भान्साका सारथि
पाककलालाई ‘उत्कृष्ट’ कला मानिन्छ । यो सहज भए पनि चुनौतीपूर्ण छ । भान्सामा काम गर्नेहरूका लागि जोखिम पनि उत्तिकै हुन्छ । किनभने यहाँ धारिला र तिखा विभिन्न हतियारको प्रयोग गरिन्छ, आगोका लप्कासँग पनि खेल्नुपर्ने हुन्छ ।

८२ वर्षकी काठमाडौं निवासी अञ्जना कर्माचार्यले वर्षभरि सयौं थरीका परिकार पकाउनुपर्छ । हरेक महिना जस्तो आइरहने चाडपर्वका लागि उनले फरक–फरक परिकार तयार पारेर नातागोता, छोरी– ज्वाईंहरूलाई ख्वाउनुपथ्र्यो । त्यसमा पनि उनी दसैंको पूर्णिमासम्मै निकै व्यस्त हुन्थिन् ।
टीकाको दिन मात्र उनले लगभग १ सय जनालाई भोज ख्वाउनुपथ्र्यो । त्यतिबेलाको दसैं सम्झदै कर्माचार्य भन्छिन्–बिहान सबै कुरा पकाएर भान्सा लिपपोत गरी चोख्याएर राख्नुपथ्र्यो । ज्वाईं मात्र १ दर्जनजति थिए । दसैंमा राँगा, बोका, कुखुरा तथा हाँसको मासुका १२–१३ थरीका परिकार त म आफै पकाउँथें । मासुका साथमा काउली, मुला, लप्सी एवं गोलभेंडाको अचार, मेथी र केराउको तरकारी, साग, च्याउको छ्वेला आदि तयार गर्थें । हुन पनि यति बेलासम्म पनि उनले पकाएको खानाको स्वाद उत्तिकै स्वादिलो छ ।
प्राचीनकालदेखि नै कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानका रूपमा रहेको नेवारी परिकारप्रति अन्य समुदायको आकर्षण पनि बढ्दै गएको छ । परम्परागत चाडपर्व तथा संस्कृतिका कारण नेवार समाजमा थरीथरीका परिकार पकाइने तथा त्यसरी बनाइएका परिकार देवीदेवतालाई चढाउनुका साथै विभिन्न भोज तथा दैनिक खानपानमा प्रयोग गरिँदै आएको छ । सयौं थरीका खाद्य परिकारका धनी नेवार समुदायको योमरी, चटामरी, सन्याखुना, त:खा, बारा, कचिला, छ्वेला आदि विभिन्न फुड फेस्टिबल, चाडपर्व तथा चमेना गृह आदिमा देख्न पाइन्छ । त्यस्तै चटामरी, माय् व: तथा मू व: विभिन्न पूजामा तयार पारिने परिकार हुन् । सन्याखुना तथा त:खा विशेष भोज एवं चाडपर्वमा बनाइने परिकार हुन् ।
केही नेवारी परिकार
भरेको फोक्सो
सबैभन्दा पहिले अण्डालाई फिँज आउने गरी फिट्ने । त्यसमा पानी, बेसन तथा अन्य मसलाहरू हालेर राम्रोसँग घोल्ने । त्यसपछि उक्त घोललाई पाइप वा सोलीको सहयोगले फोक्सोमा भर्ने । बेला–बेलामा फोक्सोमा फुकेर हावा भर्दै घोल हाल्दा सजिलोसँग भरिन्छ । त्यसपछि आलु ताछेर आकार मिलाई फोक्सोको श्वासनलीमा छिराएर राम्रोसँग बन्द गर्ने । यसरी भरिएको फोक्सोलाई पाक्ने गरी उसिन्ने । पाकेको फोक्सोलाई चप आकारमा काटेर तेलमा खैरो हुने गरी तार्ने ।
