Successfully Copied

नारीले इतिहास कोरिसकेको छ

म नारीको नियमित पाठक हुँ। महिलाका लागि निकै उपयोगी यो पत्रिकाले छुट्टै इतिहास बनाइसकेको छ। महिलासम्बन्धी पत्रिकाले एक दशकभन्दा लामो समय सफलतापूर्वक पार गरेकोमा म हृदयदेखि नै खुसी छु। यो अवधिमा नारीमा कतिपय नयाँ स्तम्भ थपिएका छन् भने समयअनुसार असान्दर्भिक कुराहरू हटाइएका छन्।

महिलाका पक्षमा थुप्रै काम भैरहँदा पनि महिलाको स्थितिमा परिवर्तन नआएको देख्दा अचम्म लागेर आउँछ। (महिलाका पक्षमा भएका राम्रा काम, वैशाख नारी)

      - सरस्वती शर्मा, गोंगबु

गत महिनाको कभर सार्‍है मन पर्‍यो। स्नेहा राणाले कसरी सौन्दर्य मेन्टेन गर्नुभएको होला ?

      - अञ्जली सेढाईं, धापासी

जुम्ल्याहा सन्तान हुर्काउने आमाहरूको परिश्रम प्रशंसनीय छ। यो साँच्चिकै कठिन कार्य हो। (जुम्ल्याहा छोराछोरी र आमा, वैशाख, नारी)

      - विनिता मरहट्ठा, गोरखा

एकल जीवन बिताउनुको पीडा भुलेर सन्तानको भविष्यका लागि आत्मोत्सर्ग गर्ने महान् आमाहरूलाई सलाम। (एकल आमाले बनाएका सन्तानहरू, वैशाख, नारी)

      - कल्पना शिवाकोटी,

विशालनगर, काठमाडौं

वर्षका चर्चित नेपाली महिलाहरूको संक्षिप्त चिनारी प्रकाशन भएकोमा खुसी लाग्यो। म नारीप्रति आभारी छु। (वर्षका चर्चित महिला, वैशाख, नारी)

      - सुशीला गैरे, बाग्लुङ

धनकुटाको हिले साँच्चिकै सुन्दर छ। सम्पूर्ण नेपालीले जीवनमा एक पटक उक्त स्थानको भ्रमण गर्नु राम्रो हुन्छ। (परिवेश बदलिँदै छ हिलेको, वैशाख, नारी)

      - सपना राई, धरान

गतांकको फेसन जिज्ञासा मन पर्‍यो।  

      - सुमना, कुपण्डोल

नारीको चैत अंकमा प्रकाशित भगवान् शीर्षकको कथा सार्‍है राम्रो थियो।

      - साम्भवी नेपाल, चितवन

नारीमा आन्तरिक सौन्दर्य बढाउने खालका लेखरचना एवं स्तम्भहरू थप्नुपर्‍यो।  

      - वर्षा कुइँकेल, बाँसबारी

समयअनुसार समाज अनि किशोरीहरूको सोच्ने शैलीमा परिवर्तन देखा पर्नु स्वाभाविक हो। (स्वीट १६ को सपना, वैशाख, नारी)

      - सविता कट्टेल, धादिङ

नेपालीहरूको राष्ट्रिय रोग ग्यास्टि्रकको नालिबेली जानकारीमूलक छ। पक्कै पनि यसले नारीका पाठकहरूलाई सचेत गराउनेछ। (ग्यास्ट्राइटिस हाम्रो राष्ट्रिय रोग, नारी, वैशाख)

      - विमला आचार्य, कालोपुल, काठमाडौं

नारीले इतिहास कोरिसकेको छ 

म नारीको नियमित पाठक हुँ। महिलाका लागि निकै उपयोगी यो पत्रिकाले छुट्टै इतिहास बनाइसकेको छ। महिलासम्बन्धी पत्रिकाले एक दशकभन्दा लामो समय सफलतापूर्वक पार गरेकोमा म हृदयदेखि नै खुसी छु। यो अवधिमा नारीमा कतिपय नयाँ स्तम्भ थपिएका छन् भने समयअनुसार असान्दर्भिक कुराहरू हटाइएका छन्। यसरी आफूलाई समयसान्दर्भिक रूपमा परिवर्तन गर्दै लानाले पनि नारी सकारात्मक रूपले अघि बढिरहेको हो। नारी सदैव पाठकको अपेक्षाअनुरूप चल्ने पत्रिका हो। यो अझै राम्रो हुँदै जानुपर्छ। महिलाका पक्षमा आवाज उठाउनुपर्छ। नेपाली नारीको प्रतिनिधिमूलक पत्रिका भएकाले यसको जिम्मेवारी पनि ठूलो छ। आजसम्म यसले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गर्दै आएको छ। आगामी दिनमा पनि यो पत्रिका अझ सशक्त रूपले अघि बढोस् र नयाँ-नयाँ इतिहास कोर्दै जाओस् भन्ने शुभकामना।

      - बबिना शाही, चाबहिल

पिर्ने त उही लोडसेडिङ

नेपाली जनताको उज्यालोमा बस्ने सपना हत्तपत्त पूरा हुने सम्भावना देखिँदैन। जलस्रोतको धनी देशका जनता अन्धकारमा बाँच्न विवश छन्। अहिले नेपालीहरूलाई लोडसेडिङले रुवाएको छ। यसकै कारण  देशविकासको गति ओरालो लागेको छ। नयाँ खुल्ने त परको कुरा भएका उद्योगधन्दा पनि पलायन भएका छन्। यसकै कारण आर्थिक क्षेत्र शिथिल छ। नेपाल एक्काइसौं शताब्दीमा पनि मैनबत्ती र टुकीको उज्यालोमा बामे सर्दै छ। योभन्दा ठूलो दुर्गति के हुन सक्छ ? अझ दुःखलाग्दो कुरा के छ भने समाधानको ठोस प्रयास हुन सकेको छैन। नेतृत्व वर्गलाईर् जनताको पीडाबोध हुन सकेको छैन। के स्थिति सदैव यस्तै रहला ?

