काम दिन होस् वा कामदार खोज्न अहिले एप्सहरू सक्रिय हुँदै गएका छन् । रोजगारीको क्षेत्रमा समेत प्रविधिले फड्को मारेको छ । नेपालमा श्रीयोग डटकम, भेटायो डटकम, मेरो जब्स, कुमारी जब्स, जब्स नेपाल, मेरो रोजगारी, नेपाली जब्स आदि एप्सले कामदार खोजिदिनेदेखि रोजगारी उपलब्ध गराउने कामसम्ममा सक्रियता देखाउँदै आएका छन् ।
स्नातकोत्तर सकेर बसेकी रोजिना न्यौपानेले रोजगारीका लागि कुमारी जब्समार्फत आवेदन भरिन् । उक्त एप्समार्फत उनले एकाउन्टेनका लागि आवेदन दिएकी थिइन् । आवेदन दिएको केही समयपछि उनी छनोट भइन् र अहिले उनी एक कम्पनीमा काम गरिरहेकी छिन् । यसरी एप्समार्फत आफ्नो क्षमताअनुसार काम खोज्न सजिलो भएको न्यौपाने बताउँछिन् । रोजिना भन्छिन्–‘अहिले हात–हातमा प्रविधि छ । यसले गर्दा काम खोज्न सहज भएको छ ।’ आवेदन दिन धाउनु नपर्ने त्यसमाथि पनि पैसा तिर्नु नपर्ने हुनाले सबैलाई सजिलो भएको न्यौपानेले बताइन् ।
भक्तपुरकी शर्मिला शर्मा गृहिणी हुन् । उनले सेलरोटी पकाएर आफ्नो गुजारा चलाइरहेकी थिइन् । शर्माले श्रीयोग डटकमको सेलरोटी पकाउने समूहमा आफ्नो नाम दर्ता गराइन् । श्रीयोगमा नाम दर्ता गराएपछि भने उनको दैनिकी व्यस्त हुँदै गएको छ । कामका लागि उनलाई विभिन्न ठाउँबाट फोन आउँछ । श्रीयोगले उनलाई थप आम्दानीका लागि सहयोग गरेको छ । शर्मिला भन्छिन्–‘पहिले सीमित आम्दानी गर्थें अहिले भने काम र आम्दानी दुवै बढेको छ ।’
अहिलेको समयमा रोजगारी एप्स काम गर्न चाहनेहरूका लागि एउटा खुल्ला प्लेटफर्मका रूपमा अगाडि आएको श्रीयोग डटकमका संस्थापक प्रकाश उप्रेती बताउँछन् । उप्रेतीका अनुसार आफूसँग सीप र क्षमता भए बेरोजगार बस्नुपर्ने बाध्यता अनलाइन एप्सहरूले हटाएका छन् । श्रीयोगमा काम दिलाउनेहरूसँग सीधा सम्पर्क गर्न सकिने व्यवस्था भएको उप्रेतीले जानकारी दिए ।
रोजगारी पसल डटकमले हस्पिटालिटी क्षेत्रको रोजगारीको व्यवस्था गर्ने गरेको छ । उक्त एप्सले न्यूनतम २० हजारदेखि अधिकतम ५० हजार मासिक तलबको रोजगारी दिलाउने रोजगार पसलकी व्यवस्थापन समितिकी सदस्य बिन्दु थापाले बताइन् । थापाका अनुसार यो एप्सले विशेष गरी गृहिणीहरूलाई रोजगार प्रदान गर्न आफूलाई फोकस गरेको छ ।
रोजगारी पसलमार्फत नै काम पाएकी हुन् खरीबोटकी सुस्मिता तामाङले । ८ कक्षा उत्तीर्ण तामाङ अहिले फाइनान्सको मार्केटिङ गर्छिन् । अहिलेको समयमा नपढेकाहरूले जागिर नपाउने अवस्थामा आफूजस्ताका लागि यस्तो एप्स प्रभावकारी भएको सुस्मिताले बताइन् । तामाङका अनुसार–‘यसले गर्दा कामका लागि भौंतारिनु पर्दैन । क्षमताअनुसार आम्दानी गर्न सकिन्छ ।’
कसरी पाइन्छ रोजगारी ?
गुगलमा धेरै किसिमका रोजगारी एप्स उपलब्ध छन् । त्यहाँ रोजगारीका विभिन्न समूह हुन्छन् । उक्त एप्स भिजिट गरिसकेपछि आफ्नो क्षमताअनुसारको रोजगारीका लागि आवेदन दिन सकिन्छ । आवेदन भर्दा वेवसाइटको नियमअनुसार विवरण भर्नुपर्ने हुन्छ । यसमा कसैले शुल्क तिर्नुपर्दैन । आवेदक तथा कम्पनीका बीचमा एप्स एउटा माध्यम मात्र हो । एप्समार्फत पठाइएको विवरण हेरी कम्पनीलाई उचित लागे रोजगारी प्रदान गरिन्छ ।
प्रकाश उप्रेती / संस्थापक, श्रीयोग डटकम
हामीले यो एप्स सञ्चालनमा ल्याएको दुई वर्ष भयो । यो एप्सबाट काम गर्ने र गराउने दुवै प्रकारका सेवा प्रदान गर्ने गरिन्छ । श्रीयोगमा अहिले ७८ वटा समूह छन् । यसलाई अझ बढाएर १ सय ५६ वटा समूहमा रोजगारी दिलाउने लक्ष्य लिएका छौं । हाम्रो उद्देश्य भनेको सीप भएर पनि कसैले बेरोजगार बस्नु नपरोस् भन्ने हो । हामीले यो एप्सबाट सबैलाई जोड्ने प्रयास गरेका छौं ।
यो एप्समा जोडिने महिलाहरूको संख्या पनि बढ्दै गएको छ । महिलाहरूका लागि विशेष गरी ब्युटिसियन, सेलरोटी पकाउने, बच्चा हेर्ने आदि काम छन् । यसले गर्दा महिलाहरू पनि रोजगार हुनुका साथै आत्मनिर्भर हुँदै गएका छन् ।
केही रोजगारी एप्स
मेरो जब्स डटकम, कुमारी जब्स, श्रीयोग डटकम, भेटायो डटकम, जब्स नेपाल आदि ।