Successfully Copied

व्यवहारकुशल, असल आमा र सुख-दुःखको साथी पाएँ

पहिलो पटक विवाह गरेकी श्रीमती गौरीको निधन भएपछि लमजुङको एक स्कुलका पि्रन्सिपल तथा कवि माधवप्रसाद घिमिरे विचलित भए।

पहिलो पटक विवाह गरेकी श्रीमती गौरीको निधन भएपछि लमजुङको एक स्कुलका पि्रन्सिपल तथा कवि माधवप्रसाद घिमिरे विचलित भए। धेरै माया गरेकी श्रीमती, दुई साना छोरीकी आमा गौरीले केही वर्षमै  उनको साथ छोडिन्। घर-व्यवहारमा त्यति वास्ता नगर्ने, कवितालाई प्राथमिकता दिने घिमिरेका लागि दोस्रो विवाहबाहेक अरू उपाय थिएन। त्यतिबेला उनी २८ वर्षे लक्का जवान थिए। लमजुङ उत्तरतिरका घिमिरे आफैले काकालाई केही ठाउँबाट केटीका कुराहरू आएका छन्, केही ठाउँमा हेर्नुपर्नेछ भनेर केटी हेर्ने जिम्मा दिए। उनको भनाइ थियो-'अर्काकी छोरी हेरेपछि छाड्नु हुँदैन।'

त्यही कुराअनुसार लमजुङकै भए पनि एकदिन बाटो फरक पर्ने ठाउँकी महाकालीलाई काकाले बुहारीका रूपमा उपयुक्त हुने बताएपछि १३ वर्षकी महाकालीसित उनको विवाह भयो। घिमिरेले घरमा ल्याएर घुम्टो उघारेपछि उनको अनुहार देखे भने महाकालीले भने त्यतिबेला पनि श्रीमान्को अनुहार हेरिनन्।

विवाहको एक वर्ष महाकाली माइतीमै बसिन्। पछि घर आएपछि जेठी छोरी शान्तिसँग पुतली बनाएर खेलेका क्षणहरू सम्झदै भनिन्, सुरुमा अप्ठ्यारो भयो। कहिलेकाहीँ श्रीमान्लाई खाना पकाएर स्कुल पठाएपछि छोरी शान्तिसँग खेल्थें। पछि छिमेकीहरूले पनि गुरुआमा भनेर मान्ने, घिउ, दूध ल्याइदिने गर्न थाले। उनीहरूसँग खेल्ने, दिनमा १३-१४ वटासम्म सुन्तला खाने महाकालीलाई साथीहरू धेरै भएकाले माइती बिर्सन सजिलो भयो।

स्कुलमा काम गर्ने हुनाले डेरामा बस्दै आएका घिमिरेले श्रीमतीलाई डेरामै भित्र्याएका हुन्। त्यही भएर सासू-ससुराको चाकडी गर्नुपरेन तर दुई छोरीको रेखदेख र घर-व्यवहारको जिम्मा भने उनीमाथि नै थियो। उमेर सानो भए पनि व्यवहारले पाको बनाउने कुरा उनको जीवनमा ठ्याक्कै मिल्यो।

राष्ट्रकवि माधवप्रसाद घिमिरे श्रीमतीलाई चतुर एवं व्यवहारकुशल जीवनसाथीका रूपमा लिन्छन्। घिमिरेका अनुसार उनकी श्रीमती अर्थमन्त्री, गृहमन्त्री सबै हुन्। घर खर्च अनि व्यवहारको सन्तुलन उनी आफै मिलाउँछिन्। विवाह गर्दा ३५ रुपैयाँको तलबदेखि अहिले सबैतिरबाट आउने मोटामोटी ३५ हजारसम्म पुग्दा पनि सबै रकम श्रीमतीलाई नै जिम्म्ाा लगाउँछन् घिमिरे। श्रीमान्को पकेट खर्च उनी आफै छुट्याएर दिन्थिन्। उनीतिरबाट चार वटी छोरी र दुई छोरा भए। दुईटी श्रीमतीका ८ जना सन्तानलाई कुनै पक्षपात नगरी एकनास माया र व्यवहार गरेर आज सबैलाई आ-आफ्नो पहिचान बनाउन सफल बनाइन्।

