म्युजिक भिडियोमा उपासना
चलचित्र क्षेत्रमा स्थापित भइसकेको नाम हो उपासनासिंह ठकुरी । उनले थुप्रै हिट चलचित्र दिइसकेकी छन् ।

रविनलाल श्रेष्ठ, तबलावादक
सानै उमेरमा विवाह गर्नुको कारण के होला ?
दाइको विवाहको कुरा चल्दाचल्दै मेरा बुवा त्यही घरकी अर्की छोरी विनासँग मेरो विवाहको कुरा छिनेर आउनुभयो । म भने त्यतिबेला विवाह गर्ने पक्षमा थिइन । त्यतिबेला म १७ वर्षको तथा विना १५ वर्षकी थिइन् । यद्यपि बुवाका अगाडि नाइँनास्ती गर्न नसकेर हामीले विवाह गर्यौं । हामी दुवैले विवाहपछि मात्र एक–अर्कालाई देखेका हौं ।
श्रीमतीलाई कसरी संगीत क्षेत्रमा ल्याउनुभयो ?
म सानैदेखि तबला बजाउँथें । विवाहपछि म उनलाई पनि कार्यक्रमहरूमा लान्थें । विवाहअघि उनलाई ड्रमसेटको आवाज मनपर्दो रहेछ तर मैले संगीतमा लाग कहिल्यै भनिन । मेरा बुवाले विना र मेरी दिदीलाई सितार सिकाउनुभयो । त्यसपछि उनमा पनि संगीतप्रति रुचि बढ्दै गयो ।
श्रीमतीको सितार वादन कस्तो छ ?
सिक्दै, सिकाउँदै छिन् तर कहिलेकाहीँ गाइड गर्दा पनि सुन्ने बानी छैन, धैर्य कम छ । त्यसैले आफ्नो क्षमताअनुसार बजाउन सकिरहेकी छैनन् । सबै कुरा मिलेर पनि उनी आफै अल्छी गर्छिन् ।
एउटै क्षेत्रमा हुँदा कत्तिको सजिलो भएको छ ?
संगीत क्षेत्रमा लागेकी श्रीमती हुँदा संगीतका कुरा गर्ने, आपसमा सल्लाह गर्ने काम भैरहन्छ । अभ्यास गर्न पनि सजिलो छ । हामीबीच ताल–सुर मिलेको छ ।
तपाईंलाई श्रीमतीसँग कुन कुरामा रिस उठ्छ ?
म त्यति रिसाउँदिन तर मलाई विनाले बजाएको चित्त बुझेन भने चाहिँ रिस उठ्छ ।
विना श्रेष्ठ, सिदारवादक
सांगीतिक क्षेत्रमा श्रीमानबाट कस्तो सपोर्ट पाइरहनुभएको छ ?
मैले जीवनमा कहिल्यै संघर्ष गर्नुपरेन । सबै कुरा सजिलैसँग मिलिरहेको छ । सितार सिकेपछि घरमा प्राक्टिस गर्न तथा कार्यक्रमहरू श्रीमानले नै मिलाइ दिनुहुन्छ । उहाँको तबलाको तालले मेरो सितारवादनमा धेरै सपोर्ट भएको छ ।
श्रीमानको कुन पक्षले तपाईंलाई ऊर्जा प्रदान गर्छ ?
आफ्नो काम मेहनत साथ गर्ने, संगीतलाई साधना र शिष्यलाई आफूले जानेको ज्ञान दिनुपर्छ भनेर लागिपर्ने बानीले आफूमा ऊर्जा थपिएको महसुस गर्छु ।
तपाईंहरूका विपरीत बानी के–कस्ता छन् ?
संगीतप्रतिको रुचिबाहेक अरू सबै अपोजिट छन् । म घुम्न, फिल्म हेर्न तथा सपिङ गर्न रुचाउँछु तर उहाँलाई यी कुरामा पटक्कै रुचि छैन । म धेरै बोल्छु भने उहाँ कम बोल्नुहुन्छ ।
विवाहपछि घर र संगीतको संयोजन कसरी मिलाउनुभयो ?
हामी दिदीबहिनीको एउटै घरका दाजुभाइसँग विवाह भएकाले पनि मलाई बालबच्चा हुर्काउन तथा घरको काम गर्न दिदीबाट धेरै सहयोग मिल्यो । श्रीमानले पनि भान्साको काममा सहयोग गरिदिनुहुन्थ्यो ।
स्टेजमा श्रीमानसँगै प्रस्तुत हुँदा कस्तो महसुस हुन्छ ?
मैले छोरा, उहाँका विद्यार्थीहरू तथा अरू तबलावादकहरूसँग पनि सितार बजाएँ । यद्यपि श्रीमानसँग बजाउँदा जस्तो सजिलो अरूसँग भएन र मुड पनि आएन ।