Successfully Copied

आफ्नै मूल्यांकन

आत्ममूल्यांकन वा सेल्फ अप्रेजल प्रक्रियाले पर्फमेन्समा विशेष भूमिका निर्वाह गर्छ। त्यसैले यसलाई वर्षभरको कामको लेखाजोखा पनि भनिन्छ।

आत्ममूल्यांकन वा सेल्फ अप्रेजल प्रक्रियाले पर्फमेन्समा विशेष भूमिका निर्वाह गर्छ। त्यसैले यसलाई वर्षभरको कामको लेखाजोखा पनि भनिन्छ। तर सावधानी अपनाउनु अत्यन्त जरुरी छ । सावधानी र सजगताले सफलता प्रदान गर्ने कुरा निर्विवाद छ।

वर्षभरिको कार्यलाई एउटा फारममा समेट्ने प्रविधि त्यति सजिलो पनि छैन । कर्पोरेट हाउसेजमा काम गर्नेहरूले यो प्रविधिबाट वर्षमा एकपटक अनिवार्य गुज्रनुपर्ने हुन्छ । आत्ममूल्यांकनको प्रक्रिया हरेक कर्मचारीको पर्फमेन्स अप्रेजलको प्रमुख हिस्सा हुन्छ । त्यसैमा उसको आगामी दिनको तलब र पद तथा जिम्मेवारी निर्भर हुन्छ । व्यक्तिले अरूको कामको विश्लेषण सहज रूपले गर्छ तर आफू स्वयंका बारेमा ऊ सोच्न बाध्य हुन्छ । आफ्नो प्रशंसा स्वयं गर्नु मपाईंत्व हुन्छ र स्वयंका लागि गरिएको कार्यको श्रेय नलिनु पनि प्रगतिको बाधक हुनसक्छ । विज्ञहरूका अनुसार सेल्फ अप्रेजल तरबारको धारमा हिँड्नु सरह हुन्छ । त्यसैले यसमा सन्तुलन कायम राख्नु अत्यन्त जरुरी छ । सेल्फ अप्रेजलका बेला केही कुरामा भने विशेष ध्यान दिनुपर्छ।

इमान्दार रहनुपर्छ : आफ्ना उपलब्धि उल्लेख गर्दा आफू इमानदार रहनु महत्त्वपूर्ण हुन्छ । यदि कुनै उपलब्धि टिमवर्कको नतिजा हो भने त्यसमा टिमका अन्य सदस्यको महत्त्वलाई बेवास्ता गर्नुहुँदैन । विशेषज्ञहरूका अनुसार आफ्नो क्षमतालाई बढाएर विशेष रूपमा प्रस्तुत गर्ने र आफ्नो कमजोरीलाई लुकाउने काम पनि गर्नुहँुदैन । सेल्फ अप्रेजल फारममा भरसक आफ्नै धारणा राख्नुपर्छ । यस्तो फारममा अरू कसैका बारेमा राय व्यक्त गर्नु हुँदैन।

पूर्ण तयारी राख्नुपर्छ : आमरूपमा सेल्फ अप्रेजलको समय निर्धारित हुन्छ । यदि आफ्नो सेल्फ अप्रेजलको मिटिङ कहिले हुन्छ भन्ने थाहा छ भने समयमै आफ्नो तयारी गर्नुपर्छ । वर्षभरिका आफ्ना उपलब्धिहरूको एउटा सूची बनाउनुपर्छ, जसले गर्दा त्यसलाई सम्झन सकिन्छ । यदि अफिसमा यो प्रक्रिया कुनै मिटिङमा हुन्छ भने स्वयं सबैभन्दा ठूलो हतियार हुने कुरालाई बिर्सनुहुँदैन।

तौलेर कुरा गर्नुपर्छ : सेल्फ अप्रेजलका बेला शब्दहरूको सही प्रयोग गर्नुपर्छ। आफ्ना उपलब्धिहरूलाई उल्लेख गर्दा प्रयोग गरिने शब्दले आफ्नो उपलब्धिलाई हल्का रूपमा प्रस्तुत नगरोस् भन्ने कुरामा सचेत रहनुपर्छ । कम र सटिक शब्दमा आफ्ना कुरा राख्नुपर्छ।

सकारात्मक रहनुपर्छ : सेल्फ अप्रेजलको प्रक्रियालाई कुनै साधारण कामका रूपमा लिने गल्ती गर्नुहुँदैन । आफूले लेखेका हरेक शब्द फाइलमा उल्लेख गरिएको हुन्छ । यो प्रक्रियामा पूर्णरूपमा सकारात्मक हुनुपर्छ । आफ्नो असफलताका सम्बन्धमा आफ्नो धारणा व्यक्त गर्न संकोच गर्नुहुँदैन । यदि आफ्नो गल्तीका कारण असफलता हात परेको छ भने त्यो गल्तीलाई भविष्यमा नदोहोर्‍याउने आश्वासन दिनुपर्छ । सेल्फ अप्रेजल गुनासो फारम होइन । कुनै पनि कुरा वा व्यक्तिप्रति नकारात्मक प्रवृत्तिबाट जोगिनुपर्छ।

भविष्यका सम्बन्धमा प्रकाश पार्नुपर्छ : आफ्नो सफलता र असफलताका अतिरिक्त भविष्यका योजनाका विषयमा पनि कुरा गर्नुपर्छ । सेल्फ अप्रेजलमा भविष्यमा आफूले आफ्नो संस्थाका लागि के–कस्तो गर्ने चाहना राखिएको छ ? आफ्नो संस्थाको प्रगतिमा आफ्नो क्षमतालाई कुन रूपमा प्रयोग गर्ने हो स्पष्ट हुनुपर्छ । आफ्नो अल्पकालीन र दीर्घकालीन लक्ष्यका सम्बन्धमा पनि आफ्नो धारणा व्यक्त गर्नुपर्छ । मल्टिटास्किङको समयमा हरेक संस्था त्यस्ता कर्मचारीको प्रशंसा गर्छन् जो विभिन्न क्षेत्रमा उपयोगी साबित हुन सक्छ । आफ्नो उपयोगिता साबित गर्न सेल्फ अप्रेजलको अवसरलाई राम्रोसँग प्रयोग गर्न जान्नुपर्छ।

 Image