Successfully Copied

गोपालका गीत संग्रह सार्वजनिक

काठमाडौंमा आयोजित एक कार्यक्रममा चर्चित गीतकार, संगीतकार, गायक एवं वाद्यवादक गोपाल योञ्जनको ‘गोपालय' गोपाल योञ्जनका गीतहरू’ नामक पुस्तक तथा ‘हर नाद’ गीत सार्वजनिक गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा चर्चित गीतकार, संगीतकार, गायक एवं वाद्यवादक गोपाल योञ्जनको ‘गोपालय' गोपाल योञ्जनका गीतहरू’ नामक पुस्तक तथा ‘हर नाद’ गीत सार्वजनिक गरिएको छ । पुस्तक र गीत गोपालको २५ औं स्मृति दिवसको अवसरमा सार्वजनिक गरिएको हो ।

‘हर नाद’ गीतको रेकर्डिङ भारत र नेपालमा भएको हो । त्यतिबेला प्रयोग गरिएका वाद्यवादनमै रेकर्ड गरिएका गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको छ । यो गोपालको अन्तिम आध्यात्मिक गीत हो । यो गीत लेखेर रफ रेकर्ड गरी उनले आफ्ना चेलाहरूलाई सिकाएका थिए । त्यसताका रेकर्डिङभने गरिएको थिएन । हाल गोपाल योञ्जनकी नातिनी तथा सिर्जनासिंह योञ्जनकी छोरी नवश्री सिंहको स्वरमा यो गीत रेकर्ड गरिएको हो ।

गोपालको निधन भएपछि धेरैले उनको पुस्तक निकाल्नुपर्ने आवाज उठाएका थिए । तर, पुस्तक निकाल्न उनको परिवारलाई चुनौती थियो । सबै पक्षलाई समेट्दै पुस्तक निकाल्ने कि ?भन्ने अन्योलकै बीच हाल परिवारले उनले लेखेका गीतहरूको पुस्तक प्रकाशित गर्ने निर्णय ग¥यो । हुन त यसअघि केही प्रकाशकले ‘गोपाल योञ्जनका १० गीत’ भन्दै पुस्तकहरू सार्वजनिक गरिसकेका छन् । गोपालको निधनलगत्तै श्रीमती रेन्छिन योञ्जन र छोरी सिर्जनासिंहले उनका पुराना गीतहरू खोज्दै संकलन गर्न थालेका थिए ।

बुवाको निधन भएको दुई वर्षसम्म सिर्जनाले पीडासँग जुध्न रेडियो, टेलिभिजनमा कुनै पनि गीत नसुनेको बताइन् । त्यसपछि केही त गरौं भन्दै विस्तारै ‘मलाई माफ गरिदेऊ’ बोलको गीत रि–रेकर्ड गर्ने र आमाले गरेको काममा उनले सहयोग गर्दै गइन् । बुवाका गीतहरू सुन्दै जाँदा उनलाई अर्थपूर्ण लाग्न थालेको उनले बताइन् । कुनै–कुनै गीत त कसरी लेख्नुभयो होला भनेर सिर्जना घोत्लिन्थिन् । उनले भनिन्, ‘मेरी आमाले यो पुस्तक संगीतका विद्यार्थीका लागि लक्षित गरेर निकाल्ने उद्देश्य राख्नुभएको हो ।’

गोपालका करिब साढे दुई सय गीत पुस्तकमा समेटिएका छन् । उनले लेखेका गीत मात्र होइन, संगीत भरेका गीतहरू,  विदेशका केही कार्यक्रमका लागि बनाइएका गीत खोजी गर्ने क्रम जारी छ । ‘उहाँको निधन भएको २५ वर्ष भइसक्यो । तर, खोज्ने क्रममा परिवार नै अग्रसर हुनुपर्दो रहेछ,’ सिर्जनाले भनिन्, ‘कसैले मेरा लागि गीत लेखिदिनु न भन्दा पनि बुवाले गीत लेखिदिनुभएको थियो । ती गीतहरू एक–दुई पटक गाइयो होला तर ज–जसले लिएर जानुभयो उहाँसँगै सीमित छन् ।

उहाँहरूलाई त्यो गीतको सम्झना छ भनेर सोध्दा, ओहो बिर्सिसकें, आधा मात्रै आउँछ भन्ने थुप्रै गीतहरू छन् ।’ उनले त्यस्तै व्यक्तिहरूलाई  झकझकाउँदै गीतहरू संकलन गर्ने जमर्को गरेको बताइन् ।

‘पुलिस क्लबमा छँदा रचना गरिएका गीतहरूको समेत खोजी गर्दा सबै त भेटेनौं तर केही संकलन गर्न सफल भएका छांै’ उनले भनिन् । ‘यसमा समय भने धेरै लाग्यो ।’ अमेरिकाको कर्णेल युनिभर्सिटीमा योञ्जन परिवारले गोपालका गीतहरू अर्काइभ गर्दै आएको छ ।

 Image