Successfully Copied

दसैं अनुभव ती दिनका.....

डा. निभा राजभण्डारीलाई दसैं भन्नासाथ रमाइलो पर्व, नयाँ पहिरन लगाउने चाडजस्तो लाग्थ्यो । मामाघरमा हुर्किएकी डा. निभाका एकजना भाइ छन् ।

डा. निभा राजभण्डारी

बालरोग विशेषज्ञ, वयोधा हस्पिटल

डा. निभा राजभण्डारीलाई दसैं भन्नासाथ रमाइलो पर्व, नयाँ पहिरन लगाउने चाडजस्तो लाग्थ्यो । मामाघरमा हुर्किएकी डा. निभाका एकजना भाइ छन् । हजुरबुवा, हजुरमुमा, अंकल, अन्टी सबै जना भएको संयुक्त परिवारमा उनको जन्म भएको थियो । उनी स्कुल छुट्टी हुनासाथ भाइसँग मिलेर लंगुरबुर्जा खेल्ने, चंगा उडाउने आदि काम गर्थिन् ।

दसैं मासु खाने चाडका रूपमा प्रख्यात छ तर डा. निभा राभण्डारी मासु खाँदिनन् ।  आफूले मासु नखाए पनि उनी मासुका विभिन्न परिकार बनाएर परिवारका सदस्यहरूलाई ख्वाउँछिन् । यसो गर्दा उनलाई सन्तुष्टि मिल्छ ।  

विवाहपछिको दसैं केही अनौठो र जिम्मेवारीका साथ अघि बढेको उनी बताउँछिन् । डा. राजभण्डारी जेठी बुहारी भएकीले विवाहपछिको पहिलो दसैंमा उनैले घरमा जमरा राखेकी थिइन् । जमरा नउमि्रएला भनेर उनलाई रातदिन चिन्ता लागिरहन्थ्यो । त्यो दसैंमा अझ राम्रोसँग जमरा फस्टाएको डा. राजभण्डारी बताउँछिन् । दसैंको नवरथाकै समयमा उनका ससुरा एवं बूढा ससुराको श्राद्ध पर्छ । घटस्थापनाकै दिन श्राद्ध पर्ने भएकाले श्राद्ध सकिएपछि मात्र उनी जमरा राख्छिन् । सासूको पनि ५ वर्षअघि दसैंकै समयमा मृत्यु भएको थियो । त्यसैले अहिले डा. निभा श्रीमान्, नन्द, छोरा, देवर, देउरानी तथा देवरका छोराका साथमा दसैं मनाउँछिन् । घरका सबैलाई उनले प्रत्येक दसैंमा नयाँ पहिरन पनि किनिदिन्छन् । वर्षमा एकपटक आउने दसैं राम्रोसँग मनाउनुपर्ने डा. राजभण्डारीको धारणा छ । उनलाई अहिलेसम्म पनि माइतीबाट आमाले अष्टमी, नवमी तथा दशमीका लागि पहिरन पठाइदिनुहुन्छ ।

नौरथामा देवी मन्दिर जाने चलन छ । डा. राजभण्डारी पनि फुर्सद मिलाएर देवी मन्दिर जान्छिन् । चिकित्सा पेसामा चौबीसै घन्टा व्यस्त रहनुपर्छ । उनी धेरैजसो दसैंमा टीकाका दिन पनि रातको डिउटी गएकी छिन् । बालरोग विशेषज्ञ डा. राजभण्डारीलाई बिरामी बालक पीडाले छटपटाउने आफू चाहिँ रमाइलो गरी बस्न मनले दिँदैन । त्यसैले उनी दसैंमा पनि आफ्नो रमाइलोलाई थाती राख्दै कर्तव्य पूरा गर्न अग्रसर हुन्छिन् ।

उनको घरमा पहिले बलि दिने चलन थियो । अहिले नरिवलले काम चलाइन्छ । घरकी जेठी बुहारी भएकीले टीकाका दिन उनी श्रीमान्को हातबाट टीका लगाएर नन्द, देवर, देउरानी तथा छोरालाई टीका लगाइदिन्छिन् । त्यसपछि माइली सासू तथा ससुराकहाँ टीका लगाउन जान्छिन् । अनि आमाको हातबाट टीका लगाउन माइती पुग्छिन् । बाल्यकालमा आफूले चंगा उडाएर रमाइलो गरेकाले उनी अहिले छोराले चंगा उडाएको हेरेर आनन्द मान्छिन् ।

सन्देश

दसैं एकता, विजय तथा मेलमिलापको उत्सव भएकाले यसलाई सबैले रमाइलो र उल्लासमय वातावरणमा मनाऔं । दसैं भनेर धेरै नखाऔं । स्वास्थ्यको  पनि ख्याल राखौं ।

