Successfully Copied

‘मिस युनिभर्स’ सुजिता 

आफ्नो सपना साकार पार्नका लागि गर्नुपर्ने कसरतमा कहिल्यै हरेस खान हुँदैन । एक–दुईपटक असफल भइयो भन्दैमा प्रयास गर्न छोड्नु हुँदैन ।

बाल्यकालमा अन्तर्मुखी स्वभावकी थिइन्–सुजिता बस्नेत । नृत्य र विभिन्न प्रतियोगितामा सहभागी हुँदै जाँदा बल्ल उनको सबैसँग घुलमिल हुने बानी बस्यो । यो वर्ष उनी ‘मिस युनिभर्स नेपाल’ को ताज पहिरिन सफल भएकी छन् । ‘मिस युनिभर्सजस्ता प्रतियोगिता र प्लेटफर्मले व्यक्तित्व निखारमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ’ उनले भनिन्, ‘हामी जुनसुकै पेसामा भए पनि करियर बेनिफिटमा यस्ता प्लेटफर्म निकै सहयोगी बन्ने गरेको मैले अनुभूति गरें । बाल्यकालमा एक्लै बस्न रुचाउने म आफ्नो धारणा सार्वजनिक रूपमा स्पष्टसँग राख्न सक्ने अवस्थामा पुग्दा मलाई आफैं अचम्म लाग्छ ।’ आफ्नो जीवन निर्माणमा आफ्नी एकल आमा रीना कार्कीको ठूलो त्याग र बलिदान रहेको बताउने सुजिता अमेरिकामै जन्मे–हुर्केकी हुन् । उनले अमेरिकाको वासिङ्टन डिसीस्थित ‘जर्ज वासिङ्टन युनिभर्सिटी’ बाट आइटीमा ब्याचलर गरेकी छन् । सुजिता ‘मिस मेरिल्यान्ड अमेरिका’, ‘मिस अर्थ अमेरिका’, ‘मिस युनाइटेड स्टेट’ लगायतका ब्युटी प्याजेन्टको टप फाइभमा परिसकेकी छन् । उनी ‘मिस वर्ल्ड अमेरिका’ को ‘टप टेन’ मा समेत परिसकेकी छन् । 

फुर्सद मन नपराउने सुजिता आफूलाई मेहनती र संघर्षशील युवती भन्न रुचाउँछिन् । अघिल्लो वर्ष सम्पन्न ‘मिस युनिभर्स नेपाल’ को ‘फस्ट रनर अप’ सुजिताले यस वर्ष मुख्य टाइटल जित्न सफल भइन् । उनले भनिन्, ‘मलाई हेरेर सबैले अत्यन्तै आत्मविश्वासी छ भन्छन् तर म पनि मान्छे हुँ, म भित्र पनि भावना छ, म पनि नर्भस र इमोसनल हुन्छु तर कहिल्यै आफूभित्रको इच्छाशक्तिलाई डगमगाउन दिन्न । यति गर्न सकियो भने लक्ष्यमा पुगिन्छ भन्ने मलाई लाग्छ ।’ अमेरिकास्थित एउटा कम्पनीमा ‘आइटी कन्सल्टेन्ट’ का रूपमा उनी कार्यरत छिन् । 

सुजितासँग संवाद

‘मिस युनिभर्स’ को उपाधि जित्दा कस्तो लाग्यो ?

पहिला त सपनाजस्तै लाग्यो । स्टेजमा निकै नर्भस र इमोसनल भएँ । एक–दुई दिनसम्म यो वास्तवमै हो र ? भनेजस्तो भएको थियो तर क्रमशः यसपछि आफ्नो जिम्मेवारी बोध हुन थाल्यो । 

ताज पहिरिँदै गर्दा सबैभन्दा पहिला के कुराको सम्झना आयो ?

मेरी हजुरमुमालाई सम्झिएँ । त्यसपछि मेरा सम्पूर्ण परिवार, साथीभाइ र यो ताजका लागि मैले गरेको कडा मेहनतलाई सम्झिएँ ।

तपाईंमा भएको के कुराले यो ताज दिलायो भन्ने लाग्छ ?

वास्तवमा भन्ने हो भने म ‘टिपिकल प्याजेन्ट गर्ल’ होइन । तर म जे काम गर्छु शतप्रतिशत दिने गर्छु । यो ‘प्याजेन्ट’ का लागि मैले गरेको तयारी, मेरो उत्तर दिने तरिका, मेरो कडा मेहनत र आत्मविश्वास अनि पुरुषको वर्चस्व रहेको आइटी क्षेत्रमा काम गर्ने महिलाको हैसियतले स्टेजमा प्रस्तुत मेरो धारणाले यो सम्भव बनायो भन्ने मलाई लाग्छ ।

अब यो ताजलाई कसरी न्याय दिने प्रयास गर्नुहुन्छ ?

यो सुजिता बस्नेतको शिरमा लगाइएको क्राउन मात्र नभएर नेपाल देशको गौरव हो । उता गइसकेपछि मलाई मेरो नामले भन्दा पनि नेपाली भनेर चिन्छन् । अबको ‘मिस युनिभर्स इजरायल’ मा हुँदैछ । त्यहाँ गएर आफ्नो देशको कला, संस्कृति एवं पहिचानलाई प्राथमिकतामा राखेर विभिन्न प्रस्तुति दिनेछु । 

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मूल तत्व के हो जस्तो लाग्छ ?

