Successfully Copied

गहनाको सफाइ

महिला तथा गहना एक-अर्काका परिपूरक हुन् । गहनामा महिलाहरूको सौन्दर्य अझ खुल्छ ।

महिला तथा गहना एक-अर्काका परिपूरक हुन् । गहनामा महिलाहरूको सौन्दर्य अझ खुल्छ । प्राय: सबैजसो महिलाको मोह गहनाप्रति भएको पाइन्छ । गहनामा महिला मोहलाई सहज रूपमा लिन सकिन्छ । गहना खरिद गरेर त्यसलाई लगाएर मात्र हुँदैन । गहनाको उचित स्याहार पनि उत्तिकै आवश्यक छ । प्रदूषणयुक्त वातावरण, धूवाँ तथा पसिनाले गर्दा गहनाको चमक कम हुन्छ । गहना सुन, चाँदी, हीरा, प्लेटिनियम आदि जुनसुकै धातुको भए पनि उपयुक्त तरिकाले त्यसको सरसफाइ गर्नुपर्छ । गहनाको प्रकृतिअनुरुप सफाइ गरे मात्र त्यसको चमक कायम रहन्छ । चमक नभएको गहना लगाउँदा सुहाउँदैन भने त्यसले आफ्नो व्यक्तित्वमा समेत असर पुर्‍याउन सक्छ । त्यसैले पनि गहनाको चमक सधैं कायम राख्नुपर्छ  ।

सुनका गहनाको सफाइ

-    सुन बहुमूल्य धातु हो । त्यसैले यसको सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

-    सुन कोमल हुने भएकाले सफाइका क्रममा ध्यान पुर्‍याइएन भने भाँचिने तथा बिग्रने सम्भावना हुन्छ ।

-    सुनका गहना सफा गर्दा लिक्विड साबुन, तातोपानी तथा नरम टुथब्रस प्रयोग गर्न सकिन्छ ।

-    एउटा कचौरामा तातोपानी तथा लिक्विड साबुनको केही थोपा हाली त्यसमा सुनका गहना केही मिनेटका लागि डुबाउनुपर्छ ।

-    त्यसपछि नरम टुथब्रसको सहायताले फोहोर भएको ठाउँमा बिस्तारै सफा गर्नुपर्छ ।

-    अन्त्यमा सादा पानीले सफा गरेर टाबेलले हल्कासँग पुछ्नुपर्छ ।

सुनका गहना कसरी जोगाउने ?

सुनका गहना कोमल हुन्छन् । त्यसैले यसलाई विशेष सावधानीका साथ राख्नुपर्छ । यसलाई घर सफा गर्ने कुनै पनि सामानबाट अलग राख्नुपर्छ । सुनका गहनालाई सौन्दर्य सामग्रीहरूबाट टाढै राख्नुपर्छ । सौना, फेसियललगायत कुनै पनि व्यायाम गर्दा सुनका गहना लगाउनु हुँदैन । त्यसैगरी स्वीमिङ गर्दा पानीमा प्रयोग गरिने क्लोरिनले असर पुर्‍याउने भएकाले गहना नलगाउनु नै उपयुक्त हुन्छ । एक्सरे गर्दा पनि सुनका गहना लगाउनु हुँदैन ।

गहना सफा गर्ने नीति

सुनको गहना सानो छ भने सुन पसलमै गएर सफा गराउनु उपयुक्त हुन्छ । सुन पसलहरूमा यसलाई सफा गर्ने सामग्री पनि खरिद गर्न सकिन्छ । सुनको गहनामा हीरा, इमराल्ड, मोती तथा अन्य स्टोन जडिएको छ भने पसलेको निर्देशनबमोजिम सफा गर्नुपर्छ ।

