Successfully Copied

नम्रता ‘मिस नेपाल वर्ल्ड २०२०’

नम्रता श्रेष्ठ यो वर्षको ‘मिस नेपाल वर्ल्ड–२०२०’ को ताज पहिरिन सफल भएकी छन् । काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा मंसिर २० गते आयोजित कार्यक्रममा उनलाई गत वर्षका विजेता अनुष्का श्रेष्ठले ताज पहिराइन् ।

नम्रता श्रेष्ठ यो वर्षको ‘मिस नेपाल वर्ल्ड–२०२०’ को ताज पहिरिन सफल भएकी छन् । काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा मंसिर २० गते आयोजित कार्यक्रममा उनलाई गत वर्षका विजेता अनुष्का श्रेष्ठले ताज पहिराइन् । ‘मिस नेपाल’ उपाधि दौडमा नम्रताको यो दोस्रो सहभागिता हो । ‘मिस नेपाल–२०१६’ मा अन्तिम पाँचसम्मको यात्रा तय गरेकी उनले आफ्नो दोस्रो प्रयासमा अब्बल नतिजा ल्याइन् । संयोगले यो वर्ष पनि नम्रताको ‘मिस नेपाल २०१६’ को प्रतियोगी नं. १८ नै परेको थियो ।

अन्तिम चरणमा प्रतियोगिताका मुख्य निर्णायक एवं शिक्षाविद् मिखा माथेमाले सोधेको निर्णायक प्रश्नको सटिक र प्रभावकारी उत्तर दिएर उनी विजेता बन्न सफल भइन् । प्रतियोगिताको फाइनल चरणमा पुगेका सुप्रिया श्रेष्ठ, सन्ध्या शर्मा, मेरिशा सिंह सुवाल, आयशा श्रेष्ठ र सिमल कनौजियालाई पछि पार्दै नम्रताले ‘मिस नेपाल वर्ल्ड २०२०’ को उपाधि विजेताका रूपमा आफ्नो नाम दर्ता गर्न सफल भएकी हुन् ।

गोरो वर्णकी २३ वर्षीया नम्रता काठमाडौं निवासी हुन् । किन्डरगार्टेन शिक्षिकाका रूपमा उनी कार्यरत छिन् । यो प्रतियोगितामा ‘मिस इन्टिलेक्चुयल’ र ‘मिस कन्फिडेन्ट’ अवार्ड पनि आफ्नो नाममा सुरक्षित गरिन् । समाजशास्त्रमा स्नातकोत्तर गरिरहेकी उनी भविष्यमा सफल शिक्षाविद् बन्न चाहन्छिन् । ‘मिस नेपाल वर्ल्ड २०२०’ को विजेताका रूपमा नम्रताले २ लाख ५० हजार नगद पुरस्कार तथा नयाँ यामाहा फासिनो स्कुटी पनि प्राप्त गरिन् ।

प्रतियोगिताको अन्तिम चरणमा पुग्न सफलमध्ये टेलिभिजनकर्मी समेत रहेकी काठमाडौं निवासी २४ वर्षीया सुप्रिया श्रेष्ठले ‘मिस नेपाल अर्थ २०२०’ को ताज पहिरिन सफल भइन् । उनलाई ‘मिस नेपाल अर्थ २०१९’ की विजेता रिया बस्नेतले ताज पहिर्‍याएकी थिइन् ।

यसैगरी, प्रतियोगितामा ‘मिस नेपाल इन्टरनेसनल २०२०’ को उपाधिको हकदार बनिन् सन्ध्या शर्मा । महोत्तरीकी २४ वर्षीया सन्ध्याले फरेस्ट्रीमा स्नातक गरेकी छिन् । उनलाई गत वर्षकी ‘मिस नेपाल इन्टरनेसनल’ मीरा कक्षपतिले ताज पहिर्‍याइदिएकी थिइन् । सन्ध्याले प्रतियोगितामा ‘वुमन अफ सब्सटेन्स’, ‘मिस पपुलर च्वाइस’ र ‘ब्युटी विथ अ पर्पस’ को अवार्ड पनि जित्न सफल भइन् । ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को उपाधि भने सिमल कनौजियाले जितिन् । काठमाडौंकी २४ वर्षीया सिमलले बीबीए गरेकी छिन् । उनलाई कार्यक्रममा प्रमुख निर्णायक मिखा माथेमाले ‘विजेताको ताज’ पहिर्‍याएकी थिइन् । ‘मिस नेपाल वर्ल्ड २०२०’ विजेताले जस्तै ‘मिस नेपाल अर्थ’, ‘मिस नेपाल इन्टरनेसनल’ तथा ‘मिस नेपाल सुप्रानेसनल २०२०’ तीनै जनाले नगद पुरस्कार २ लाख ५० हजार प्राप्त गरे ।