विदेशमा नेपालीको जमघट र सांस्कृतिक कार्यक्रम गर्दा नेपाली समुदायमा मात्रै सीमित हुन्छ । तर अब विदेशी नागरिकका सामु पनि हाम्रो संस्कार र संस्कृति पुग्नुपर्छ । सामाजिक सञ्जालमार्फत हाम्रो संस्कृतिको प्रचार–प्रसार गर्ने योजनामा छु, जुन अत्यन्तै प्रभावकारी हुन्छ भन्ने मलाई लाग्छ । 

‘मिस युनिभर्स’ को तयारी कस्तो चल्दैछ ?

अब धेरै दिन बाँकी छैन । ‘कम्युनिकेसन स्किल’, ‘स्टेज परफरमेन्स’, ‘हेयर एण्ड मेकअप’ लगायत मेरो ‘लिटरेट–एड प्रोजेक्ट’ का लागि काम तीव्र गतिमा चलिरहेको छ । 

इजरायलको ‘मिस युनिभर्स ग्रान्ड फिनाले’ मा तपाईंको कस्तो प्रस्तुति रहनेछ ?

मैले सन् २०१३ देखि नै ‘लिटरेट–एड प्रोजेक्ट’ द्वारा दाङ र बर्दियामा लामो शोध गरेर त्यहाँका विपन्नहरूलाई निःशुल्क शिक्षा प्रदान गर्ने काम गर्दै आएकी छु । कतिले त अहिले ब्याचलर पास गरेर जागिर खाइरहेका छन् । त्यही प्रोजेक्टलाई बेस बनाएर शिक्षाद्वारा आर्थिक स्वतन्त्रता र सबलीकरण बारे भिडियो प्रस्तुत गर्ने योजना छ । त्यसबाहेक प्याजेन्टमा प्रस्तुत गर्ने अन्य अनिवार्य कार्य त छँदैछन् । 

‘मिस युनिभर्स’ को ताज जित्नुभयो भने के गर्नुहुन्छ ?

महिला सशक्तीकरण, शिक्षाद्वारा महिलाको आर्थिक स्वतन्त्रता र सबलीकरणका लागि काम गर्ने थिएँ । 

तपाईंका रुचिहरू के–के छन् ?

डान्सिङ, हाइकिङ, नेचर वाक, परिवार र साथीभाइसँग समय बिताउने । 

फुर्सदमा के गर्नुहुन्छ ?

धेरै फुर्सद नै हुँदैन । कहिलेकाहीँ यस्तो मौका मिलिहाल्यो भने आफैंसँग समय बिताउँछु । रिल्याक्सेसनमा बस्न र शान्त रहन मन पर्छ ।

फिटनेसका लागि के गर्नुहुन्छ ?

हिट ट्रेनिङ र योग गर्छु ।

मन पर्ने खाना ?

नेपाली, इटालियन र मेक्सिकन खाना मन पर्छ । 

मनोरञ्जनका लागि के गर्ने गर्नुभएको छ ?

सपिङ गर्न मन पर्छ । धेरै पैसा नहुँदा विन्डो सपिङ गरिन्छ । फरक–फरक रेस्टुराँमा गएर–फरक स्वादका परिकार चाख्न मन पर्छ ।

आइटी व्यवसायीका हैसियतले महिला विकास र सशक्तीकरणका लागि कुनै नयाँ ॅएप डेभलप’ गर्नुपरे कस्तो एप बनाउनुहुन्थ्यो ?

सानैदेखि छोरालाई भकुन्डो, छोरीलाई गुडिया दिइन्छ । तर सानैदेखि छोरीलाई पनि समस्या समाधान गर्न सकिने खालका यन्त्र बनाउँथें । छोरीका लागि स्किलफुल डिभाइस निर्माण गर्थें र सानैदेखि उनीहरूलाई पनि तिनै यन्त्रहरूसँग साक्षात्कार गराउने एप निर्माण गर्ने थिएँ ।

अब नेपाल फर्किने कि अमेरिकामै बस्ने ?

‘मिस युनिभर्स’ सकिएपछि यहीँ बसेर ग्रामीण भेगलाई लक्षित गरी टेक्नोलोजीको क्षेत्रमा काम गर्ने मन छ । 

पाठकका लागि केही सन्देश छ कि ?

आफ्नो सपना साकार पार्नका लागि गर्नुपर्ने कसरतमा कहिल्यै हरेस खान हुँदैन । एक–दुईपटक असफल भइयो भन्दैमा प्रयास गर्न छोड्नु हुँदैन । असफलताबाट धेरै कुरा सिक्दै गइन्छ । हरेक दिन आफू सक्दो प्रयास गर्नुपर्छ । आफू, आफ्नो क्षमता र सपनालाई सोचेर अघि बढ्दै जानुपर्छ । सफलता असम्भव छैन । 

तस्बिर : महेश प्रधान

जाइनर : स्वर्णिम राई

हिरन : स्वर्णिम बुटिक, टंगाल

गहना : दी इप्प्रेस, न्यूरोड

मेकअप : इच्छा कार्की, ब्युटिबार, नारायणचौर, नक्साल

लोकेसन : याक एण्ड यति होटल, दरबारमार्ग

 Image