घिमिरेले श्रीमतीलाई घरमै लेखपढ गर्न सिकाए। महाकाली पनि नेपाली, हिन्दी मज्जाले पढ्न सक्छिन्। श्रीमान्को प्रथम श्रोता पनि उनी नै हुन्। गीत लेखेपछि सुनाउने, उनले राम्रो भने मात्र राम्रो लेखिएछ भन्ने लाग्थ्यो। साहित्यमा लागेकाहरू एकोहोरो हुन्छन् तर श्रीमतीले रातभरि कविता लेख्ने, पढ्ने, छोराछोरी एवं घर-व्यवहारमा वास्ता नगरे पनि कहिल्यै गुनासो नगर्ने व्यवहारकै कारण आज राष्ट्रकवि जस्तो पद पाएको घिमिरे गर्वसाथ बताउँछन्। यदि घरपरिवार, छोराछोरीको व्यवहारले मलाई पनि तानिरह्यो भने कसरी रचना गर्न सकिन्छ र ? भन्दै कान्छी श्रीमतीका रूपमा महाकालीलाई पाउनु पूर्वजन्मको धर्मको परिणाम मान्छन् उनी।

घिमिरे पहाडबाट काठमाडौं आएपछि धेरै दुःख भोगेको अनुभव सुनाउँछन्। तलबले नपुग्ने, ८ जना सन्तानलाई आफू भोकै रहेर पनि राम्रो शिक्षा दिनुपर्छ भनेर लागिपरे उनी। २०१४ सालमा नेपाल एकेडेमीमा प्रवेश पाएपछि अलि राहत पुगेको घिमिरेले बताए। श्रीमती गहना जोड्ने, लुगा जोर्ने भएको भए बालबच्चाको पढाइ र मेरो लेखनको निरन्तरता कसरी सम्भव हुन्थ्यो र ? भन्दै राष्ट्रकवि माधवप्रसाद घिमिरे भन्छन्-घर भनेको महिलाले बसाल्ने हो। दुवैको समझदारी नभै घर हुँदैन। श्रीमान् र श्रीमती मिलेको घर स्वर्ग हो भने दम्पतीबीच झगडा मात्र हुने र मन अन्तै हुने हो भने त्यो घर नर्क हो।

महाकालीलाई श्रीमान् निकै मेहनती लाग्छन्। राति सबै सुतेपछि लेख्न थाल्थे र ४ बजेपछि  २-३ घन्टा मात्र सुत्थे घिमिरे। श्रीमान्को सबै कुरा अति राम्रो मान्ने महाकाली भन्छिन्-भित्रैदेखि समर्पित भएर होला कुनै नराम्रो बानी देखिन।' विवाह भएको ६५ वर्ष बितिसक्दा पनि उनीहरूबीच कुनै कुरामा मनमुटाव भएको छैन।

९५ वर्षका राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा ७७ वर्षीया जीवनसंगिनी महाकाली घिमिरे छोराछोरी आफ्नो काममा व्यस्त रहनु परेकाले एकको सहारा अर्को भएर दिन काट्दै छन्। दुवैलाई सुगर तथा प्रेसरले च्यापेको छ भने कहिले के दुख्ने कहिले के हुने भैरहन्छ। एक-अर्काको माया र साथले बाँकी जीवन पनि राम्रोसँग बिताउने उनीहरू बताउँछन्। दुःख नभएको भए यो पहिचान हुँदैन थियो। पहाडमै बसेको भए यति समय बाँचिदैनथ्यो। निकै भावुक हुँदै उनीहरूले बताए।

श्रीमतीको नजरमा राष्ट्रकवि

उहाँ कस्तो स्वभावको हुनुहुन्छ ?

नरम, हाँसीमजाक गर्नुपर्ने, कहिल्यै ्र

ठूलो नहुने।

कविहरू एकोहोरो हुन्छन् भन्छन् नि ?

त्यो त हो, कहिले त भनेको कुरा पनि बिर्सनुहुन्छ, जति बोलाए पनि वास्ता ्र

नगरी लेखिरहनुहुन्छ।

घरको काममा कत्तिको सहयोग गर्नुहुन्छ ?

सन्चो नहुँदा पकाएर ख्वाउनुहुन्छ।

तपाईंलाई के भनेर बोलाउनुहुन्छ ?

कहिले ए महाकालीजी भनेर त कहिले केटाकेटीकी आमा भनेर।

सबैभन्दा खुसीको क्षण ?

उहाँलाई राष्ट्रकवि घोषणा गर्दा।

 Image