अनुभव

लक्ष्मी भण्डारी थापा

आश्विन २२, २०७२

वसुना कार्की, ब्युटी एक्सपर्ट 

दसैंको छुट्टी हुनेबित्तिकै वसुनालाई हाडे ओखर खाने इच्छाले सताउँथ्यो । बिहान झिसमिसेदेखि अँध्यारो नभएसम्म पाँच रुपैंयाँका सय दाना पर्ने ओखरमै भुल्थे उनी र उनका दाजुभाइ–दिदीबहिनीहरू । दोलखाको सुरी–३ मा जन्मिएकी केसीको बाल्यकाल सिंगटी बजारमा बित्यो । तत्कालीन गा.वि.स. सचिव स्व.रामबहादुर कार्की तथा जनस्वास्थ्य स्वयंसेविका रामकली गुरुङ कार्कीका ३ सन्तानमध्ये जेठी वसुना बाल्यकालका प्राय: दसैं मामाघरमै बितेको बताउँछिन् । पाँच–दस रुपैंयाँ दक्षिणा पाइने उतिबेला टीका लगाएर जम्मा भएको सबै पैसा उनी मामाघरकी हजुरआमालाई राख्न दिन्थिन् अनि दिनमा सयौं पटक गन्न लगाउँथिन् । भाइबहिनीको दक्षिणा उनको भन्दा बढी भए रुने, झगडा गर्ने काममा पनि उनी उत्तिकै अग्रसर हुन्थिन् । छेमाका छोराछोरीहरूसँग बाल्यकालको दसैं रमणीय हिसाबले बितेको बताउने वसुना मामाघर गुरुङ जातिका भएकाले अष्टमीका दिन भेंडा काटेको कुरा सम्झँदै भन्छिन्–‘केटाकेटी भएकाले मासुका विभिन्न परिकार खान पाइन्छ भनेर रमाइलो लागे पनि बिस्तारै बलिप्रथा मन पर्न छाड्यो । म बुझ्ने भएदेखि घरमा बलि दिएकी छैन । अष्टमीका दिन बलिस्वरूप नरिवल फोड्छौं ।’ 

बाल्यकालमा उनीहरू गाउँमै भए पनि आधुनिक डिजाइनका फ्रक, चोली, घाँघर लगाउँथे । मामा र सानीमाका छोराछोरीसहित उनको मामाघरमा केटाकेटीको ठूलो समूह थियो । उनीहरू गोटी अनि लंगुरबुर्जा खेल्न भीडमा ठेलमठेल गर्दै अघि सर्थे । उहिलेदेखि उनको घरमा हजुरआमाले नवरथाका नवै दिन दुर्गा पूजा गर्नुहुन्थ्यो । त्यसैले अहिले पनि उनको घरमा नवदुर्गाका नवै दिन ब्राह्मण आउँछन्, नित्य पूजा हुन्छ । करिब डेढ दर्जन स्टाफलाई दसैं भाग छुट्याउनुपर्ने, छोरीको माग पूरा गरिदिनुपर्ने अनि भाइबहिनी र आमाको इच्छा बुझिदिनुपर्ने भएकाले पछिल्ला दसैं उनका लागि जिम्मेवारीपूर्ण छन् । दसैंका दस दिन उनी पाहुनालाई आफ्नै हातले पकाएर ख्वाउँछिन् । 

बुवाका ६ वटी दिदीबहिनी आमाको हातबाट टीका थाप्न आउने भएकाले उनीहरूको दसैं भव्य हुन्छ । दक्षिणाका लागि समान रकम राखिएका ३ सय खाम वसुना आफैं तयार पार्छिन् । नौरथामा शक्तिपीठ घुम्नु र महलिाशक्तिस्वरूपा दुर्गा भवानीको पूजा गर्नु उनका लागि महत्वपूर्ण कुरा हो भने पारिवारिक जमघट, मान्यजनबाट टीका एवं आशीर्वाद ग्रहण वसुनाका लागि दसैंका सकारात्मक पक्ष हुन् । जान नपाएका स्थानमा पुग्ने र भेट्न नपाएका आफन्त भेट्ने यो अवसर अत्यन्त सुन्दर छ । आफ्ना लागि दसैं विशेष हुनुको कारण बताउँदै वसुनाले भनिन्–मामाघरका ८४ वर्षीय हजुरबुवा अझै हुनुहुन्छ । उहाँसँग टीका थाप्न पाउनु मेरा लागि सबैभन्दा प्रमुख र सुखद् कुरा हो । मामाघर गुरुङ भए पनि परिवारमा राई, नेवार, ठकुरी, क्षेत्रीलगायतका जातजाति मिश्रित भएकाले समावेशी हिसाबले चाडपर्व मनाइने वसुना बताउँछिन् । यो अवसरमा भागदौडबाट केही फुर्सद हुने भएकाले छोरीलाई बाहिर घुमाउन लाने समय पनि मिलाउँछिन् । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>