‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।

गत महिना नेपाल प्रहरी अस्पतालको ३५ औं वार्षिकोत्सव सम्पन्न भयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिशु स्याहार केन्द्र तथा विशिष्ट व्यक्तिको उपचारका लागि स्थापना गरिएको भिआइपी कक्षको उद्घाटन गरे । वि.सं. २०४० साल चैतमा २५ शय्याबाट सुरु भएको यो अस्पतालमा अहिले १ सय ५० शय्या छन् ।
अस्पतालमा उत्कृष्ट सेवा–सुविधामा जोड दिन महानिरीक्षक खनालले आग्रह गरे । प्रहरी तथा प्रहरीका आश्रित परिवारको उपचार गर्दै आएको अस्पतालले गत वर्षदेखि सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । यो अस्पतालले आकस्मिक, बहिरंग, अन्तरंग तथा अन्य सेवा प्रदान गर्दै आएको छ ।