सावधानी

सुनका गहनाको सफाइमा डिटरजेन्ट प्रयोग गर्नुहुँदैन । रसायनिक क्लिनिङ पनि पटक-पटक गराइरहनुहँुदैन । सुनका गहनाको सफाइपछि त्यसलाई सुतीको कपडाले पुछ्नुपर्छ । सुनका गहना कोमल हुने भएकाले कोरिने सम्भावना बढी हुन्छ । त्यसैले बिस्तारै हल्का हातले सफा गर्नुपर्छ । सुनका गहनालाई जहिले पनि सुख्खा डब्बाभित्र राख्नुपर्छ । ओसले गहनाको चमकमा असर पुर्‍याउँछ ।

चाँदीका गहनाको सफाइ

चाँदी भर्सटाइल मेटल हो । सुन, हीराभन्दा कम महत्वको भए पनि यसको छुट्टै पहिचान छ । यो पनि कोमल धातु हो । त्यसैले यसको सर-सफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ । विभिन्न विधि अपनाए चाँदीका गहना सफा हुनुका साथै पोलिस गरेजस्ता देखिन्छन् । यसबाट गहनाको चमक कायम रहन्छ ।

-    एउटा बाउलमा दुई कप तातोपानी हाल्ने । पानी गहना डुब्ने हुनुपर्छ । एकैपटक धेरै गहना सफा गर्ने हो भने पानी अझ बढी हुनुपर्छ ।

-    चाँदीको गहनामा जेम तथा स्टोन जडिएको छ भने पानीमा नुन हालेर सफा गर्नुपर्छ ।

-    नुन तथा एल्मोनियाँको केही थोपा तातोपानीमा हाल्ने । त्यसपछि चाँदीका गहनालाई केही बेर उक्त पानीमा राखेर सफा गर्ने ।

-    चाँदीका भाँडाकुँडा एवं गहनालाई अक्सिडेसनबाट जोगाउन समय-समयमा सिल्भर क्लोथले रगडेर सफा गर्नुपर्छ ।

-    हरियो पालुंगो तथा मेथीलाई उमालेर पानी छानी त्यसमा चाँदीका गहनालाई २० मिनेटसम्म डुबाउने । त्यसपछि ब्रसको सहायताले सफा गर्दा चाँदीको गहना चम्कन्छ । धेरै लामो समयसम्म त्यत्तिकै राखेर कालो भएको गहना सफा गर्न आलुका टुक्रा केहीबेर पानीमा उमाल्नुपर्छ । उक्त पानीमा गहना डुबाएर केहीबेर राखेपछि राम्रोसँग रगडेर सफा पानीले धुनुपर्छ ।

हीराका गहनाको सफाइ

अहिले हीरा लगाउने चलन पनि बढ्दो छ । हीराका गहना चाँडै खराब हुँदैनन् । नियमित प्रयोग गर्दा वा बाह्य तत्वको सम्पर्कका कारण हीराको चमक केही फिक्का हुन सक्छ । हीराका गहनालाई क्लोरिन एवं ब्लिचबाट टाढै राख्नुपर्छ ।

हीराका गहनाको सफाइका लागि मन तातोपानी प्रयोग गर्न सकिन्छ । यसलाई चम्काउन अल्कोहल तथा जिनमा केहीबेर राखेर मलमलको कपडाले पुछ्नुपर्छ । त्यसैगरी एउटा बाउलमा मन तातोपानी तथा स्याम्पु मिसाई त्यसमा केही समय हीराका गहना डुबाएर राख्ने र नरम ब्रसको सहायताले बिस्तारै सफा गरी मन तातोपानीले पखाल्ने । हीराका गहना नरगडिने गरी अलग-अलग राखेर सफा गर्नुपर्छ । हीराका गहनालाई मलमलको कपडा वा टिस्यु पेपरमा राख्नु उपयुक्त हुन्छ ।

प्लेटिनमका गहनाको सफाइ

कटनबडको प्रयोगले सिल्वो दल्नुपर्छ । त्यसपछि मलमलको कपडाले रगडेर सफा गर्नुपर्छ । यसका लागि पनि हीराका गहनामा प्रयोग गरिएकै सामग्री प्रयोग गर्न सकिन्छ ।

 Image