Successfully Copied

दसैं अनुभव

विमला बाल्यकालमा कलरफुल फ्रक लगाएर नरदेवी, रक्तकाली, शोभाभगवतीमा राजा दर्शन गर्न आउने भीडमा ठेलमठेल गरिरहेकी हुन्थिन् । त्यति मात्र होइन क्षेत्रपाटी हुँदै हनुमानढोकामा फूलपाती भित्र्याएको हेर्न हप्तौं अघिदेखि उत्सुक हुन्थिन् । संयुक्त परिवार भएकाले विजयादशमीको टीका लगाउँदा उनको पालो निक्कै पछाडि आउँथ्यो ।

विमला मानन्धर, सामाजिक कार्यकर्ता, अफिसर–मदर एण्ड इन्फ्यान्ट रिसर्च एक्टिभिटी

रेडियो, टिभीमा बज्ने मालश्री धुनको संगीतले विमला मानन्धर (५०) लाई दसैं आएको महसुस गराउँछ । त्यसबाहेक परम्परागत पूजाआजा, भोज, चंगा तथा उल्लासमय वातावरणले उनमा पर्वको रौनक थप्छन् । न्योखाटोलको ठूलो परिवारमा जन्मिएकी विमला बाल्यकालको दसैं स्मरण गर्दै भन्छिन्–जब बांगेमुढामा गएर हातभरि रंगीबिरंगी चुरा छनछन बजाउँदै टोलको बाटोमा दौडिइन्थ्यो अनि दसैं आएझैं लाग्थ्यो । असनमा किनिने नयाँ लुगा पनि विशेष हुन्थे । अझ रमाइलो कुरा त कौसीमा गएर ड्रम बजाउँदै चंगा उडाउनु हाम्रो न्योखाटोलको विशेषता नै थियो । 

विमला बाल्यकालमा कलरफुल फ्रक लगाएर नरदेवी, रक्तकाली, शोभाभगवतीमा राजा दर्शन गर्न आउने भीडमा ठेलमठेल गरिरहेकी हुन्थिन् । त्यति मात्र होइन क्षेत्रपाटी हुँदै हनुमानढोकामा फूलपाती भित्र्याएको हेर्न हप्तौं अघिदेखि उत्सुक हुन्थिन् । संयुक्त परिवार भएकाले विजयादशमीको टीका लगाउँदा उनको पालो निक्कै पछाडि आउँथ्यो । ६ दिदीबहिनी भएकाले उनीहरूको चाडबाड निकै हर्षोल्लासयुक्त हुन्थ्यो । विमला भन्छिन्–हाम्रो मानन्धर परिवारमा दक्षिणा दिइँदैनथ्यो । कोजाग्रत पूर्णिमाका दिन टीका लगाउन नहुने उनको परिवारमा अष्टमीदेखि विजयादशमीसम्म भात खाइँदैन । 

संस्कारको धनी नेवारी संस्कृतिले विमलालाई धेरै हदसम्म प्रभावित तुल्याएको छ । नौरथाभरि जमराकोठामा घरमुलीले गर्ने पूजा, बाँदरको आकृति भएको भौख्वामा तेल–बत्ती बालेर पालामा लगाइने कालो टीका परिवारभित्रका सदस्यलाई लगाइदिनुपर्ने परम्परा, अष्टमीको स्याखुट्याकु र कुछिभोय, टीकाको दिनको कोखा नेवार संस्कृतिका महत्वपूर्ण परम्परा हुन् । फूलपाती भित्र्याइसकेपछि परिवारका सम्पूर्ण सदस्य जमराकोठामा बसेर घरमुलीले पूजा गर्ने अन्यले अक्षता छर्ने परम्परा मानन्धर परिवारको दसंैको महत्वपूर्ण पक्ष हो । यस्तो पूजामा तरबार, आफ्नो व्यवसायमा प्रयोग गरिने सामग्री, मानापाथीमा धान–चामल, पित्तल वा माटोका २ वटा प्यालामा रक्सी, घरमा बलि नदिए पनि हरियो पातमा एक टुक्रा मासु राख्नैपर्ने परम्परा छ । यी सम्पूर्ण सामग्रीलाई पूजा समापनपछि सुरक्षितसाथ राखिन्छ र तिहारको लक्ष्मीपूजाका दिन पूजाथालीमा राखेर पूजा गरी प्रसादस्वरूप ग्रहण गरिने संस्कार महत्वपूर्ण भएको विमलाको तर्क छ । नौरथाभरि पूजाघरभित्रको प्रसाद परिवारभित्रकाले मात्र खाने चलन छ । 

अष्टमीका दिन खाइने कुछिभोयमा प्रतिव्यक्ति दुई माना चिउरा र मासुलगायत ८ प्रकारका अन्य खाद्यवस्तुलाई केराको पातमा भाग लगाइन्छ जुन एकैपटकमा खाइसक्नुपर्छ । नवमी भोजभतेरमै बित्छ भने दशमीका दिन सेतो र रातो कपडाको माला (कोखा) अनिवार्य छ । 

अहिले विमलाको घरमा काटमार हँुदैन । उनीकहाँ बलिको साटो हाँसको फुलको पूजा गर्न थालिएको छ । संस्कृति एवं संस्कारलाई समयअनुरूप परिमार्जन गर्दै अघि बढाउनुपर्छ तर छोड्न भने हुँदैन । हाम्रा पर्व हाम्रा पुँजी हुन्, विमलाले भनिन्–‘यही नै नगरी हुँदैन भन्ने बाध्यात्मक बनाइयो भने युवापुस्ताले मान्न छाड्छ तसर्थ यसलाई सहज बनाएर निरन्तरता दिन आगामी पुस्तालाई प्रेरणा दिनुपर्छ ।’

 

 Image