भूकम्पको तीतो अनुभव

भूकम्पको तीतो अनुभव

सिर्जना दुवाल श्रेष्ठ

जेष्ठ ६, २०७२

अशिष्मा नकर्मी, नायिका

शुक्रबार बलम्बुमा भोज भएकाले म शनिबार पनि उतै थिएँ। शनिबार बहिनी, बहिनीकी साथी र म घर नजिकै फुपूको घर गएका थियौं। म तेस्रो तल्लामा पल्टिरहेकी थिएँ। एक्कासि हल्लायो, म कराएपछि तलबाट बहिनी पनि माथि नै आइपुगिन्। बहिनीलाई हेलमेट लगाइदिएर भाइको स्टडी टेबुलमुनि राखें र आफू पनि त्यहीँ छोपिएर बसें। घर हल्लिन रोकिएपछि हामी तल झर्‍यौं। हामी झरेको एकछिनपछि फुपूको घर भत्कियो। बलम्बुमा रहेका सबै पुराना घर भत्किए। बाहिर धूलाम्य थियो। हामी घर नजिकैको पाटीमा बसिरहेकी हजुरआमालाई हेर्न गयौं। उहाँलाई भत्किएका पर्खालका टुक्राले चोट पुर्‍याएको थियो। भूकम्पको धक्का आइरहेकाले तुरुन्तै अस्पताल लान सकेनौं त्यसैले खुल्ला ठाउँमा लग्यौं। निकैबेरपछि हजुरआमालाई सतुंगलको एटिएस अस्पताल पुर्‍यायौं। जीवनमा यस्तो घटनाको कल्पनासमेत नगरेकाले पनि होला हामी एकदमै आत्तिएका थियौं। बलम्बु, थानकोट, सतुंगलका धेरै बस्ती घरविहीन भएका छन्। भूकम्पमा मेरो बेस्ट फ्रेन्डको डेढ वर्षको छोरा पनि बितेकाले अझ दु:खी तुल्याएको छ। भूकम्प एउटा दु:खद् सपनाजस्तै लागिरहेको छ। मैले यो डरलाग्दो घटनालाई अझै स्वीकार गर्न सकेकी छैन।

लुनिभा तुलाधर, कलाकार

म हस्पिटलबाट दुई दिनअघि मात्र आफ्नो नवजात शिशुलाई लिएर घर फर्किएकी थिएँ। म खाटमा बसिरहेकी थिएँ, मम्मीहरू भोलिपल्टको न्वारनका लागि सेल पकाइरहनुभएको थियो। बच्चा पनि सुतिरहेको थियो। एक्कासि घर हल्लियो। सिजेरियन अप्रेसनका कारण टाँका लगाइएकाले मलाई उठ्न गार्‍हो थियो। काम गर्ने बहिनीले दिदी उठ्नु भनेपछि कुन्नि कहाँबाट शक्ति आयो अनि बच्चालाई समाती कप–ब्याक बोकेर घोप्टो परी बसें। दराज झरेर झन्डै लागेको थियो। श्रीमान् तल दाँत माझिरहेका थिए, उनी पनि माथि आइपुगे। भूकम्प रोकिएपछि हामी तत्काल तल ओर्लेर बारीमा बस्यौं। हाम्रो सानो बारीमा छिमेकीहरूसहित ७५ जनाजतिले ४ रात काट्यौं। भूकम्पको दिन बच्चाले आँखै खोलेन, भोलिपल्ट मात्र आँखा खोल्यो। भोलिपल्ट टाँका लगाएको ठाउँमा दुख्न थाल्यो तर पनि आफन्त कसैलाई केही नभएकाले म सन्तुष्ट छु।

