कालापत्थर पदयात्राको अवधारणा कसरी आयो ?
सन् २०२१ मा विभिन्न क्षेत्रका महिला समेटेर मार्दी हिमालमा महिला दिवस मनाइएको थियो । त्यसमा म पनि थिएँ । मार्दी पुग्दा त्यहाँको प्राकृतिक मनोरम छटाले मलाई लोभ्यायो । त्यहाँबाट फर्केर अक्टोबर २०२१ मा विभिन्न क्षेत्रका २० जना महिलाका साथ अन्नपूर्ण बेस क्याम्पको यात्रा गर्यौं । मार्दी पुग्दा थुप्रै देख्नुपर्ने कुरा महसुस गरिए तापनि देख्न पाइएन । जलवायु परिवर्तनले सिजनमा लालीगुराँस नफुलेको, हिउँ नपरेको जानकारी प्राप्त भयो । पछि अन्नपूर्ण पुग्दा पनि तिनै कुरा अझ गहिरिएर महसुस गर्ने अवसर जुट्यो । जलवायु परिवर्तनले महिला मात्रै नभएर विश्वमा पारेको असरबारे हामी महिला किन अग्रगामी नहुने भनेर कालापत्थरको यात्रा तय भएको हो । जुन आगामी मार्च महिनामा हुँदैछ ।
यो यात्राको मूल उद्देश्य र सन्देश के हो ?
यसको मूल उद्देश्य भनेको हरेक महिला बाहिर निस्किएर सबल र सशक्त हुने अवसर प्रदान गर्नु हो । हामी मुख थुनेर हिनेको दुई वर्ष भइसक्यो । सबैमा डिप्रेसन बढ्दो छ । यस्तो बेलामा यात्रा गर्दा मनोबल बढ्ने मात्र होइन दिल, दिमाग र शरीरमा स्वस्थ र फुर्ती प्राप्त हुन्छ । अर्को कुरा, त्यति अग्लो स्थानमा पुगेर पग्लिएका हिमाल, बिगि्रँदै जान थालेका हिमनदी र वातावरणबारे हामी सजग र सचेत हुन्छौं । यो सन्देश विश्वभर प्रवाह गर्नु पनि हो । ‘ट्राभल कल्चर’ बढाउनु र आन्तरिक पर्यटन बढाउनु पनि हाम्रो अर्को उद्देश्य हो ।
यो यात्रामा कुन क्षेत्रका कतिजना महिला सहभागी हुँदैछन् ?
यो यात्रामा पाइलट, चिकित्सक, शिक्षक, लेखक, नर्स, एअरहोस्टेस, पत्रकारलगायतका करिब ५० जना महिला सहभागी गराउने कार्यक्रम छ ।
जलवायु परिवर्तनका कारण महिलामा के–कस्ता असर परेका छन् ?
जलवायु परिवर्तनको प्रत्यक्ष असर महिलामा बढी छ । यसले गाउँमा घाँस–दाउरा गर्ने र धारा वा कुवा गर्नुपर्ने महिलाको सास्ती बढाएको छ । यो विषयले कामका अतिरिक्त बोझ महिलामाथि थुपारिदिन्छ । यसले महिलाको स्वास्थ्यमै नकारात्मक असर पर्ने गरेको छ ।
महिला सक्रिय भए जलवायु परिवर्तनले हुने असरमा ह्रास आउनेमा विश्वस्त हुनुहुन्छ ?
यो विषयबारे महिलाले बुझ्नैपर्छ । नीति–नियम बनाउने स्थानमा महिला पुग्नुपर्यो । हरेक क्षेत्रका नीति निर्माण तहमा महिला सहभागिता र पहुँच बढाउनुपर्छ । महिलाले यस विषयमा स्थान पाए भने परिवर्तन असम्भव छैन ।
महिला सबलीकरण र सशक्तीकरणका तीनवटा सूत्र के–के हुन् ?
पहिलो कुरा शिक्षा, त्यसपछि समान अवसर र महिलाको आवाज सुनिनुपर्छ ।
आगामी शताब्दीमा महिलाका के–कस्ता मुद्दालाई प्राथमिकतामा राखेर हेरिनुपर्ला ?
महिला अब पुरुषसरह आफैं बाहिर निस्कनुपर्छ । अर्को कुरा, निर्णायक तहमा महिला आउनैपर्छ ।
छोरीहरूलाई साहसी र सशक्त बनाउन के गर्नुपर्ला ?
शिक्षा नै पहिलो आवश्यकता हो । घरमा समान व्यवहार गर्नुपर्यो । हरेक कुरामा समानता हुनुपर्यो । छोरी भनेर नियन्त्रणमा राख्न भएन । छोरीलाई पनि समान स्वतन्त्रता दिनुपर्छ । अहिले कालापत्थर जाने सवालमा कतिपय महिलाले म सक्छु र ? भन्नुको कारण छोरीलाई त्यसैगरी हुर्काइयो, अब त्यसो गर्नु भएन । परिवर्तन जरुरी छ ।
तपाईंका रुचि र रहरहरू के–के छन् ?
घुम्न मनपर्छ, प्रकृतिसँग घुलमिल हुन असाध्यै मनपर्छ । महिला क्षेत्रमै काम गर्ने रहर छ ।
महिलाका लागि दुई वटा उदाहरणीय काम गर्ने अवसर पाए के–के गर्नुहुन्थ्यो ?
हरेक निकायमा काम गर्ने महिलालाई १० दिनको भ्रमण भत्तासहित बिदा दिएर स्वतन्त्र घुम्नका लागि सरकारी तहबाटै निर्णय गराइदिन्थें । दोस्रो कुरा, नीति निर्माण तहमा बढीभन्दा बढी महिला पुर्याउँथें ।
आगामी योजना के छ ?
अब कालापत्थरको कार्यक्रम सफल पार्नु छ । सन् २०२२ भित्र सातैवटा प्रदेशमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम गर्ने योजना छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा केही सन्देश छ कि ?
यही अवसर पारेर छुट्टै सोच र फरक किसिमको नारा लिएर हामी कालापत्थर गइरहेका छौं । हामी महिलामा स्वजागरणको आवश्यकता छ । परिवर्तन आफैंबाट सुरु गर्ने हो । हामीले सुरु गर्यौं । अब हातमा हातमा मिलाएर अगाडि बढौं ।
(साथसाथैकी संस्थापक कार्कीसँगको कुराकानीमा आधारित )