छोइला
छोइला नेवार समुदायको प्रचलित परिकार हो । नेवार समुदायमा बफका धैरै परिकार बनाइने भएकाले बफकै छोइला प्रचलित छ । छोइलालाई पोलेर तथा उसिनेर तयार पार्न सकिन्छ । छोइलाको मासु पाकेपछि अदुवा, लसुन, खुर्सानी, जिरा आदि पिसेर मोली त्यसमा भुटेको तेल हालेर मोलिन्छ ।
सपु म्हिचा
बोनम्यारोलाई राँगाको आन्द्रामा धागोले बाँधेर तयार पारिने परिकारलाई सपु म्हिचा भनिन्छ । सपु म्हिचाबाट बोनम्यारोको स्वाद लिन सकिन्छ । चिल्लो बढी हुने भएकाले पनि यसको स्वाद मासुका अन्य परिकारको तुलनामा फरक हुन्छ ।
ह्याकुल्ला
कराहीमा दालचिनी, सुकमेलका साथमा प्याज खैरो हुने गरी भुट्ने । त्यसमा अदुवा, लसुन, जिरा, खुर्सानी, बेसार पनि सँगै भुट्ने । मसला र प्याज खैरो भएपछि मासु हालेर केही समय भुटी एकछिनपछि पानी हाली छोपेर बिस्तारै पकाउने । ह्याकुल्ला चिउरासँग मीठो हुन्छ ।
बफ सेकुवा
मासुलाई पिस–पिस काटेर नुन, जिरा, मरिच, टिम्मुर, अदुवा तथा लसुनको पेस्ट हालेर आधा घन्टाजति त्यत्तिकै राख्ने । त्यसपछि मासुलाई सिन्कामा उनेर आगोमा पोल्ने ।
साँधेको सुकुटी
सुकुटी बनाउन एक हप्ताअघि नै मासुलाई पातलो हुने गरी काटेर नुन, खुर्सानी तथा तेल हाली मोलेर सुकाउने । तयार भएको सुकुटीलाई तेलमा हल्का फ्राई गर्ने । त्यसलाई सिलौटामा पानी हाल्दै मसिनो हुने गरी कुट्ने । गोलभेंडा पोलेर सिलौटामा पिसी मासुमा मिसाउने, त्यसमा अदुवा र लसुनको पेस्ट, नुन तथा जिरालाई सिलौटामा पिसेर मोल्ने । साँधेको सुकुटीमा काटेको हरियो धनियाँ तथा खुर्सानी छर्कने ।
खसीको ह्याकुल्ला
ह्याकुल्ला उसिन्ने । पाकेर सेलाएपछि छाला, बोसो र मासु पर्ने गरी स्लाइस गर्ने । एउटा प्यानमा तेल तताउने र त्यसमा लसुन पड्काउने । ह्याकुल्ला हालेर ड्राई गरेपछि जिराको धूलो, अदुवा, लसुनको पेस्ट, नुन, टिम्मुरको धूलो तथा हरियो धनियाँ हाली पस्कने ।
पाउँ क्वा
लप्सीलाई उसिन्ने । एकछिन चिस्याउन दिएर बोक्रा र बियाँ निकाल्ने । त्यसपछि लप्सीमा पानी हाली हातले मोलेर पातलो बनाउने । भाँडोमा तताउँदै नुन र चिनी स्वादअनुसार हाली चलाउँदै पकाउने । त्यसमा अलिकति हिङ पनि राख्ने । पाउँ क्वा नेवारी भोजमा नभई नहुने परिकारमध्ये एक हो । यसले खाएको पचाउने काम गर्छ ।
मिक्वा
२–३ रातअघि मेथी र सानो केराउलाई भिजाएर भोलिपल्ट पानी निथारी मलमलको कपडामा बाँधेर राख्ने । १ दिनपछि त्यसमा लामो टुसा आउँछ । यसलाई प्याज फ्राई गरी लसुन, नुन, जिरा तथा बेसार हालेर पकाउने ।