Successfully Copied

यसपटकको मिस नेपाल

नेपालका विविध ठाउँमा छरिएर रहेकाहरूलाई रोजगारीको अवसर सिर्जना गर्न के सल्लाह दिनुहुन्छ ?

नेपालका विविध ठाउँमा छरिएर रहेकाहरूलाई रोजगारीको अवसर सिर्जना गर्न के सल्लाह दिनुहुन्छ ? भन्ने प्रमुख निर्णायक रुक्मांगद कटुवालको प्रश्नमा हाम्रो देश प्राकृतिक सम्पदा र विविध स्रोतले भरिपूर्ण छ। हामीकहाँ भएको जलस्रोत, खनिज एवं वनसम्पदाको अधिकतम उपयोग गर्ने सके देशलाई समृद्धिको बाटोमा अघि बढाउन सकिन्छ।  म रोजगारीको अवसर सिर्जना गर्न हामीकहाँ भएका विविध स्रोतको अधिकतम उपयोग गर्न सल्लाह दिन्छु' भन्ने उत्तर दिएर धरान, विजयपुरकी सुविन लिम्बु मिस नेपाल-२०१४ को उपाधि जित्न सफल भइन्। थेम्स कलेजमा बीबीए अध्ययनरत २३ वर्षीया सुबिनले १८ जना प्रतिस्पर्धीलाई उछिन्दै हिडन टे्रजर फ्यान्टा मिस नेपाल-२०१४ को उपाधि जितेकी हुन्। उनले उपाधिसँगै नगद १ लाख प्राप्त गरेकी छिन् भने लन्डनमा हुने मिस वल्र्डमा भाग लिने अवसर पनि प्राप्त गरेकी छिन्। नयाँ मिस नेपाल सुबिन मिस मंगोल-२०१० की फस्ट रनर्सअप पनि हुन्।

मिस नेपाल अर्थ-२०१४ को उपाधि काठमाडौंकी २१ वर्षीया प्रिन्सा श्रेष्ठले प्राप्त गरिन्। उपाधिसँगै उनले ५६ हजार नगद पाएकी प्रिन्सा मिस अर्थ-२०१४ मा फिलिपिन्स जाँदै छिन्। प्रिन्साले मिस ब्युटिफुल विथ पर्पाेज तथा मिस बेस्ट कम्प्लेक्सनको उपाधिसमेत हात पारिन्। उनी २००८ की मिस टिन कलेज पनि हुन् । यस्तै मिस नेपाल इन्टरनेसनल-२०१४ को उपाधि पोखराकी २३ वर्षीया सोनी राजभण्डारीले प्राप्त गरिन्। उनले उपाधिसँंगै ४० हजार रुपैयाँ पाइन् भने सोनीले  जापानमा हुने मिस इन्टरनेसनल-२०१४ मा नेपालको प्रतिनिधित्वसमेत गर्नेछिन्। सोनीले मिस स्टाइल र मिस फ्रेन्डसिपको उपाधिसमेत जितेकी थिइन्।

एउटी साधारण युवती अचानक सेलिब्रेटीको स्टाटस बनाउन सफल हुने प्रतिस्पर्धा हो- मिस नेपाल। हुन त आजभोलि हप्तौं पिच्छे विभिन्न शीर्षकमा  सुन्दरी प्रतियोगिताहरू हुन्छन् तर पनि विगत १९ वर्षदेखि नियमित आयोजित हुँदै आएको मिस नेपाल एउटा यस्तो प्रतिस्पर्धा हो, जसका विजेताहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाउँछन्। मिस नेपाल उपाधि विजेताले मिस वल्र्ड, फस्ट रनर्सअपले मिस अर्थ, सेकेन्ड रनर्सअपले मिस इन्टरनेसनलमा भाग लिन जाने अवसर प्राप्त गर्दै आएका छन्। त्यही कारणले पनि युवतीहरूमा मिस नेपालमा भाग लिने सपना बढी हुन्छ। त्यसका लागि उनीहरूले महिनौं अघिदेखि छनोट भएर विभिन्न प्रशिक्षण लिई आत्मबल बलियो बनाएका हुन्छन्।

राजधानीस्थित आर्मी अफिसर क्लबमा सम्पन्न मिस वल्र्ड नेपाल चयन कार्यक्रममा अन्य उपाधि पनि प्रदान गरियो, जसमा मिस फोटोजेनिक शीताष्मा बन, मिस पंचुयालिटी अलिसा कुँवर तथा मिस ट्यालेन्ट र मिस बब्लीको उपाधि लाक्पा वाङमो तामाङले जिते। यस्तै मिस ब्युटिफुल हेयर रश्मि अधिकारीले तथा मिस पर्सनाल्टीको उपाधि प्रनयना केसीले प्राप्त गरे।

प्रतियोगिताको निर्णायकमा चलचित्र संघका उपाध्यक्ष नकिम उद्दिन, सञ्चारकर्मी सिवानी थापा बस्नेत, महिला अधिकारकर्मी प्रमदा शाह, मिस अर्थ-२०१० साहाना बज्राचार्य, उद्यमी सुहृद ज्योति, विज्ञापन व्यवसायी आशुतोष तिवारी, डा. सविना श्रेष्ठ प्रधान, अनिल मल्लिक तथा प्रणयरत्न स्थापित थिए।   

मिस नेपालमा यसपटक राजधानीबाहेक नुवाकोट, जनकपुर, पोखरा, झापा, चितवन, मोरङ, ललितपुर, रसुवा, पाँचथर, धरान तथा नवलपरासीका युवतीहरूले सहभागिता जनाएका थिए। मिस नेपाल-२०१३ इशानीले आफ्नो अनुभव सुनाएको यस पटकको प्रतियोगितामा पहिलो मिस नेपाल रुवी राणादेखि लिएर पूर्व मिस नेपालहरू माल्भिका सुब्बा, सुगारिका केसी, मलिना जोशी तथा सदीक्षा श्रेष्ठको पनि उपस्थिति थियो।

 

 Image