Successfully Copied

कविता आले, गायिका तथा कलाकार

गायिका तथा कलाकार कविता आलेकाे दसैं अनुभव

इलाममा जन्मिएकी कविता आले मोरङको राजघाटमा हुर्किएकी हुन् । उनी बाल्यकालमा असार–साउनमा धान रोपिसकेपछि साँझ भ्यागुताहरू कराएको अनि सूर्य अस्ताउने बेलाको पहेंलो घाम देखेपछि आजको दिन बित्यो, भोलि हुँदै दसैं आउन लाग्यो भनेर दिन गनेको कुरा अझै सम्झिन्छिन् । अहिले पनि भदौदेखि नै झ्याउँकीरी, भ्यागुता तथा दसैं किराहरू कराउन थालेपछि उनलाई दसैं नजिकिन थालेको अनुभव हुन्छ । फूलपातीअघि नै गाईवस्तुलाई ६–७ दिनसम्म पुग्ने घाँसपात जम्मा गरेपछि  दसैं सुरु भैहाल्थ्यो । त्यसपछि कविता पिङ खेल्न र मठ–मन्दिर जान व्यस्त हुन्थिन् । कवितालाई अहिले पनि दसैं आउन थोलेपछि आफ्नो बालापन पुन: फर्किए हुन्थ्यो भन्ने लाग्छ । 

१७ वर्ष अघिदेखि कवितालाई दसैं पीडाजस्तो लाग्न थाल्यो । २०५६ सालको दसैंको टीकाकै दिन उनका श्रीमान्को दुर्घटना भएको थियो । त्यसको ८ दिनपछि कवितालाई ४ जना बालबच्चाको जिम्मा लगाएर श्रीमान् परलोक गए । त्यसपछिका वर्षहरूमा उनलाई टीकाको दिन निकै पीडा हुन्थ्यो तैपनि उनी आफ्नो पीडा कसैलाई देखाउँदैनथिन् । अहिले उनका दुई छोरा राजु र क्रान्ति विदेशमा छन् । दुवैले उनलाई दसंैमा विदेश बोलाउँछन् । गत वर्षको दसैं कविताले क्रान्तिसँग बेलायतमा मनाइन् । 

कविता दसैंलाई परदेश गएकाहरू घर फर्केर आउने, आफन्त भेट्ने तथा शक्ति प्राप्तिका लागि मानिने चाडका रूपमा लिन्छिन् । उनलाई अहिले मेरै धर्म ठूलो, मेरै चाड ठूलो भन्ने विकृति बढेको अनुभव पनि भैरहेको छ । आलेका अनुसार आफ्नो जन्मभूमिमा मानिने जुनसुकै धर्मलाई सम्मानपूर्वक हेरिनुपर्छ । कविताको परिवारमा जमरा राखेर, टीका लगाई, बच्चाहरूलाई सगुन दिएर दसैं मनाउने चलन थियो । सगुनमा सबैलाई दुई–दुई थोपा रक्सी राखिदिने चलन पहिलेदेखि नै छ । मीठा–मीठा परिकार खाँदै सबै जना सँगै बसेर रमाउने पर्व भएकाले कवितालाई दसैं निकै मन पर्छ । कविता रातो अक्षताको टीका निधारभरि लगाएर दसैं मनाउँछिन् । 

 

 Image