सकारात्मक पक्ष

अहिले सबैजना व्यस्त हुने भएकाले भेटघाट कमै हुन्छ । लामो बिदामा हुने यस्तो भेटघाटले सम्बन्धमा मधुरता ल्याउँछ । सबैजना सँगै बसेर रमाइलो गर्दै सुख-दु:ख साटासट गर्न पाइन्छ । नवदुर्गा भवानीको पूजाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ । दसैं नयाँ सामग्री जोहो गर्ने अवसर पनि हो ।

योजना

घटस्थापनाको दिन जमरा राख्छु । नियमित रूपमा दुर्गा भवानीको पूजा गर्छु । घरमा सबैका लागि नयाँ पहिरन किनिदिन्छु । छोराका लागि नयाँ चंगा किनिदिन्छु । देवी मन्दिर जान्छु ।

००००००००००००००००००

निशा राणा बस्नेत

बरिष्ठ वैज्ञानिक, नास्ट

वरपरको वातावरण रमाइलो हुँदै अनि मानिसहरूको चहलपहल बाक्लिँदै गएपछि निशा राणा बस्नेतलाई दसैंको आगमनको आभाष हुन्छ । स्व. बुवा परीक्षित नर्सिङ राणा तथा मन राणाको कोखबाट जन्मिएकी निशा राणाको बाल्यकालको दसैं ठमेलस्थित नर्सिङ क्याम्पमा बित्यो । राणा परिवारको दसैंमा पहिलेदेखि नै एउटै पूजाघर हुन्थ्यो । जमरा पनि त्यहीँ राखिन्थ्यो । राणा परिवारका सबै सदस्य जम्मा भएर नौदिनसम्म राखिएको जमरालाई टीकाका दिन विसर्जन गर्ने चलन थियो ।

पहिले सबै राणाहरू नर्सिङ क्याम्पमा जम्मा भएर टीका लगाउने चलन थियो । त्यसपछिका केही वर्ष थापाथलीस्थित रोटरी क्लबमा पनि टीका लगाइएको निशा बताउँछिन् । पछिल्ला ४-५ वर्षदेखि उनीहरूको टीका बालुवाटारस्थित परेली ब्यांकेटमा सम्पन्न हुँदै आएको छ ।

निशा आफ्नो बाल्यावस्था सम्झन्छिन्- उनको परिवारमा ठूलो बुवा, माइलो बुवा, उनका बुवाका सबै छोराछोरी एकै ठाउँमा बसेर टीका लगाउँदा वातावरण निकै रमाइलो हुन्थ्यो । त्यो बेला सानो तथा ठूलोको बीचमा कसको बढी दक्षिणा भयो भनेर प्रतिस्पर्धा नै चल्थ्यो । संयुक्त परिवारमा दसैं मनाएकी निशाको विवाह पनि संयुक्त परिवारमै भयो । त्यसैले विवाहअघि र पछिको दसैंमा उनले खासै भिन्नता पाइनन् । विवाहपछिको पहिलो दसैं मनाउन उनी श्रीमान्को पुख्र्यौली घर नेपालगन्ज गइन् । केही जिम्मेवारी बहन गर्दै मनाएको उनको त्यो दसैं अविस्मरणीय थियो । दसैंमा उनी दाजुभाइ-दिदीबहिनीसँग रमाइलोका लागि तास पनि खेल्छिन् । तास खेले पनि अहिलेसम्म उनले जितेकी छैनन् ।

उमेर वृद्धिसँगै जिम्मेवारी बढ्दै जाने हुनाले चाडपर्वको मज्जा बाल्यकालमै हुने निशा बताउँछिन् । अहिले उनको व्यस्तता घटस्थापनादेखि अझ बढ्छ । घरका लागि नेपालगन्जको बागेश्वरी मन्दिरमा जमरा राखिए पनि निशा आफ्नो मण्डिखाटारस्थित घरमा पनि जमरा राख्छिन् । घर तथा अफिसको तारतम्य मिलाउँदै केही समय निकालेर सप्तमीअघि नै उनी देवी मन्दिरहरू पुग्छिन् । सप्तमीपछि अफिसहरू बिदा हुने भएकाले मन्दिरमा भीड हुन्छ, त्यसैले उनी पहिले नै मन्दिर जान्छिन् । यसपटकको दसैंमा नैनीताल पढ्न गएकी छोरी पनि सँगै भएकीले दसैं अझ बढी रमाइलो हुने उनको धारणा छ ।

सन्देश

पहिलेदेखि चलिआएको परम्परालाई नियमितता दिंदै चाडपर्व मनाऔं । रक्सी तथा माछा-मासु धेरै खाएर स्वास्थ्य नबिगारौं ।

सकारात्मक पक्ष

कुनै कारणवश वैरभाव भएका आफन्तलाई मेल गराइदिन्छ । वर्षौं भेटघाट नभएका आफन्त भेटेर रमाइलो कुराकानी गर्न पाइन्छ । वातावरण पनि रमणीय हुन्छ ।

