समाजसेवी यमु
काठमाडौंस्थित बागबजारमा जन्मिएकी यमु सुब्बा समाजसेवामा रुचि राख्छिन् । अमेरिकामा बालबालिकाको मानसिक र शारीरिक विकाससम्बन्धी कार्यक्रममा उनले धेरै काम गरिन् ।

सबै अभिभावक बच्चा चकचके नहोस्, ज्ञानी बनोस्, धेरै पढोस् भन्ने चाहन्छन् । तर बच्चा यसको ठीक विपरित खेल्न आफूले चाहेजस्तै गर्न खोजिरहेका हुन्छन् । अभिभावकले धेरै दु:ख गरेर छोराछोरीको शिक्षाका लागि लगानी गर्छन् । छोरा छोरीको पढाईसँगै बानी व्यहोरा, संस्कार असल बनोस् भन्ने उनीहरुको चाहना हुन्छ ।
अहिले उच्च शिक्षा लिनेको बढ्दो संख्यासँगै संस्कार कमजोर बन्दै गइरहेको छ । सबै कुरा अभिभावकमा निर्भर रहने बानीको विकास हुँदै गइरहेको छ । यस्तो परिप्रेक्ष्यमा पत्रकार श्रीश भण्डारीको अठोट पुस्तक अहिलेको पुस्तामा हुर्कदै गएको परनिर्भरपन प्रवृति कम गरेर आदर्श पुस्ता बन्ने उचित मार्ग दर्शन भएको छ । अठोटमा बालबालिकाको आनीबानी र संस्कारका बारेमा सूक्ष्म ढंगमा उतारिएको छ । यसमा समयको महत्व, खुसी रहने उपाय, बाल्यवास्थादेखि नै जीवनको प्राथमिकता, लक्ष्य निर्धारणका कुरा समावेश गरिएका छन् । स्मरणशक्ति के हो र कसरी ताजा राख्ने भन्ने कुरा पनि अठोट पढेपछि प्राप्त गर्न सक्छन् ।
एकले अर्कालाई आदर नगर्ने, जंकफूडमा भर पर्ने प्रवृति बढ्दो छ । यस्तो अवस्थामा जंकफुडको लत कम गर्ने, कसरी आत्मविश्वासी बन्ने भन्ने लगायतका विविध कुराका लागि अठोट उपयोगी छ । यो पुस्तक विद्यालयमा, अभिभावकले छोराछोरीलाई उपयोगी शिक्षाका लागि पढाउनु आवश्यक छ । यसले बालबालिका साथै अभिभावकको सोच बदल्न पनि मद्दत गर्छ । साथै पुस्तकमा असल व्यवहार तथा लगनबाट आफूलाई सफल बनाएका व्यक्तिहरु अल्बर्ट आइन्सटाइन, कन्फ्युसियस, गिजुभाइ, गौतम बुद्ध आदिका बाल्यावस्था तथा सफलताका कथा प्रस्तुत गरिएको छ । यो पुस्तक पढेर यसलाई उचित ढंगमा अवलम्बन गरेमा बालबालिकाको भविष्य उज्जवल हुने कुरामा दुइमत छैन ।