अकेशा विष्ट, भिजे तथा नायिका

म अरु दिन व्यस्त हुने भएकाले शनिबार एकदिन घरमै बस्न रुचाउँछु। त्यो दिन म खाना खाएर छैटौं तल्लामा सोफामा पल्टेर टिभी हेर्दै थिएँ। अचानक घर हल्लिन थाल्यो, म दगुरेर ढोकाको बिममा पुगें। डाइनिङका सिसाका गिलास हल्लिएर झर्न थाले। म त्यसको नजिकै थिएँ, त्यसैले डराएँ। हजुरआमा छतमा हुनुहुन्थ्यो उहाँलाई दिदी र मैले तल ल्यायौं। भर्‍याङ हल्लिँदै थियो, ठोक्किँदै हामी तल पुग्यौं। टोलका सबै बाहिर जम्मा भैसकेका थिए। हामी पनि नजिकैको ठूलो चौरमा पुग्यौं। पुरानो घरमा ठूलो कम्पाउण्ड भएकाले सुत्न छिमेकीहरूसहित त्यहीँ गयौं। अहिले पनि मान्छे हिँड्दा, गाडी आउँदा एक किसिमको डर छ। समाचारहरू हेर्दा डर लाग्छ। दुई दिनपछि हामी केही साथी लेले गएका थियौं। त्यहाँका प्राय: घर भत्किएकाले मानिसहरू पोल्ट्री फार्ममा बसिरहेका थिए। घरहरू भत्किएका, मान्छेहरू हराइरहेका, पुरिइरहेका दृश्यहरू देखेर आफूले खासै दु:ख झेल्नुपरेको रहेनछ भन्ने लाग्यो। त्यहाँ गएर केही सहयोग गर्न पाउँदा मनमा थोरै भए पनि शान्ति मिलेको छ। .

रिमा विश्वकर्मा, नायिका

म घरमै थिएँ। भृकुटीमण्डपमा कला र साहित्यका विषयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा वक्ताका रूपमा जानुपर्ने भएकाले तयारी गर्दै थिएँ। मेरो कोठामा म र भाइ थियौं भने भान्सामा मम्मी र बहिनीहरू लञ्चको तयारीमा जुटेका थिए। अचानक घर हल्लिन थाल्यो। कोठाबाट निस्कदा कोठाको पिल्लर हल्लिन थाल्यो। मम्मीहरू रुन थाल्नुभयो। मैले सबैलाई टाउको जोगाउन भनें। ढोकामा २–२ जना बस्न लगाएँ। घरमा ७ मिनेटजति बसेर हामी बाहिर निस्कियौं। हामी कहिले गौशाला त कहिले पुरानो बानेश्वरतिर दगुर्न थाल्यौं। पछि पुरानो बानेश्वरको एउटा म्यानपावरको पार्किङमा ४ दिनसम्म पाल लगाएर बस्यौं। सबै जना डराएकाले मेरो दायित्व बढ्यो। मेरी साथी नीता ढुंगानाको भाइ भूकम्पमा परेको घटनाले नरमाइलो लाग्यो। मेरो घर चर्किएको छ, चेक गराउनुपर्ने छ। सातौं दिन हामी परिवारका सदस्यहरू काभ्रेको नयाँगाउँमा राहत बाँड्न गयांै। जताततै कहालीलाग्दा दृश्य देखेर मन सार्‍है आत्तिएको छ।