लामो बिदाको अवसर मिल्छ ।

योजना

नौरथामा नवदुर्गा भवानीको मन्दिर जाने । मासुका विभिन्न परिकार बनाएर ख्वाउने । सासूको हातको टीका लगाउन पुख्र्यौली घर नेपालगन्ज जाने ।

          -  उपासना पाण्डे

०००००००००००००००००००००००००

अञ्जु भट्टराई

सञ्चालक प्रिन्सिपल, युरो इन्टरनेसनल स्कुल तथा युरो किड्स

शिक्षा क्षेत्रमा अनवरत लागिपरेकी अञ्जुले नेपालमा दसैं मनाउन नपाएको करिब तीन वर्ष भएको छ । उनले दसैंका बेला कुनै न कुनै काम लिएर बिदेसिनुपरेको छ । त्यस्तो समयमा उनी दसैंको रमझम तथा रमाइलो मिस गर्छिन् । खोटाङमा जन्मिएकी अञ्जु मध्यमवर्गीय परिवारबाट आएकी हुन् । सानो छँदा दसैं आउनेबित्तिकै उनलाई अब नयाँ लुगा लगाउन पाइन्छ भन्न कुराले खुसी तुल्याउँथ्यो । अरू बेला आ-आफ्नो कामले व्यस्त भए पनि दसैंका बेला सपरिवार एकसाथ दसैं मनाउँदाको क्षण उनलाई निकै राम्रो लाग्छ । त्यसैले पनि उनी दसैं कुर्छिन् । बाल्यकालमा आफ्ना साथीभाइहरूका साथ उनी रोटेपिङ खेल्न टाढा-टाढासम्म पुग्थिन् । दसैंका बेला रातो माटोले सपरिवार मिलेर घर पोत्ने चलन पनि उनलाई औधी मन पर्छ । गाउँले परिवेशको दसैंको पृथक् अनुभव छ- अञ्जुसँग । यद्यपि परिवेश जे-जस्तो भए पनि हरेक क्षेत्रमा दसैंले एउटै सन्देश दिने उनको अनुभव छ । अञ्जु भन्छिन्- दसैं हामी नेपालीहरूको राष्ट्रिय चाड हो । दसैंका बेला हामीले लामो समय छुट्टी पाउँछौं । सबैले यतिबेला फुर्सद निकाल्छन् । अरु बेला अलग-अलग बसे पनि दसैंमा सारा परिवार सँगै हुन्छ । विवाह भएर काठमाडौं आएकी अञ्जु आफ्ना अभिभावकले दिएको संस्कार पछ्याइरहेकी छिन् । दसैं लाग्नेबित्तिकै उनी आफ्ना श्रीमान्सँग आफ्नो मूल घर जान्छिन् । परिवारसँग मनाएको दसैंको कुरा नै फरक हुन्छ । किनमेलका लागि पनि समूहमा गइन्छ । पकाउने काम पनि समूहमा गरिन्छ जसले गर्दा एकजनालाई मात्र भार पर्दैन । दसैंमा खेलिने तास वा गरिने रमाइलो परिवारबिना खल्लो हुने अञ्जु बताउँछिन् । दसैंका नौ दिन कसरी बित्छन् उनलाई पत्तै हुँदैन । अरुबेला चाहेर पनि यसरी सँगै बस्न सकिँदैन । दसैंले हामीलाई यो अवसर प्रदान गरेको छ । यो चाडले पछिल्लो पुस्तासितको आत्मीयता पनि बढाउँछ । अञ्जुको परिवारमा सबै एकै ठाउँमा बसेर टीकाटालो गर्छन् । खानपान पनि सामूहिक रूपमा गर्छन् । आफन्तकहाँ टीका लगाउन पनि सबैजना मिलेर जान्छन् । सबैले एकै प्रकारको साडी लगाउँछौं । उनीहरू घटस्थापनाका दिन मूल घरमा जमरा राख्छन् । उनका दुई छोरा पनि दसैंमा बिनातनाव परिवारका सबैसँग भेट्न पाएकोमा मख्ख पर्छन् । दसैंले परिवारको आत्मीयतालाई ऊर्जा प्रदान गर्छ । दसैंमा सबैले आफ्नो मनको द्वेष हटाएर खुसीको वातावरण सिर्जना गर्छन् ।

सन्देश

परिवारका सबै सदस्यलाई एकसूत्रमा बाँधेर रमाइलो गर्नुका साथै वर्षभरिको थकान बिसाउँदै आफू पनि रिचार्ज हुनुहोस् ।