      - दुर्गा पौडेल, काठमाडौं 

महिला अधिकार कि मानव अधिकार

पहिले श्रीमान्कै कमाइमा निर्भर रहनुपर्ने महिलाहरू हिजोआज कामकाजी हुन थालेका छन्। पहिले उनीहरू आफ्नो आय पनि नभएको र परिवारमा शान्ति पनि होस् भनेर जस्तोसुकै अवहेलना पनि सहेर बस्थे भने कामकाजी हुन थालेसँगै चेतनामा वृद्धि भएपछि उनीहरू आत्मसम्मान र स्वपहिचानका लागि कुनै सम्झौता गर्न नहुने रहेछ भन्ने निष्कर्षमा पुगेका छन् । यसबाट पुरुष वर्गलाई झस्का लागेको देखिन्छ जसले गर्दा द्वन्द्वात्मक स्थिति उत्पन्न भएजस्तो पनि देखिएको छ तर सत्य के हो भने महिला र पुरुष दुवै मानव हुन्, प्राकृतिक रूपमै एकअर्काका परिपूरक। यिनको समन्वयबाट नै मानव सृष्टि र सभ्यताले निरन्तरता पाइरहेको छ। यी दुईबीच द्वन्द्व हुनु हुँदैन बरु हरेक कुरामा समान सहभागिता हुनुपर्छ। महिला अधिकार भन्नुभन्दा पनि अब मानव अधिकारको कुरा गर्नु र महिला पहिले मानव हुन् भन्ने मान्यता स्थापित हुनुपर्छ। हरेक मानिस अधिकार सम्पन्न भएको समाजमा महिलाचाहिँ अधिकारविहीन हुने भन्ने कुरै रहँदैन।

      - गंगा केसी, मोरङ

हरेक नारी महान् छन्

संसारमा नारीको स्थान निकै उच्च छ। गत महिना नारीमा प्रकाशित एकल आमाले बनाएका सन्तानहरू, जुम्ल्याहा छोराछोरी र आमाजस्ता लेख पढ्दा त त्यो कुरा थप पुष्टि भएको पाएँ। नारीहरूको यो महानताले जोकसैलाई पनि प्रभावित तुल्याउँछ। सामाजिक, राजनीतिक, आर्थिक एवं पारिवारिकजस्ता हरेक क्षेत्रमा नारीहरूले गरेका त्यस्ता काम हेर्दा साधारण भए पनि असाधारण छ। नारीले मानव जातिको भलाइका लागि पुर्‍याएको योगदानको कदर गर्न सक्नुपर्छ। कतिपय नारी एक्लो अवस्थामा पनि छन्, उनीहरूले आफूलाई कमजोर मानेका छैनन् बरु साहस र हिम्मतले अरू नारीलाई हौसला प्रदान गरेका छन्।

गोमा खत्री, ओखलढुंगा (हाल ः काठमाडौं)

      - नारामा सीमित स्वाधीनता

नारी स्वाधीनताको चर्काे नारा जताततै सुन्न सकिन्छ तथापि देश संक्रमणकालबाट गुजि्ररहँदा नारीका पक्षमा उठेको आवाज कमजोर भएको छ। परम्परा, धर्म, संस्कृति तथा अन्य विविध बहानामा नारीमाथि अत्याचार भैरहेको छ। शिक्षित महिलाहरू समेत शारीरिक एवं मानसिक उत्पीडनको सिकार भैरहेका छन् तर त्यसविरुद्ध ठोस कदम चाल्ने काम राज्यका कुनै पनि संयन्त्रबाट भएको देखिँदैन। एनजीओ-आइएनजीओहरूले यो विषयमा चर्का नारा उरालेका छन् तर ती पनि नारामै मात्र सीमित छन्। यस्तो अवस्थामा नारी स्वाधीनताको जगेर्ना गर्न समस्याको मूल चुरो पहिल्याउनु आवश्यक छ। समस्याको मूल जरो पत्ता लगाई महिलालाई आर्थिक हिसाबले स्वतन्त्र बनाउन सकिए मात्र स्वाधीनताको नारा सफल हुनेछ अन्यथा जतिसुकै ठूला कुरा गरे पनि नारीहरू स्वाधीन हुन सक्ने छैनन्। उनीहरूलाई हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन आए नारीहरू वास्तविक रूपमा स्वाधीन हुनेछन्। भर्खरै बितेको दसैंमा पनि नारीहरूले परिवर्तन त्यति पाएनन् उही परम्परागत सांस्कृतिक मान्यताकै लिस्नो बन्ने कार्यमा संलग्न भए उनीहरू। हुन त परिवर्तन एकैपटक आउने कुरा होइन तर पनि त्यसको केही छनक भने देखिनैपर्छ।

      - विनीता हुमागाईं, काभ्रे

 

 

 Image