Successfully Copied

नीति शाह

हुने बिरुवाको चिल्लो पात भनेझैं अहिलेकी व्यस्त र्‍याम्प मोडल नीति शाह सानैदेखि मोडलिङ तथा मिडियातर्फ आकर्षित थिइन् ।

हुने बिरुवाको चिल्लो पात भनेझैं अहिलेकी व्यस्त र्‍याम्प मोडल नीति शाह सानैदेखि मोडलिङ तथा मिडियातर्फ आकर्षित थिइन् । त्यतिबेलादेखि मिस नेपाल, मिस वल्र्ड आदि चासो दिएर हेर्ने नीतिले शीताष्मा चन्दले मिस नेपालको ताज जितेपछि आफूमा पनि मिस नेपाल बन्ने चाहना बढेको बताइन् । २० वर्षीया नीति अहिले सेन्ट जेभियर्समा पत्रकारितामा स्नातक तह अध्ययनरत छिन् । स्नातक पूरा गरेपछि मात्र मिस नेपालमा सहभागी हुने उनको योजना छ ।

११ कक्षा अध्ययनरत छँदै मोडलिङ सुरु गरेकी नीतिले १६ वर्षकै उमेरमा फोटोसुट गराइन् । विभिन्न पत्रपत्रिकाको कभर गर्ल बनिसकेकी नीतिलाई नेपालकै सुन्दर महिलाहरूको सूचीमा राख्न थालिएको छ । २०१३ मा हाउस अफ फेसनमा रनरअप भएपछि उनी र्‍याम्पमा देखिन थालेकी हुन् । फेस अफ आरबी डाइमण्ड नीतिलाई म्युजिक भिडियोमा भने पटक्कै रुचि छैन तर राम्रो चलचित्रको प्रस्ताव आए नाइँ नभन्ने सोच छ । फुर्सदमा नाच्न रुचाउने नीति राम्रो साल्सा डान्स गर्छिन् । नृत्यका साथै उनलाई भ्रमण तथा सामाजिक कार्यमा समेत रुचि छ । भूकम्पपछि उनी साथीहरूसँग मिलेर सहायता नेपाल नामक संस्थामार्फत धेरै ठाउँमा सहयोगका लागि पुगेकी थिइन् ।

नीतिका बुवा अवकाश प्राप्त सैनिक हुन् भने आमा शिक्षिका  । एक्ली छोरी नीतिलाई बाल्यकालदेखि नै आमाबुवाबाट कुनै पनि कुरामा रोकटोक भएन । उनका हरेक इच्छा तथा निर्णयमा अभिभावकको साथ रह्यो । सकारात्मक सोच राख्ने हरेक व्यक्ति नीतिका आदर्श हुन् । नीति माल्भिका सुब्बा तथा मिस वल्र्ड–२०१३ मिरगन योडबाट प्रभावित छिन् ।

पहिरन : फेसन ट्रेन्डमा जे छ त्यो फलो त गर्छु तर आफूलाई सजिलो लाग्ने पहिरन नै बढी लगाउँछु । कुर्ती मन पर्छ । कतै जाँदा ठाउँ, समय हेरेर पहिरन छान्छु । मलाई अन्टी गुरुङ, उमा नेमकुल एवं शुभेच्छा भँडेलका पहिरन मन पर्छन् ।

फिटनेसका लागि : पहिले जुम्बा जान्थें तर अहिले घरमै व्यायाम तथा डान्स गर्छु । म स्वस्थकर खाना एवं फलफूलमा जोड दिन्छु ।

मेकअप : हल्का मेकअप गर्छु । आइलाइनर, क्रिम र लिपग्लस लगाउँछु । मलाई सुमन लामाको मेकअप मन पर्छ ।

सपिङ : सपिङ त निकै मन पर्छ । हरेक दिनजस्तो केही न केही किनिरहेकै हुन्छु । त्यसमा पनि लुगा नै बढी किन्छु । पुस्तकमा पनि मेरो पैसा खर्च भैरहेको हुन्छ ।

पुस्तक : म धेरैजसो अटोबायोग्राफी पढ्छु । फुर्सदमा र राति सुत्नुअघि पढ्ने बानी छ ।

घुम्न : बाली, स्वीट्जरल्यान्ड तथा स्वदेशको पोखरा र सौराहा मन पर्छन् । 

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

पहिरन : उमा नेमकुल, काब्य बुटिक, पाटनढोका

मेकअप तथा हेयर : ओसा मूल्मी तथा ओकासा मूल्मी, गर्लज् ब्युटि पार्लर, न्यूरोड

लोकेशन : बावर्ची रेस्टुरेन्ट, बबरमहल रिभिजिटेड

 Image