सकारात्मक पक्ष

आफन्तहरूसँग भेट भएर आफ्ना सुख-दु:ख साटासाट गर्न पाइन्छ ।

संयुक्त परिवारको रमाइलो अनुभव गर्न सकिन्छ ।

सबैले सबैप्रति माया-प्रेम झल्काउने भएकाले यसको सिको नयाँ पुस्ताले पनि गर्छन् ।

पूजापाठले सकारात्मक सोचको विकास गर्छ ।

आफ्नो संस्कृतिका विषयमा बुझ्ने अवसर प्राप्त हुन्छ ।

मन खोलेर किनमेल गर्न पाइन्छ ।

आराम गर्ने अवसर जुर्छ ।

योजना

नौ दिन फलाहार खाएर दुर्गाको उपासना गर्ने ।

नयाँ-नयाँ परिकार तयार गर्ने विशेष गरी काँक्राको अचार तयार गर्ने ।

परिवारका सदस्यहरूसँग मिलेर देवीको दर्शन गर्ने ।

              - झरना नहर्की

०००००००००००००००००००

प्रतिभा लिम्बू तुलाधर

प्रमुख बजार विभाग, नेपाल बंगलादेश बैंक

चाडपर्वले एउटा बेग्लै प्रकारको रंग, खुसी एवं रौनक ल्याउँछ । यसले पूरै वातावरणको परिवेश परिवर्तन हुन्छ । चाडपर्वका अवसरमा टाढा भएकाहरू भेट हुँदा निकै रमाइलो हुने एनबी बैंककी प्रतिभा लिम्बू बताउँछिन् । बैंकिङ क्षेत्रमा सफल प्रतिभा दसैंलाई आराम गर्ने पर्वका रूपमा लिन्छिन् । लिम्बू भन्छिन्-दसैंले एक प्रकारको खुसीको उद्घोष गर्छ । दसैंको आगमनसँगै एक प्रकारको आनन्दको अनुभूति हुन्छ । वर्तमान समयमा यस्ता चाडपर्व नहुने हो भने म को हुँ भन्ने कुरा बिर्सने लिम्बूको तर्क छ । उनको परिवारमा दसैं आउनेबित्तिकै एक प्रकारको रमाइलो रक्तसंचार प्रवाह हुन्छ । दसैंका बेलामा बैंकलाई पनि दसैं लाग्छ । आफूले जम्मा गरेको पैसा निकाल्ने, नयाँ नोट साट्ने तथा रेमिटेन्सले गर्दा बैंकहरू पनि निकै व्यस्त हुन्छन् । प्रतिभा दसैंको बिदालाई सकेसम्म सदुपयोग गर्ने प्रयास गर्छिन् । उनको घरमा दसैं लाग्नेबित्तिकै सरसफाइको कार्यक्रम सुरु हुन्छ । सबैको सल्लाहमा घरको रंग तथा इन्टेरियर परिवर्तन हुन्छ । उनकी सासू जमरा राखी दिनहुँ पूजा गर्छिन् । प्रतिभा बिस्तारै यो संस्कार सिक्दैछिन् । जमरा राख्ने कुरामा उनी सासू आमालाई सहयोग गर्छिन् । उनको परिवार अरू बेला अलग-अलग भए पनि दसैंका बेला मूल घर ललितपुरमा जम्मा हुन्छ । परिवारका सबै सदस्य मन्दिर तथा किनमेल गर्न जान्छन् । परिवार ठूलो भएकाले उनीहरूकहाँ टीका लगाउन दुई घन्टा लाग्छ । घरमा टीका लगाएर खानपिन गरेपछि उनीहरू सामूहिक रूपमा आफन्तकहाँ टीका थाप्न जान्छन् । प्रतिभा भन्छिन्, 'आधुनिक जीवन शैली तथा बनावटीपनले मानिसहरूको सोच तथा व्यवहारमा निकै परिवर्तन ल्याएको छ । दसैंले परिवारका सबै सदस्यलाई एउटै छानामुनि ल्याएर एकताको भावना उजागर गर्छ । दसैंका बेला संयुक्त परिवारको आनन्द अनुभव गर्न सकिन्छ । बढ्दो एकल परिवारको चलनले गर्दा सम्बन्ध एवं आपसी प्रेममा कमी आइरहेको अवस्थामा दसैंले त्यस्ता नकारात्मक तत्वलाई चुनौती दिएको छ । दसैंमा हामी विशेष गरी मासु, अचार तथा तासमा रमाउँछौ । सेकुवा, पक्कु तथा विविध प्रकारका अचारले दसैंको स्वादमा विविधता थपिदिएको छ । पहिले सानो छँदा दसैंमा निकै पिङ तथा चंगा खेलिन्थ्यो तर अहिले तास खेलिन्छ । हाम्रो घरमा दसैंमा उपहार बाँड्ने चलन पनि छ । यो बेला परिवारका सदस्यहरू के-के गरिरहेका छन् भन्ने कुरा पनि अवगत हुन्छ ।' यसपटक आफ्नी सासू अमेरिकामा भएकाले प्रतिभा सपरिवार पोखरामा दसैं मनाउने तयारीमा छिन् । पोखराको दसैंलाई लिएर उनी निकै उत्साहित पनि छिन् । प्रतिभा महिलाले गर्दा नै दसैंमा रौनक आएको महसुस गर्छिन् ।

