Successfully Copied

‘चाडपर्वमा मितव्ययी बनौं’

‘कमसे कम राज्य स्वास्थ्यमा लचिलो भइदिएको भए पनि यो महामारीमा जनतालाई ठूलो आर्थिक बोझबाट मुक्ति मिल्ने थियो’

ओखलढुंगास्थित पोकली–१ मा ४८ वर्ष अघि जन्मिएका कल्याणराज शर्माले स्कुले शिक्षा गाउँबाटै पूरा गरे । वाणिज्यशास्त्रमा प्रवीणता प्रमाणपत्र र स्नातक तह चाहिँं काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट सिध्याए । काठमाडौंकै शंकरदेव क्याम्पसबाट व्यवस्थापन संकायमा एमबीए पूरा गरी उनले चीनको सांघाईस्थित फुतान युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरे । तत्कालीन ग्रामीण आवास तथा बस्तीविकास कम्पनीबाट उनले करियर सुरु गरे । पछि ट्राभल ट्रेड व्यवसायमा प्रवेश गरे । यो व्यवसायले हालसम्म दुई हजारभन्दा बढीलाई रोजगार दिइसकेको उनको दाबी छ । उनी काठमाडौं युनिभर्सिटीमा ‘डुइङ बिजनेस इन चाइना’ विषयमा प्राध्यापनसमेत गर्छन् । महिलाको सन्दर्भमा कल्याणराज भन्छन्, ‘नेपालमा महिलाका लागि राज्य र कानुनले निकै सघाएको छ । प्लेटफर्म दिएको छ । सोहीअनुसार महिलाअघि आइसकेका छन् । अबको केही वर्षमा महिलाले धेरै क्षेत्रमा नेतृत्व लिने पक्का छ ।’ उनी  यहाँका उच्च ओहोदा उपहारजस्ता बनेका र हरेक पोस्ट तथा पोजिसन गिफ्टेड भएकोमा दुःख व्यक्त गर्छन् ।‘हिन्दू शास्त्रले पनि महिलालाई उच्च स्थानमा राखेर आदर–सम्मान गरेकै छ । नारीलाई देवीका रूपमा पूजा गर्ने हाम्रो संस्कार नै हो’ उनी भन्छन्, ‘यसलाई व्यावहारिक रूपमा यथार्थ बनाउन शिक्षा पहिलो सर्त हो । त्यसपछि बलियो कानुन र त्यसको प्रभावकारी कार्यान्वयन । राज्यका कानुन प्रभावकारी बन्न नसक्दा महिला हिंसा, बलात्कार र विभेदजन्य घटना हुने गरेका छन्, जुन अत्यन्तै दुःखद् कुरा हो ।’ पुरुष सफल हुन नारीको हात हुन्छ भन्नेमा उनलाई शतप्रतिशत विश्वास छ । दिनभरि जहाँ गए पनि बेलुका फर्केर आफ्नो गुँड (घर) मा आउँदा सहज र खुसी भरिदिने महिला नै हुन् भन्ने उनलाई लाग्छ ।

अर्थतन्त्रबारे उनको आफ्नै धारणा छ । अझ कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागेको लाग्यै गरेको अवस्थामा चाडपर्व मितव्ययी भएर मनाउनुपर्नेमा उनको सुझाव छ । पर्वका बेला खर्च व्यवस्थापन गर्नेबारे कल्याण भन्छन्, ‘यस पटकका पर्वहरूमा नयाँ सुनका गहना नकिन्ने, घरैमा भएका पहिरन लगायत जे छन् त्यही लगाउने, ५ जनाको परिवारमा ५० जना पाहुना बोलाएर होइन कि ५ जना परिवार मात्रै बसेर खुसी मनाउने । यो धेरै मान्छे जमघट र रमाइलो गर्ने बेला होइन । रातभरि नाचगान र जुवा–तासमा सरिक हुँदा दोहोरो आर्थिक घाटा बेहोर्नुपर्छ । एक त चिसो लागेर बिरामी परियो भने उपचार खर्च र अर्को जुवामा हारिने पैसाको नाश, तसर्थ अहिले अर्थ व्यवस्थापनमा अत्यन्तै संयम बन्नुपर्ने बेला छ ।’

कोरोनाको मार चौतर्फी रूपमा परेको अवस्था छ । यस्तो अवस्थामा राज्य थप जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । ‘कमसे कम राज्य स्वास्थ्यमा लचिलो भइदिएको भए पनि यो महामारीमा जनतालाई ठूलो आर्थिक बोझबाट मुक्ति मिल्ने थियो’ कल्याणराज भन्छन्, ‘शिक्षा र स्वास्थ्यमा राज्यको पहुँच बढी हुनुपर्ने हो । हाम्रोमा यो क्षेत्र कमजोर देखियो । यी दुईमा राज्य उत्तरदायी भइदिए मात्र पनि जनतामा आर्थिक भार निकै कम हुन सक्छ ।’

करिब तीन दशक मुलुक संक्रमणकालीन अवस्थाबाट गुज्रिएको मन्थन गर्दै उनले भने, ‘यस्तो संक्रमणकालीन अवस्थाका बेला एउटा समूहले फाइदा लिइरहन्छ जोसँग बुद्धि, शक्ति र समूह हुन्छ । यसरी यो अवस्थामा फसेका देशहरूलाई आर्थिक संकटबाट माथि उठ्न समय लाग्छ ।’ अर्थकै कुरा गर्दा उनी नेपालमा आर्थिक अपराधसम्बन्धी कानुन कमजोर रहेको बताउँछन् । उनका अनुसार जहाँ अर्थसम्बन्धी कानुन फितलो हुन्छ त्यहाँ आर्थिक रूपान्तरणको गतिविधि ठप्पै हुन्छ । देशमा भ्रष्टाचार विरोधी कानुन नभएको दुखेसो उनको छ । भन्छन्, ‘भ्रष्टाचार विरोधी कानुन नहुँदा प्रत्यक्ष रूपमा देशको अर्थतन्त्रमा ठाडो असर पर्छ ।’

कल्याणका लागि

आमा : जननी, माता, सम्पूर्णको स्रोत र म हुनुको अस्तित्व ।

दिदी–बहिनी : सुख–दुःख बाँड्ने साथी तथा भरोसा ।

श्रीमती : असल साथी, सहकर्मी, जीवनसंगिनी ।

महिला : प्रकृतिको अभिन्न अङ्ग, सृष्टिकर्ता । घरलाई मन्दिर बनाउनुमा महिलाको हात हुन्छ भने राष्ट्र निर्माण र विकासमा उनीहरूको ठूलो योगदान छ । नारी खुसीका मुहान हुन् ।

महिला निर्णायक तहमा पुग्न

    नेपाली महिला हिजोभन्दा आज क्रमश : अगाडि बढ्दैछन् । हतार नगरौं । क्रमिक रूपमा आगामी १० वर्षमा हरेक क्षेत्रका निर्णायक तहमा महिला पुग्नेछन् तर नारी स्वयंले पनि आँट, हिम्मत गर्नुपर्‍यो । आफूमा गर्न सक्छु भन्ने आत्मविश्वास र इच्छाशक्ति हुनुपर्‍यो । यो ब्रह्माण्डमा असम्भव केही छैन ।

सन्देश : विजयादशमीको पावन अवसरमा सबैलाई सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना । यस पटकको दसैं परिवारसँग मात्रै मनाऔं । खर्च घटाउने उपायबारे सोचौं । फजुल खर्च नगरौं ।

 Image