Successfully Copied

गजबका जोडी

४८ वर्षअघि प्रज्ञा प्रतिष्ठान, कमलादीमा वसन्त श्रेष्ठ सहायक नृत्यनिर्देशकका रूपमा जागिरे थिए । त्यसताका दोलखाकी १७ वर्षीया लक्ष्मी श्रेष्ठ नृत्य प्रशिक्षार्थीका रूपमा त्यहीँ पुगेकी थिइन् । सुरुमा उनीहरूबीच गुरु र शिष्यको नाता बन्यो ।

४८ वर्षअघि प्रज्ञा प्रतिष्ठान, कमलादीमा वसन्त श्रेष्ठ सहायक नृत्यनिर्देशकका रूपमा जागिरे थिए । त्यसताका दोलखाकी १७ वर्षीया लक्ष्मी श्रेष्ठ नृत्य प्रशिक्षार्थीका रूपमा त्यहीँ पुगेकी थिइन् । सुरुमा उनीहरूबीच गुरु र शिष्यको नाता बन्यो । वसन्त उतिबेला निकै चर्चित नृत्यनिर्देशक थिए । समय राम्ररी नै बितिरहेको थियो । जब वसन्तकी श्रीमतीले छोरीलाई जन्म दिएर प्रसवकै अवस्थामा मृत्युवरण गरिन् तब वसन्त विक्षिप्त बने । उनी भन्छन्, ‘त्यसअघि नै मेरा दुईसन्तान थिए, कान्छी छोरीको आगमनपछि तीन सन्तान भए । म एक्लो मान्छे, कामको चाप उस्तै । बालबच्चा स्याहार्ने, घरको रेखदेख गर्ने कोही थिएनन् । त्यसमाथि श्रीमती वियोगको पीडा त छँदै थियो । मलाई यो विकराल अवस्थाबाट निस्किन निकै गाह्रो भयो ।’ उनी साथीभाइ र एकेडेमीका सिनियरहरूलाई आफ्नो पीडा सुनाउँथे, आफूलाई अत्यन्तै गाह्रो भएको कुरा बताउँथे, तिनीहरू ढाडस दिन आलो घाउ पुरिएर खाटा बस्न समय लाग्छ, त्यसपछि बिस्तारै ठीक हुन्छ भनेर सम्झाउँथे । 

वसन्तले आफ्ना प्रशिक्षार्थीहरूलाई नजिकबाट नियालिरहेका हुन्थे । बलबुँताले भ्याएसम्म आफूसँग भएको कला, ज्ञान र सीप सिकाउँथे । यसैबीच उनले लक्ष्मी श्रेष्ठलाई निकै परिपक्व, व्यावहारिक र अनुशासित पाएका थिए । उनी भन्छन्, ‘अरु भन्दा फरक पाउँथें म उनलाई । त्यो घटना भएको तीन वर्षपछि मैले लक्ष्मीसमक्ष विवाहको प्रस्ताव राखें । सुरुमा त उनी अवाक् भइन् । केही समयपछि उनले मेरो प्रस्तावलाई स्वीकार गरिन् । अनि जीवनका विभिन्न आरोह–अवरोह छिचोल्दै, चुनौती सामना गर्दै सुखदुःखमा साथसाथै अगाडि बढियो ।’ उता लक्ष्मी तीन सन्तानका बुवाले आफूलाई प्रस्ताव राख्दा सुरुमा डराएको, हतास भएको बताउँछिन् । भन्छिन्, ‘म त्यसताका नोबल खुबै पढ्थें । त्यसभित्रका कथाले म बढी उत्प्रेरित भएकी थिएँ । प्रस्ताव आइसकेपछि मैले धेरै सोचविचार गरें । म एक जना मान्छेको त्यागले तीन वटा सन्तान, एकजना असल व्यक्ति र सिंगो परिवारलाई नै राम्रो हुन्छ भने मैले त्यो त्याग किन नगर्ने ? भन्ने प्रश्न मनमा खेल्न थाले । अन्तमा मैले यसैभित्र मानव धर्म देखें र त्यो चुनौतीलाई स्वीकार गरें ।’

विवाहको डेढ वर्षपछि लक्ष्मीले छोरो जन्माइन् । उनले ती चारैजना सन्तानलाई आमाको ममता दिएर हुर्काइन् । सन्तानमा कुनै कुराको कमी हुन दिइनन् । वसन्त काम गर्थे । व्यावहारिक र परिपक्व उनले सन्तान र घर राम्ररी सम्हालिन् । वसन्त भन्छन्, ‘१० हजार रुपैंयाँमा सामाखुसीमा एक रोपनी जग्गा आउँथ्यो, म भने त्यो जग्गा जोड्नुको साटो छ हजारको मोटरसाइकल चढेर हिँड्थें । लक्ष्मीको आगमनपछि कमाउने, जमाउने, जग्गा जोड्ने कुरा सम्भव भए । चार जना सन्तानलाई राम्रो शिक्षा दिएर हुर्कायौं । दुई सय २५ रुपैंयाँ तलब आउँथ्यो सबै पैसा स्कुलमा बुझाउनुपर्थ्यो । कति चुनौती मोलियो, कति दुःख पार गरियो भनी साध्य छैन ।’ वसन्तलाई सबै साथीभाइले राम्रो घर बनाउन सुझाउँथे तर उनी भने मेरो दुईवटा घर बनिरहेका छन् भन्थे, अरुले कहाँ बन्दैछ घर ? भनेर प्रश्न गर्दा उनले छोराहरू पढ्ने विद्यालयको नाम लिन्थे । 