सकारात्मक पक्ष

दसैं धार्मिक, पारिवारिक, सामाजिक तथा सांस्कृतिक हिसाबले पनि उत्कृष्ट छ ।

व्यस्त जीवन जिउनेहरूको जीवनमा दसैंले विशेष रंग भर्छ ।

किनमेलको आनन्द ।

परम्पराको सम्झना ।

उपहार आदान-प्रदान ।

पार्टी तथा तास ।

प्रेम एवं आत्मीय वातावरण ।

सम्बन्धमा ताजापन ।

घरको सरसफाइ ।

योजना

लङ ड्राइभमा रमाउने ।

स्पा तथा पार्लर जाने ।

उज्याला रंगका पहिरन लगाउने ।

छोरीलाई भरसक धेरै मन्दिर घुम्न लाने ।

सामाजिक कार्यमा संलग्न हुने ।

००००००००००००००००००००

मीना गुरूङ

सञ्चारकर्मी, सौन्दयर्यविद् तथा सामाजिक अभियन्ता

मीना गुरुङ दसैंले वैमनस्य एवं वैरभाव हटाई सबैलाई एउटै सूत्रमा आबद्ध गर्ने हुनाले यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने तर्क गर्छिन् । गुरुङको विचारमा धार्मिक, सांस्कृतिक एवं सामाजिक महत्व बाकेको यो पर्व सम्मानजनक र उल्लेखनीय छ । बि्रटिस आर्मीका लेफ्टिनेन्ट क्षेत्रबहादुर गुरुङसँगै सिंगापुर, हङकङ आदि देशहरूमा बि्रटिस आर्मी क्याम्पभित्र गोरखालीहरूसँग मनाएको दसैं उनका लागि अविस्मरणीय छन् । त्यसो त मीनालाई दसैं भन्नेबित्तिकै पवित्रता अनि शुभ संकेतको आभास हुन्छ । त्यति मात्र नभई स्वच्छ र उल्लासमय प्राकृतिक वातावरण, नारीशक्तिको सम्मान अनि आफन्तजनसँगको भेटघाटजस्ता दसैंका सबल पक्ष सम्झदा उनी पुलकित हुन्छिन् । बाल्यकालमा दसैं मनाउँदा पर्याप्त दक्षिणा पाइने हुनाले अहिले पनि उनलाई त्यही दिन फर्केर आइदिए हुन्थ्यो जस्तो लाग्छ । परिपक्व हुँदै जाँदा जिम्मेवारीबोधका कारण दसैं फेरिएको छ तर पनि उनी दसैंमा रमाइलो गर्न छुटाउँदिनन् । एकल परिवारमा रहेकी मीना दसैंमा सामाजिक, संस्थागत एवं पारिवारिक गरी दुई सयभन्दा बढी मानिसको भीडले घेरिएकी हुन्छिन् । त्यतिबेला उनमा हौसला, उमङ्ग र उत्प्रेरणा जाग्छ । मीना भन्छिन्, परिवार र आफन्तजनको वास्तविक महत्व त्यतिबेला थाहा हुन्छ जतिबेला उनीहरूका माझमा आफ्ना कुरा राख्न तथा उनीहरूका कुरा सुन्न पाइन्छ । त्यतिबेला यो समाजमा मेरा पनि आफ्ना मान्छे रहेछन् भनेर आत्मबल बढ्छ । नवदुर्गा जन्मिएकी मीनाको असोज १२ गतेको जन्मोत्सव पारेर मीना श्रृजनशील पत्रकारिका पुरस्कार वितरण गर्न गईरहेको उनले बताइन् ।

सन्देश

धेरैले दसैंलाई दशा भनेको सुनेकी छु । यो दशा होइन हाम्रो संस्कृतिको अत्यन्त सुन्दर तथा अनुपम पक्ष हो । आफ्नो हैसियतअनुसार मनाउन जाने शारीरिक, मानसिक एवं भावनात्मक रूपमा यसले सबैलाई फाइदा पुर्‍याउँछ ।

सकारात्मक पक्ष

आधुनिक युगमा धेरैको एकल परिवारमा बस्ने मनस्थिति हुन्छ तर दसैं यस्तो अवसर हो जसले पारिवारिक महत्व बोध गराउँछ । यो पर्वले सबैलाई एकताको सूत्रमा बाँध्छ । वर्षभरिको थकान, एक्लोपन एवं वैरभाव हटाई मान्यजनको आशीर्वादले मनोबल दृढ हुन्छ । नारीशक्तिको पूजा हुन्छ ।

