Successfully Copied

एक्लो पदकको गौरव

बडादसैं असत्यमाथि सत्यको विजयका रूपमा मनाइन्छ । यद्यपि सत्यको जीत भन्न मिल्ने अवस्था छैन तर १७ औं एसियाली खेलकुदमा

बडादसैं असत्यमाथि सत्यको विजयका रूपमा मनाइन्छ । यद्यपि सत्यको जीत भन्न मिल्ने अवस्था छैन तर १७ औं एसियाली खेलकुदमा अष्टमीका दिन नेपालले प्राप्त गरेको सफलता नारीशक्तिमै आधारित थियो । उक्त सफलता विमला तामाङले कांस्यपदक जितेर दिलाएकी थिइन् ।

कराँतेको प्रदर्शन खेल (काता) को एकल स्पर्धामा उत्तर कोरियाली खेलाडीलाई ५-० ले हराएर विमलाले इन्चोन एसियाडमा नेपालका लागि कांस्यपदक जितेकी हुन् । पहिलो खेलमा पाकिस्तानी खेलाडीलाई हराएकी विमला सेमिफाइनलमा भियतनामी प्रतिद्वन्द्वीसँग चुकेकी थिइन् । त्यसपछि उनले कांस्यपदकका लागि भएको प्रतिस्पर्धामा सफलता हात पार्दै नेपाललाई १७ औं एसियाडमा पदकविहीन हुनबाट जोगाइन् ।

सेम्जोङ-४, धादिङका विष्णुबहादुर र धनमाया तामाङकी जेठी सन्तान विमला ११ वर्षयता जति पनि कराँते प्रतियोगितामा सहभागी भएकी छिन्, ती सबैमा पदक हात पारेकी छिन् । विमला खेलमा निक्कै मेहनत गर्छिन् । मेहनतकै कारण उनी दक्षिण कोरिया पुगेका २ सय ४ नेपाली खेलाडीमध्ये पदक जित्ने एक्ली खेलाडी हुन सकिन् ।

कक्षा-११ मा अध्ययनरत तामाङ घरायसी काममा आमा धनमायालाई सहयोग गर्छिन् । 'खेल्ने र पढ्ने काम छैन भने फुर्सदमा घरमा खाना बनाएर, सरसफाइका साथ कपडा धोएर आमालाई सघाउँछु' विमलाले भनिन् । निकटस्थहरू भन्छन्-विमला निक्कै फरासिली एवं भलाद्मी छिन् ।

एसएलसीमा सरकारी स्कुलबाट ६७ प्रतिशत अंक ल्याएकी विमला हाल रेडन्ट कलेजमा व्यवस्थापन अध्ययनरत छिन् । उनले एसएलसीको तयारीमा गणित र विज्ञानको मात्र ट्युसन पढेकी थिइन् । विमलालाई प्राय: ट्रयाकसुटमा देखिन्छ । 'पाइन्ट लगाउन थालेको एक वर्ष मात्र हुँदैछ' उनले हाँस्दै भनिन् । खाइलाग्दी देखिने विमला निक्कै फुर्तिली छिन् । धादिङबाट राम्रो शिक्षाका लागि २०६० सालमा काठमाडौं बसाइँ सरेको तामाङको परिवारमा उनकी बहिनी विपना र भाइ नीराजन छन् । उनीहरू पनि विमलाझैं 'बालाजु कराँते डो प्रतिष्ठान' मा कराँते खेल्छन् । पारिवारिक वातावरण नै कराँतेमय हुँदा रमाइलो लाग्ने विमला बताउँछिन् ।

बुबाको कर एवं साथीहरूले खेलेको देखेर रहरले ७ वर्षको उमेरदेखि कराँते खेल्न थालेकी विमला हलिउडका कलाकार ज्याकी च्याङकी फ्यान हुन् । विमला उनका चलचित्र खुबै हेर्छिन् । ११ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका कराँते खेलाडी सुनील लामालाई आदर्श मान्ने विमला कडा मेहनत गरेर इन्डोनेसियामा हुने आगामी एसियाडमा स्वर्ण पदक जित्न चाहन्छिन् ।

सात महिनाअघिसम्म उनको दैनिकी बिहान कराँते प्रशिक्षण, दिउँसो स्कुलको पढाइ तथा बेलुकी गृहकार्यमा बित्थ्यो । अहिले कलेज पुगेपछि उक्त दिनचर्या फेरिएको छ । यद्यपि कर्म उस्तै छ, पढ्ने र खेल्ने । 'दुवैलाई सँगसँगै लानेछु' विमलाले नारीसँग भनिन् । भविष्यमा पनि खेल्नेबाहेक अन्य कुरा नसोचेको उनी बताउँछिन् । 'स्वास्थ्यले साथ दिएसम्म खेल्नेछु' विमलाले भनिन् ।

विवाद र अनावश्यक चिन्ताबिना राम्रो तयारी गर्न पाएको भए एसियाडमा अझ ठूलो सफलता हात पार्न सकिने विमलाको विश्वास छ । भगवान्प्रति उनको गहिरो आस्था छ । 'प्रतियोगिता खेल्नुअघि सधैं राम्रो गर्न पाऊँ, गल्ती नहोस् भनेर भगवान् बुद्ध तथा कृष्ण एवं मनकामना मातासँग प्रार्थना गर्छु' उनले भनिन् । विमलाका बुबा मलेसियामा सेक्युरिटी गार्डको काम गर्छन् भने आमा गृहिणी हुन् ।

पुरस्कारबाट आउने सरकारको १० लाख रुपैयाँसहितको रकम खेल सामग्री, भाइबहिनीको आवश्यकता पूर्ति एवं परिवारका लागि लगानी गर्ने विमलाको योजना छ । उनी राजधानी काठमाडौं प्रवेशसँगै आफ्नो भाग्य फेरिएको मान्छिन् । 'बुबा-आमाले काठमाडौं पढ्न नल्याउनुभएको भए गाउँघरका अरू साथीभाइजस्तै सानै उमेरमा विवाह भैसकेको हुन्थ्यो होला,' विमलाले बताइन्, 'अहिलेको अवस्थामा पुग्नुलाई म आफ्नो अहोभाग्य मान्छु ।'

विमला इन्चोनबाट र्फकंदा त्रिभुवन विमानस्थलमा रातको समयमा पनि आमा एवं गुरु धु्रवविक्रम मल्ल आफूलाई लिन पुगेको देखेर दंग परेकी थिइन् । उनलाई कराँतेबाहेक अरू खेलमा खासै रुचि छैन । 'समयमै अभिभावक एवं गुरुले राम्रो बाटो देखाएकाले अहिलेको अवस्थासम्म आइपुगें', उनले भनिन् । इन्चोनअघि विमलाले लखनउ, कोलकाता, नयाँ दिल्ली, मलेसिया तथा दुबईमा भएका आमन्त्रण प्रतियोगिताहरूमा पनि पदक जितेकी थिइन् ।  

 

 Image