सञ्चिता लुइँटेल, नायिका

छोराछोरीहरूलाई नुवाइधुवाइ गराएर घरमै बसिरहेकी थिएँ। त्यो दिन १२ बजे एक ठाउँमा मिटिङ थियो तर छोरीले झगडा गरिरहेकीले मिटिङ ५ बजेलाई सारें। एक्कासि घर हल्लिन थालेपछि छोराछोरी दुवैलाई च्यापेर बसें। भूकम्प रोकिएपछि दुवै जना बोकेर मुखमा बच्चाको बोतल, दूध  र बर्काे च्यापेर नजिकैको चर्चमा गएर बसें। बाहिर एउटा सानो बालक एक्लै रोइरहेको थियो। त्यसलाई पनि तानेर लगें। चर्चमा खुल्ला ठाउँ थियो। त्यसैले छिमेकीहरू सबै त्यहीँ आए। ४ घण्टापछि मात्र त्यो बालककी आमा उनलाई लिन आइपुगिन्। हामी ४ दिनसम्म त्यही चर्चमा बस्यौं। त्यहाँ बसेका सबै मिलेर पैसा सेयर गरी खानपिनको व्यवस्था मिलायौं। ४ दिनपछि सबै जना मिली टोल, चोक सफा गरेर मात्र आ–आफ्ना घरभित्र गयौं। अझै पनि मेरा छोराछोरीहरू तर्सिएका छन्, उनीहरू ठूलो स्वरले बोले पनि तर्सिन्छन्।

सरु वन, गायिका

शनिबार भएकाले कोठाहरू सफा गरेर रियाज गर्ने सोच बनाइरहेकी थिएँ। टेबुल पुछ्ने क्रममा अचम्मले दराज हल्लियो, भुइँमा राखिएको हार्माेनियम पनि सर्न थाल्यो अनि पूरै घर हल्लियो। म पहिलो तल्लाबाट भागेर उफ्रदै घरनजिकको खाली ठाउँमा पुगें। घरभित्रबाट कोही पनि बाहिर नआएको देखेर भूकम्प रोकिएपछि घरमा गएर सबैलाई बोलाएर निकालें। हामीले दुई रात बाहिरै बितायौं। त्यसपछि नवलपरासी घरबाट बोलाइएकाले नवलपरासी पुगें। त्यहाँ सबैसँगै भएकाले डर भने घट्यो। दिदीले गैंडाकोटमा ३० जना विभिन्न जिल्लाका प्लस टु गर्नेहरूलाई पढाउने व्यवस्था गरेर राख्नुभएको छ। त्यहाँगएर उनीहरू सबैलाई नवलपरासी ल्याएकी छु। उनीहरूको गाउँघरतिर आफ्नै सक्रियतामा पाल, त्रिपाल, खानेकुरा आदि जम्मा गरेर पठाउँदैछौं। म नवलपरासीमा ५० जना जतिका लागि पकाएर ख्वाउने जिम्मा लिएर बसेकी छु। देशको यो आपत्कालीन स्थितिमा आफूले अरूथप केही गर्न सकिन्छ कि भनेर पनि चिन्तनशील छु।

सुविन लिम्बु, पूर्वमिस नेपाल   

म घरमै गितार बजाएर गीत गाउँदै थिएँ, अचानक घर हल्लिन थाल्यो। म तीव्र गतिमा बाहिर निस्किएँ। के भएको हो र अब के हुन्छ, भन्ने कुरा बुझ्नै सकिन। धरहरा, दरबार स्क्वायरहरू भत्किएको खबरले मेरो मन पोल्न थाल्यो। गाउँ–बस्तीहरू नै सकिएका खबरहरू बाहिर आउन थाले। मैले पहिलो पटक जीवनको माया कति हुँदो रहेछ भन्ने अनुभव गर्न पाएँ। ३ रात बाहिर खाली ठाउँमै बिताएँ। पाँचौं दिन साथीभाइ एवं परिवारका सदस्यहरूसँग सहयोग मागेर हामी २० जनासाथी, बहिनीहरू तथा परिवारका साथ सिन्धुपाल्चोकको भोजचिया गाउँमा पुग्यौं। हामी पुग्दासम्म त्यहाँ सरकारी कर्मचारी तथा अन्य कोही पनि पुगेका थिएनन्। मेलम्ची खोलादेखि नै मानिसहरू मरेका, घरहरू भत्किएका, गाईवस्तुहरू पुरिएका डरलाग्दा दृश्यहरू देखिए। पूरै गाउँ नै सखाप भएको देख्दा मनएकतमासले  हल्लियो।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>