                -  लक्ष्मी भण्डारी थापा

००००००००००००००००००००००००

युमा प्रधान न्याख्वा

प्रशासक, मोडल हस्पिटल

विवाहअघि पाँच जना बहिनी र एकजना दाजुसँग नवरात्रिमा चण्डेश्वरी मन्दिर गएर, राम्रा-राम्रा लुगा लगाएर, टीकाको दिन मामाघर तथा फुपूहरूकहाँ गएर टीका लगाई दक्षिणा लिएको सम्झना युमामा ताजै छ । विवाहपछि न्यायाधीश राजीवको घरमा बुहारीका रूपमा प्रवेश गरेदेखि उनले जिम्मेवारीपूर्वक दसैं मनाउन थालेकी हुन् । अहिले जेठाजुहरू छुट्टै बस्न थाले पनि युमा सासू-ससुरा एवं आमाजूका साथ घरमै बस्छिन् । अहिले पनि दसैंमा जेठाजुहरू त्यहाँ आएर सँगै दसैं मनाउँछन् । टिका-जमरा लगाएपछि सँगै खाना खाँदा आत्मीयता वृद्धि हुने युमाको धारणा छ । परिवारको महत्व, चाडपर्वको महिमा यसरी संयुक्त रूपमा मनाउँदा बढी हुने उनको तर्क छ । सबैको लामो छुट्टी हुने भएकाले घरमा जेठानी, देवरानी र आमाजूमा के मीठो पकाउने, आज के लगाउने, कुन-कुन मठ-मन्दिर पुग्ने आदि योजना तय हुन्छ । आकाशमा चङ्गा उडाउँदा, पिङ खेल्न पाउँदा दसैंको रमाइलो अझ बढ्छ । ठूलाले सानालाई दिने आशीर्वाद र ठूलालाई गर्नुपर्ने आदर पनि दसैं जस्तो चाडले सिकाउने उनकी छोरी आर्या बताउँछिन् । बाजेबज्यैसँग दसैं मनाउँदा बिर्सन लागिएका कतिपय पक्ष पनि सम्झना हुने हुँदा संयुक्त रूपमा सबै नेपालीले आफ्नो परिवारसँग मनाउन सक्नुपर्छ । यसले दाजुभाइबीच हुने मनमुटाव मेटाउन पनि सहयोग गर्छ भन्ने तर्क युमाको छ । रातो टीका लगाउँदा उनी एक प्रकारको शक्ति संचार भएको महसुस गर्छिन् । युमा भन्छिन्, दसैंले परिवारलाई एक सूत्रमा बाँध्छ । मलाई दसैंमा घर सफा गर्ने, जमरा राख्ने, मासु खाने, तास खेल्ने, आफन्तकहाँ टीका थाप्ने आदि कार्य महत्वपूर्ण लाग्छन् ।'

सन्देश

खुसी र उमंगको यो चाडलाई सबैले आ आफ्नो हैसियतले

मनाऔं । देखासिकीमा चाडलाई रिनको भागी नबनाऔं  ।

सकारात्मक पक्ष

आफन्तहरूसँग भेट भएर आफ्ना सुख-दु:ख साटासाट गर्न पाइन्छ । पूजापाठले सकारात्मक सोच वृद्धि गर्छ । आफ्नो संस्कृतिका बारेमा बुझ्ने अवसर प्राप्त हुन्छ । आराम गर्ने अवसर जुर्छ ।

            - सिर्जना दुवाल श्रेष्ठ

०००००००००००००००००००००००००००००

रिना श्रेष्ठ, गृहिणी

व्यवस्थापनमा उच्च शिक्षा हासिल गरे पनि विवाहपछि गृहिणी भएर बसेकी रिना श्रेष्ठ मेकानिकल इन्जिनियर श्रीमान् शंकरमान श्रेष्ठसँग बालाजुमा बस्छिन् । उनलाई सबैभन्दा मनपर्ने चाड दसैं नै हो । पाटन गावहाल पुख्र्यौली घर भएकी रिनाका सासू-ससुरा, दुईजना जेठाजु र भाउजू हुनुहुन्छ । तीनैजना दाजुभाइका दुई-दुईजना छोराछोरी छन् । १० वर्षअघिदेखि सबै दाजुभाइ आ-आफ्ना घर बनाई छुट्टै बस्दै आएका छन् । अलग बसे पनि श्रेष्ठ परिवारले सानोतिनो चाडपर्वदेखि दसैंसम्म पुख्र्यौली घरमा भेला भएर मनाउँछ । एकल परिवारमा बस्दा स्वतन्त्रता र सहज अनुभव भए पनि नयाँ पुस्ताले पुरानो संस्कृति र धर्म बुझ्न पाउँदैनन् । दसैं लामो चाड भएकाले धेरै दिन सबैसँग बस्दा चाडपर्वका बारेमा बालबालिकाहरूले पनि बुझ्ने उनको तर्क छ । पुख्र्यौली घरमै गएर दसैं मनाउँदा पहिलेदेखि पालन गरिंदै आएको पद्धतिलाई निरन्तरता दिन सकिन्छ । व्यस्त जीवनशैलीका कारण कसैले कसैलाई राम्रोसँग भेट्न र बुझ्न नसक्ने यो समयमा दसैं नै एउटा यस्तो चाड हो जसले आत्मीय रूपमा सबैजना सँगै बसेर रमाइलो गर्न सकिन्छ । रिनाकी छोरी सागरिकाका अनुसार बालाजुमा आमाबुवासँग मात्र बस्दा कतिपय पुराना संस्कृति र धर्मका कतिपय कुरा छुटिरहेका हुनसक्छन् तर हरेक चाडमा बाजे, बज्यैकहाँ जाँदा चाडपर्वको महत्व र मनाउने तरिका पनि राम्रोसँग थाहा पाउन सक्छौं । रिनाका अनुसार सबैले सँगै दसैं मनाउँदा धेरै ठाउँमा गएर टीका लगाउनुपर्ने झन्झट कम हुनुका साथै समयको बचत, आत्मीयता वृद्धि, काम बाँडफाँड तथा बजेट कटौतीसमेत हुन्छ । संयुक्त रूपमा दसैं मनाउँदा परिवार र चाडपर्वको सही रूप झल्कन्छ । छोराछोरीहरू आफ्ना काका, ठूलाबुबाका छोराछोरी भेट्दा धेरै खुसी हुन्छन् । रिनाकहाँ दसैंमा बनाइने परिकारमध्ये कसले के बनाउने भन्ने कुरा पहिले नै तय हुन्छ । हरेक दिन हरेक सदस्यले बनाएको परिकार चाख्न पाइन्छ ।