लक्ष्मीका अनुसार धेरैलाई र बच्चाहरू स्वयंलाई पनि ती उनका सन्तान होइनन् भन्ने ख्यालै हुँदैनथ्यो । हुन पनि उनले त्यो घर भित्रिएदेखि आजसम्म उनी कर्म दिने मात्र नभएर जन्म दिने आमासरहकै माया, ममता र व्यवहार गरेको बताउँछिन् । छोराछोरीबाट पनि सोहीअनुसारको माया र व्यवहार पाएकोमा उनी सन्तुष्ट रहेको बताउँछिन् । भन्छिन्, ‘उहाँ परिपक्व भएकाले मलाई निकै सहयोग र हौसला मिल्यो । सोहीअनुसार मैले पनि आफूले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्दै गएँ । मलाई अहिले लाग्छ प्रेम भनेको विश्वास रहेछ । अनि विवाह भनेको एक–अर्कामा पूरक हुने प्रक्रियाका साथै आपसी समझदारी । यही दुई चीजले आजसम्म हामीलाई बाँधेर राखेको छ ।’ 

छेवैमा बसिरहेकी श्रीमतीलाई नियाल्दै वसन्त भन्छन्, ‘म आफूलाई असाध्यै भाग्यमानी सम्झिन्छु यसर्थमा कि एउटी अविवाहित युवती त्यो पनि त्यति सानो उमेरमै म जस्तो तीन–तीन वटा बच्चाको बुवा भइसकेको मान्छेको लथालिङ्ग भएको जीवन सम्हाल्ने आँट बोकेर मेरो जीवनमा प्रवेश गरिन् । प्रेम र विश्वासले हामीलाई एक बनायो । उनले धेरै कुरामा सम्झौता गर्न नपरेको होइन तर उनी कत्ति पनि विचलित नभई निरन्तर आफ्नो धर्म निर्वाह गर्दै गइन् । आपसी समझदारी र विश्वासले सम्बन्ध बलियो बनाउँदोरहेछ ।’ 

उमेरले सात दशक काटिसकेका वसन्त र छ दशक काटेकी लक्ष्मीको जोडी मनोरञ्जन वृत्तमा उदाहरणीय जोडीका रूपमा चिनिन्छ । आजसम्म पनि उनीहरूबीच उही प्रेम, विश्वास र एक–अर्काका भावना बुझिदिने आचरण छ । अहिले उनीहरूसँग घर, गाडी, शिक्षित सन्तान, सम्पत्ति सबै छ, यो सबै लक्ष्मीको त्याग, बलिदान, धैर्य र व्यावहारिक पनका कारण सम्भव भएको वसन्त बताउँछन् । ४३ वर्ष लामो वैवाहिक जीवनमा साधारण ठाकठुकबाहेक आजसम्म यो जोडीमा कुनै नराम्रो भएको छैन । हजुरबा–हजुरआमा बनिसकेका यी दम्पती आज पनि प्रेमको मिठासमा रमाउँदैछन् । यी दुवैजना एक–अर्काका प्रेरणा र हौसला हुन् । लक्ष्मी भन्छिन्, ‘उहाँबिनाको जीवन कल्पनासम्म गर्न सक्दिन । उहाँ हुनुभएन भने म के गर्छु होला, के हुन्छु होला, म त केही गर्न सक्दिन होला जस्तो लाग्छ ।’ लक्ष्मीले यसो भनिरहँदा सेतो चस्माभित्र वसन्तका आँखा रसाए । उनले बिस्तारै भने, ‘यिनी मेरी श्रीमती मात्रै नभएर मेरो प्रेम, मेरो विश्वास र प्रेरणा हुन् ।’

 

लक्ष्मीबारे वसन्त

बलियो पक्ष : दृढता ।

कमजोरी : कुनै कुरामा लागेपछि सधै त्यसैमा लागिरहने । 

कस्तीश्रीमती : बेस्ट वाइफ ।

आशा : उनलाई सधै स्वच्छ र खुसी देख्न चाहन्छु । 

आकर्षण पक्ष : उनको मप्रतिको प्रेम ।

वसन्तबारे लक्ष्मी

सबैभन्दा मनपर्ने पक्ष : इमान्दार, कुनै छलकपट नभएको मानिस ।

बलियो पक्ष : कामप्रति जिम्मेवार ।

सुधार्नुपर्ने बानी : एकैपटकमा विश्वास गरिहाल्ने ।

अपेक्षा : स्वस्थ हुनुहोस्, खुसी हुनुहोस् ।

 

 Image