामा पनि केही परिवर्तन ल्याउँछन् तसर्थ यस्ता कुरालाई चाहेर पनि रोक्न सकिँदैन र पनि अन्य कारण छन् जसले हाम्रो करियरमा फरक ल्याउन सक्छन् । 

प्रीतिका अनुसार कार्यस्थलमा भेदभाव हुँदैन भन्ने होइन । कतिपय अवस्थामा महिला भएकै कारण त्यस्ता भेदभावको सामना गर्नुपर्ने अवस्था आउन सक्छ तर कतिपय अवस्थामा महिला स्वयंले पनि थप र गह्रौं जिम्मेवारी लिने आँट गर्दैनन् । जस्तो कि नाइट ड्युटी एवं अन्य भारी कामका लागि सकेसम्म पुरुषलाई नै लगाइदिएहुन्थ्यो जस्तो गर्छन् । आफ्नो स्वास्थ्य तथा प्रतिकूल अवस्थाका कारण महिलाहरू सकेसम्म सहज र आफ्ना लागि उपयुक्त काम नै रोज्छन् । यसको अर्को कारण महिलाहरू घरेलु कामसँग जोडिनु पनि हो ।

सामाजिक कार्यकर्ता डोल्मा घिसिङ भन्छिन्–समाज जति नै आधुनिकतातर्फ बढ्दै गए पनि हाम्रा पुराना मूल्य–मान्यता यथावत् छन् जसले महिलालाई घरबाहिर भन्दा पनि घरभित्रै सक्रिय रहन दबाब दिन्छ । घरपरिवारको स्याहार–सम्भार, बालबच्चाको लालनपालन, श्रीमान्को सेवालाई हाम्रो धर्मले पनि उच्चस्थान दिएको छ । त्यसैले पनि महिलाहरू बाहिरी काममा दृढ भएर लाग्न सक्दैनन् । यस्तै कारणले महिलाले कार्यक्षेत्रमा शतप्रतिशत समय र सामथ्र्य लगाउन सक्दैनन् । कार्यक्षेत्रमा भेदभाव हुने अदृश्य कारणमध्ये यो पनि एक हो । 

कन्सल्ट्यान्ट विशाल भण्डारी भने यो कुरामा शतप्रतिशत सहमत हुन नसकिने बताउँछन् । उनको अनुभवमा आफूसँगै काम गर्ने कतिपय महिला आफूभन्दा अब्बल र आफूलाई उछिन्दै अघि बढिरहेका छन् । प्रतिभाशाली मानिसलाई कसैले पछाडि पार्न वा भेदभाव गर्न सक्दैन, गरिहाले पनि उनीहरू प्रतिकारमा उत्रने क्षमता राख्छन् । महिलाको प्राकृतिक अवस्थासँग सहमत भण्डारी त्यसकै कारण कार्यस्थलमा भेदभाव हुने स्थिति सिर्जना हुन्छ भन्ने कुरामा सहमत छैनन्, बरु उनी महिलालाई हेर्ने दृष्टिकोण बदल्न आग्रह गर्छन् । 

 Image