सन्देश

सपरिवार संगै बसेर मनाइने दसैंले परिवारमा माया, स्नेह बढ्नुको साथैं एकआपसलाई बुझ्ने अवसर पनि मिल्छ । सबैले एकजुट भएर रमाइलोसंग मनाऔं ।

सकारात्मक पक्ष

अहिले धेरैजसो एकल परिवारमा बस्छन् तर दसैं यस्तो अवसर हो जुन बेला पारिवारिक महत्व बोध हुन्छ । यो पर्वले सबैलाई एकताको सूत्रमा बाँध्छ । वर्षभरिको थकान एवं एक्लोपनबाट थिचिएको अवस्थामा मान्यजनको आशीर्वादले मनोबल दृढ हुन्छ ।

००००००००००००००००००००००००००००००००

सुमा चित्रकार

कम्पनी टेक्निसियन, बेरिना

संयुक्त परिवारमा जन्मिएकी सुमा चित्रकारको बाल्यकाल रमाइलोसँग बित्यो । नुवाकोटको बट्टारमा जन्मिएकी सुमा ८ वर्षको उमेरमा काठमाडौं आएकी हुन् । उनको विवाह पनि संयुक्त परिवारमा भयो । अहिलेसम्म पनि उनको माइती र घर दुवैतर्फ कोही पनि छुट्टिएका छैनन् । सानैदेखि ठूलो जमघटमा चाडवाड मनाउँदै आएकी बेरिना कम्पनीकी टेक्निसियन सुमा भन्छिन्, 'परिवारको महत्व त्यतिबेला थाहा हुन्छ जतिबेला चाडपर्वमा पनि एक्लै निराश भएर बस्नुपर्ने हुन्छ । एकल परिवारमा बस्न रुचाउनेहरूलाई पनि त्यसबखत आफन्तहरूको कमी महसुस हुन्छ । काम बाँड्न होस् वा खुसी, आफ्ना मानिस त चाहिन्छन् ।'

नुवाकोटको बट्टारका गणेशराज र हिउँमाया चित्रकारका ३ छोरा र ३ छोरीमध्येकी कान्छी छोरी सुमाको हालसालै व्यवसायी तिलक शंकरका साथ विवाह भएको हो । त्यसैले पनि उनको यो दसैं विशेष हुनेछ ।

अहिले उनी बाल्यकालमा नुवाकोटमा पिङ खेल्दै दक्षिणा बटुलेको दसैं सम्झन्छिन् । परार साल उनी १७ वर्षपछि दसैं मनाउन नुवाकोट पुगिन् । उनी लामो समयपछि सपरिवार दसैं मनाएको र एउटै गाडीमा परिवारका १७ जना टीका लगाउन मामाघर गएको क्षणलाई अविस्मरणीय मान्छिन् । सधैंको भागदौड र कामको व्यस्तता त्यतिबेला समाप्त हुन्छ जतिबेला उनको परिवारका ६० जना सदस्य जम्मा भएर दसैं मनाउँछन् । बालबालिकाहरूमा संस्कारको विकासका लागि पनि संयुक्त परिवारको आवश्यकता छ भन्दै सुमा आफ्नो अनुभव सुनाउँछिन्, 'ठूलो परिवारमा जन्मिएर हुर्किएकाले मैले असल संस्कार सिक्ने अवसर पाएँ । अहिले मेरा भदाभदैहरू पनि राम्रो संस्कारका साथ हुर्किरहेका छन् जसको श्रेय मेरा ३ जना भाउजूलाई जान्छ । अहिलेसम्म माइतीका ३ दाजुभाइ र उनीहरूका परिवार तथा घरतिर पनि ४ दाजुभाइका परिवार मिलेरै बसिरहेका छौं ।'

