आत्मविश्वासी सोफिया
सानैदेखि हक्की र साहसी सोफिया भुजेल सन् २०२२ की ‘मिस युनिभर्स नेपाल’ विजेता हुन् । आगामी जनवरी १४ मा अमेरिकाको न्यू ओर्लिन्समा हुने ‘मिस युनिभर्स’ मा उनी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दैछिन् ।

लगातार दुई दशक एकनासले उस्तै । गति र लोकप्रियताको ‘पोजिसन’ पनि उही । आफ्नो यो रहस्य÷राज खोल्दै नायिका रेखा थापाले भनिन्, ‘हरेक क्षेत्रमा अध्ययन र अभ्यास फरक–फरक हुन्छन् । जमिन छाडेर उड्ने मान्छे म पक्कै होइन । मान्छे हुनुको धर्ममा विश्वास गर्छु । कर्मक्षेत्रको आस्थामा भरोसा गर्छु र सोहीअनुसार हरेक काममा उत्कृष्ट प्रदर्शन गर्ने सक्दो प्रयासमा हुन्छु । कुनै बेला दैनिक चार वटासम्म फरक चरित्रमा भूमिका निर्वाह गर्न मैले भ्याएँ । आज महामारीले ब्रह्माण्ड रोएझैं छ र पनि म हतास छैन । मलाई उड्न आउँदैन । किनभने मानिसको गन्तव्य जहाँ भए पनि हरेकको औकात भनेकै जमिनमा हिँड्नु हो ।’
रेखा यसपटक निकै परिपक्व, बोझिला शब्द र ज्ञान भरिभराउ भएको भेटिइन् । दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी यिनको नाम केही समय राजनीतिक वृत्तमा चर्चाको शिखरमा रह्यो । वाकपटुता भएकी यिनी कोरोनाले जीवनोपयोगी पाठ पठाएकोमा खुसी देखिइन् । त्यसो त कोरोनाकालमा सबै मानिस फुर्सदिलो अनुभूति गरिरहँदा उनले भने आफूलाई अत्यन्त व्यस्त रहेको बताइन् । कारण खोल्दै उनले भनिन्, ‘लकडाउनमा त झन् आफैंसँग यति धेरै व्यस्त भइयो कि म शब्दमा व्याख्या गर्नै सक्दिनँ । आफूलाई शारीरिक, मानसिक र भावनात्मक दृष्टिकोणबाट विश्लेषण गर्दै अब कसरी अगाडि बढ्ने भन्नेमा म धेरै व्यस्त भएँ ।’
उनी मन्दिर स्वयं आफूभित्र विराजमान रहेको बताउँछिन् । त्यो मन्दिरलाई समय दिने र स्याहार–संहार र त्यसको आस्थामा पनि लाग्नुपर्ने उनको तर्क छ । सुन्दर आत्माले बास गर्ने त्यो मन्दिरलाई हेला गरी बाहिरी आवरणमा मात्रै धेरै जना रमाइरहेको भान उनलाई परेको छ । लकडाउनमा गुरु थापेर गीता पाठ गरेकी रेखा मानव धर्ममा विश्वास गर्छिन् । हिजो हतासमा काम गर्दा कति काम बिग्रिए होलान् तर आगामी दिनमा त्यो ढंगले अगाडि नबढ्ने र गहिरो अध्ययन र सोचविचारका साथ आफ्नो कर्ममा क्रियाशील हुने उनको सोचाइ छ । यो कोरोनाले उनलाई सिकाएको सबैभन्दा महत्वपूर्ण पाठ भनेको मानिस शारीरिक, मानसिक र भावनात्मक रूपमा स्वस्थ हुनु हो ।
तार्किक विचार, फरक सोच र फरासिलो व्यवहार रेखाका पहिचान हुन् । हिजोका दिनमा फरक–फरक चरित्रमा आफूलाई ढाल्न खोज्दा कोसँंग कसरी बोल्ने, साथीभाइ, घरपरिवारका सदस्यहरूसँग कसरी र कस्तो व्यवहार गर्ने भन्नेसम्म बिर्सिसकेको बताउने उनी समयले आफूलाई नै चिनाउन सघाएको धारणा व्यक्त गर्छिन् । उनी भन्छिन्, ‘हरेक मान्छे ज्ञानी जन्मिन्छ, व्यवहार, सामाजिक संरचना र कर्तव्यले थिच्दै लैजाँदा ऊ धेरै कुरा भुल्न थाल्छ । म पनि कुनै समय त्यस्तै भएकी थिएँ । तर आज म आफूले आफैंलाई चिन्न सक्ने र जसले जे भने पनि फरक नपर्ने अवस्थामा आइपुगेकी छु, हिजो मैले बोलेका यिनै कुरामा त्यत्ति भरोसा गरिँदैनथ्यो अहिले समय सान्दर्भिक भएकी छु, सायद उमेरले गर्दा अलि परिपक्व पनि भएर हो कि ?