प्रतियोगिताका अन्य उपाधितर्फ रिया श्रेष्ठले ‘मिस टुरिजम’, शुभांगी खत्रीेले ‘मिस फिटनेस’, मेरिशा सिंह सुवालले ‘मिस स्टाइलिस’, योजना भट्टराईले ‘मिस ग्ल्यामर’, आस्तिका श्रेष्ठले ‘मिस फोटोजेनिक’ तथा नेहा सरकारले ‘मिस हेल्दी’ उपाधि पाएका छन् । हरेक ‘सब–टाइटल’ विजेताले २५ हजार नगद पुरस्कार प्राप्त गरे ।

२१ प्रतियोगीबाट प्रारम्भ ‘मिस नेपाल–२०२०’ को यात्रामा ‘ग्रान्ड फिनाले’ मा भने २० प्रतिस्पर्धी मात्र मैदानमा देखिएका थिए । फिनालेमा प्रतियोगी अंक १६ की रुश्मिता शाहीको भने उपस्थिति रहेन । सहभागीहरूको परिचयात्मक चरणबाट अगाडि बढेको प्रयोगितामा उत्कृष्ट १२ हुँदै अन्तिम ६ सम्मको छनोट प्रक्रिया र विजेता प्रक्रिया चयन भएसँगै सम्पन्न भएको थियो । उत्कृष्ट १२ मा चयन भएका सहभागीहरूले ‘टुटल नेपाल’ का संस्थापक शिक्षित भट्ट, ‘एमएडब्लु फाउन्डेसन’ का कार्यकारी निर्देशक तुलिका अग्रवाल, ‘वैद्य ग्रुप’ का करण वैद्य, मेडिसिटी हस्पिटलका मेडिकल सुपरिडेन्टेन्ट डा.राज राणा, ‘मिस नेपाल २०१३’ प्रीति सिटौला, ‘स्मार्ट पानी’ का संस्थापक सुमन शाक्य, अभिनेतृ स्वस्तिमा खड्का, हेलिकप्टर रेस्क्यु पाइलट क्याप्टेन प्रिया अधिकारीले निर्णायक मण्डलका प्रश्नहरूको सामना गरेका थिए ।

कान्तिपुर टिभी एचडीमा साँझ साढे चार बजेबाट प्रत्यक्ष प्रसारण भएको ‘मिस नेपाल ग्रान्ड फिनाले’ ‘द हिडेन टजेर’ का अध्यक्ष दिवाकरराज राजकर्णिकारको सम्बोधनबाट अगाडि बढेको थियो । उनले नै प्रतियोगिताको मुख्य चार उपाधि विजेताहरूको नाम उद्घोषण गरेसँगै प्रतियोगिता टुंगिएको थियो । सञ्जय सिलवाल गुप्ताद्वारा संचालन गरिएको प्रतियोगितात्मक कार्यक्रममा ‘नेपाल आइडल’ विजेता सज्जाले सांगीतिक प्रस्तुत दिएकी थिइन् । प्रतियोगिताको ‘कोरियोग्राफी’ रचना गुरुङ शर्माले गरेकी थिइन् भने उनलाई प्रिया रानी लामाले सघाएकी थिइन् । प्रतिस्पर्धीहरूको शृंगार र हेयर स्टाइल जिम्मेवारी अनानेकी ब्युटी सलुन एण्ड स्पाको टिमले निर्वाह गरेको थियो । सहभागीहरूले डिजाइनर मनीष राई तथा कासाले तयार पारेको पहिरनमा आफ्नो प्रस्तुति दिएका थिए ।

‘मिस नेपाल’ आयोजक संस्था ‘द हिडेन टेजर’ ले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको २६ औं संस्कणको ‘मिस नेपाल’ प्रतियोगिताको गर्विलो इतिहास भएर पनि प्रतियोगिता सोचेअनुसार भव्य देखिएन । कोरोना महामारीका कारण विना दर्शक संचालन गरिएको प्रतियोगिता तामझामयुक्त थिएन । यसपटकको प्रतियोगितामा ‘ट्यालेन्ट’, ‘पर्सनालिटी’ र ‘वेष्ट वाक’ को अवार्ड समावेश गरिएन भने ‘मिस टुरिजम’ र ‘वुमेन अफ सब्सटेन्स’ नामका दुई नयाँ अवार्ड समावेश गरिएको थियो ।

तस्बिरहरू : महेश प्रधान

 Image