सन्देश

काटमार तथा मदिराजन्य पदार्थ कम गरौं । आफ्नो परिवारसँग रमाइलो गरी छुट्टीको सदुपयोग गरौं र यो महान् पर्वको आशीर्वादस्वरूप मुलुकमा शान्तिको कामना गरौं ।

सकारात्मक पक्ष

नयाँ पुस्ताले आफन्त चिन्ने अवसर पाउँछन् । यो सुन्दर वातावरणमा चंगा उड्दा र पिङमा मच्चिएको देख्दा भित्रैदेखि आनन्द लाग्छ । अरुबेला जे-जस्तो भए पनि दसैंमा हरेक हिन्दूले आत्मिक रूपमा भगवान्को पूजा गर्छन् ।

०००००००००००००००००००००

शिला श्रेष्ठ

कार्यकारी प्रमुख नमोस्तुति बचत तथा क्रृण सहकारी संस्था

शिलामा बाल्यकालमा दसैंको बेला आमासँग मन्दिर गएकोसम्झना अझै ताजै छ । गोरखामा जन्मिएकी शिलालाई दसैं आयो कि पिङ खेल्ने, मीठो खाने तथा नयाँ लुगा लगाउने कुराले पुलकित बनाउँथ्यो । उमेर बढ्दै गए अनुरुप उनले दसैंको महत्व बुझ्दै गइन् । दसैं सिंगो हिन्दू संस्कार बोकेको चाड भएको उनले बिस्तारै बुझिन् । दसैंमा उनी आफ्ना परिवारसँग समय बिताउन पाउँछिन्, कुनै पनि परिकारको मज्जाले स्वाद लिन पाउँछिन् । परिवारका सदस्यहरू पनि दसैंमा सबैसँग भेट हुन पाउँदा खुसी हुन्छन् । शिला दसैं आउनुअघि नै आफ्नो दसैं योजना बनाउँछिन् । दसैंका नौ दिन नै अविस्मरणीय बनाउने उनको जमर्को हुन्छ । ठूलो परिवार भएकाले दसैंमा उनीहरूकहाँ निकै रमाइलो हुन्छ । शिला भन्छिन्-'हामीकहाँ दसैंमा परिवारबीच उपहार बाँड्ने चलन छ । अनेकतिर छरिएका हाम्रो परिवारका सदस्यहरू दसैंमा घर आउँछन् । असत्यमाथि सत्यको विजय भएको यो दिनले हामीलाई एक प्रकारको ऊर्जा प्रदान गर्छ । दसैंको रातो टीका र पहेंलो जमराले नेपालीहरूलाई एकताको सूत्रमा बाँध्छ ।' निधारमा लगाइने उक्त रातो टिकाले उनीलाइ एक प्रकारको उर्जा मिल्छ । दशैको पहेलो जमराले उनमा एक प्रकारको उन्माद ल्याउछ । उनी दशैका बेला सबै परिवारकासंग मिलेर खाना खाने तथा घुम्न जाने पक्षलाइ सबैभन्दा मन पराउछिन । त्यसमा पनि असत्यमाथि सत्यको बिजय भएको यो दिनमा हामीमा एक प्रकारको सकारात्मक सोचको बिकाश हुन्छ । सबैमा सतमार्गमा लाग्ने प्रेरणा मिल्छ । व्यापारीक पृष्टभूमी भएकी उनको परिवारका सबै सदस्यलाइ फुर्सद हुने भनेकेा दशैको केहि दिन हो । परिवारका हरेक सदस्य आआफनो व्यसायमा व्यस्त रहन्छन । त्यसैले दशैको तिन दिन सबैलाई फुर्सत मिल्छ । उक्त समयलाइ परिवारका सबै सदस्यहरुले सकेसम्म उत्कृष्ट हिसावले मनाउन चाहन्छन । दशैका बेला मिल्यो भने उनीहरु सपरिवार फिल्म पनि हेर्न जान्छन ।

सन्देश

यो दसैंले देशको शान्ति अझै दिगो बनाओस् । सबै नेपालीमा मेहनत गर्ने चाहना बढ्दै जाओस् । दुर्गा भगवतीले महिलाहरूलाई अझ सशक्त हुने प्रेरणा दिऊन् ।

सकारात्मक पक्ष

हामीजस्ता कामकाजीहरूका लागि लामो बिदाको अवसर । कामले थाकेकाहरूलाई रिचार्ज गर्छ । परम्परा एवं संस्कृतिको पुस्तान्तरण । परिवारमा भएको गुनासो हटाउने अवसर । परिवारका सबै सदस्य एकै ठाउँ भेला हुने पर्व । ठूलाबडाको आशीर्वादका साथै मीठा परिकारको मज्जा लिन सकिन्छ ।

 Image