बाल्यकालदेखि नै आस्तिक उनी भगवान्माथि विश्वास गर्छिन् । त्यसैले उनका चलचित्रका नाम ‘रावण’, ‘मालिका’, ‘काली’ र ‘रुद्रप्रिया’ छन् जसमा ईश्वरीय फ्लेबर भेटिन्छ ।
चलचित्र क्षेत्र: साक्षात् नाट्येश्वरीले बास गरेको सुन्दर कला । हरेक क्षेत्रमा कृति र किर्ते काम गर्ने दुवै थरी मान्छे हुन्छन् । तर, अन्ततः अनुशासित मान्छे नै सफल हुन्छन् ।
अरुभन्दा फरक चलचित्र: म हलिउड–बलिउडका लागि फिल्म बनाउने र खेल्ने मान्छे होइन । नेपाली माटोको गन्धमा लोभिने कलाकार हुँ । मुगु, हुम्ला, जुम्ला, रुकुम एवं जाजरकोटका महिला दिदीबहिनीलगायत सम्पूर्ण नेपाली नारीको प्रतिनिधि पात्र हुँ । मलाई स्वदेशी कलाकार बन्नु थियो र छ । देशअनुसारको भेषमा चप्पल लगाएर विकट गाउँ घुमेकी कलाकार हुँ । हाम्रै हावापानी, भाषा एवं संस्कृति सुहाउँदो चलचित्रमा काम गर्न रुचाउँछु ।
सन्तुष्ट भएको क्षण: ‘मालिका’ चलचित्र बनाउँदा अत्यन्तै सन्तुष्टि मिलेको छ । जीवनमा सहर, मोटर र चलचित्र नदेखेकी जाजरकोटकी १४ वर्षीया कमला वलीलाई ल्याएर हिरो बनाउन सफल भएँ । कलाका साधक सबै हिरो हुन् महिला भन्दैमा हिरोइन किन्न भन्नुप¥यो ?
चलचित्र क्षेत्रमा अबको चुनौती: विश्वव्यापी बजार भइसक्यो । अब हाम्रा लागि चुनौतीको ठूलो पहाड छ । संसारभरका फिल्म घरमै बसेर हेर्न पाइन्छ । अब हामी सिर्जनामा सशक्त हुनुपर्छ, हाम्रै माटोभित्र कयौं मौलिक कथा छन् तिनलाई खोतलेर बाहिर ल्याउन सक्नुपर्छ । जसमा सरकारले समेत सहजीकरण गरिदिनुपर्छ ।
नेपालमा अबको महिला मुद्दा: हाम्रो चेतनास्तर कहाँ छ ? बढेको छ र ? छोरीलाई जन्मिनेबित्तिकै छोरी बन्ने तालिम दिइन्छ, छोरालाई छोरा बन्ने तालिम घरैबाट सुरु हुन्छ । दुवैलाई मानव बन्ने तालिम किन नदिने एकसाथ ? पहिलो कुरा छोरी बनाउने तालिम घरैबाट बन्द गरौं ।
महिलाको स्थान: महिला मुक्ति पुरुषलाई हेप्नु पनि होइन । दुवैको समान अस्तित्व र सम्मान आवश्यक छ । कानुन, शिक्षा होस् वा अन्य विषयमा, प्रतिस्पर्धाका लागि ग्राउन्ड खाली होस् बल्ल हुन्छ बराबर । यहाँ त हरेक ठाउँमा उप झुन्ड्याइदिएर राज्यसत्ताले नै विभेद गरेझैं लाग्छ ।
महिलाले गर्नैपर्ने: मन दुखाएर, मनलाई सम्झाइ–बुझाइ गरेर वा केही पाउने आशामा महिलाले सम्झौता गर्दै नगरौं । गर्नैपरे आत्मादेखि खुसी भएर गरौं ।
कोरोना पाठ: यो अस्तव्यस्तताले जन्मिनुको अर्थ चिनायो । आत्ममूल्यांकन गरायो । यो एउटा दुःखद् पाटो हुँदाहुँदै पनि आफूले आफैंलाई पहिचान गर्ने ज्ञान दियो । पैसा सबैथोक होइन रहेछ भन्ने कुरा बुझायो । एक्लै रमाउन सिकायो । मलाई भने एक्लै रमाउन नसक्ने मान्छे अरुसँग पनि रमाउन सक्दैन भन्ने बोध गरायो । मलाई विश्वास छ अबको दुनियाँ निकै सुन्दर बन्नेछ ।
तीज:तीज मलाई मनपर्ने पर्व हो । यसले प्रियजनहरूबीच सम्बन्ध सुमधुर र प्रगाढ बनाउँछ । विगतका तीजहरू भीडभाड र रमाइलोमा जहाँ जसरी मनाइएको भए पनि यसपटक घरमै शारीरिक रूपमै निकट भएर आमा, दिदीबहिनी, श्रीमान्, छोराछोरीका साथ रमाइलो गरेर मनाऔं ।
अबको योजना: म नयाँ ढंगले काम गर्न उत्साहित छु । तीनवटा चलचित्र पाइप लाइनमा छन् । डिजिटलमा जाने कि भन्नेमा टिमसँग सरसल्लाह हँुदैछ । चलचित्र बनाउँदा होस् वा राजनीतिमा युग परिवर्तनको संसारसँगै आफूमा भएका कला, क्षमता र हिम्मतलाई एकठ्ठा गर्नेछु ।
सन्देश: मनोरञ्जनभन्दा पनि पहिलो प्राथमिकता स्वास्थ्य हो । खोप लगाऔं । खोपले सुरक्षित रहन सहयोग पु¥याउँछ ।
तस्बिर: महेश प्रधान
पहिरन: दीपाज क्रियसन, टंगाल
हेयर एन्ड मेकअप: ज्योति लिम्बु, द ल्यासेस ब्युटी स्टुडियो लाजिम्पाट
लोकेसन: क्रुवा थाइ, टंगाल