सहारा बस्नेत, मिस नेपाल एसिया प्यासिफिक–२०१७
ललितपुरकी सहारा बस्नेत सानैदेखि सौन्दर्य प्रतियोगिताहरूमा रुचि राख्थिन् । उनले ४ कक्षामा पढ्दादेखि नै मिस नेपालमा भाग लिने सपना पालेकी थिइन् । काठमाडौं विश्वविद्यालयमा स्नातक तह अध्ययनरत सहारा समाजसेवामा पनि संलग्न छिन् । उनले आशा नामक संस्था खोलेर गाउँघरका थुप्रै स्कुलमा शौचालय बनाइरहेकी छिन् । शौचालयको अभावमा महीनावारी भएका बेला छात्राहरूले बेहोर्नुपर्ने दु:ख र स्कुल छाड्नेसम्मका घटनाबाट दु:खी सहारा यो काममा हात हालेर आत्मसन्तुष्टि प्राप्त गरेको बताउँछिन् ।
मिस नेपालपछि आफूमा के–कस्ता परिवर्तन पाउनुभयो ?
सानैदेखि स्टेजमा बोल्न, पब्लिकसँग फेस गर्न डर लाग्थ्यो । मिस नेपालको प्रशिक्षणले निकै आत्मविश्वास बढाएको छ । अब म जोसँग, जस्तो कुरा गर्न पनि हिचकिचाउँदिन । मलाई कुनै कुरामा संकोच नलाग्ने भएको छ ।
मिस नेपालको तयारीमा कहिलेदेखि लाग्नुभयो ?
म त पूरै तयारीका साथ सहभागी हुन आएकी हुँ । म विगत दुई वर्षदेखि नै यो प्रतियोगितामा भाग लिने तयारी गर्दै थिएँ ।
अबको तयारी कस्तो रहनेछ ?
मिस प्यासिफिकमा के–कस्तो हुन्छ, आफूले के–कस्तो तयारी गर्नुपर्छ भनेर युट्युब भिडियोहरू हेरिसकें । कोसँग भेटेर के–के सिक्नुपर्छ, के–के तयारी गर्नुपर्छ आदि सबै बुझेर पूरै तयारी गर्नेछु । देशको प्रतिनिधित्व गर्नुपर्ने भएकाले तयारीमा सकेसम्म कुनै कसर नछोड्ने विचार छ ।
तपाईंको रुचि केमा छ ?
पियानो बजाउँछु, बास्केटबल तथा भिडियो गेम खेल्न रुचाउँछु ।
ट्यालेन्ट शोमा पनि पियानो बजाउनुभएको हो नि ?
हो, मैले पियानो बजाउन आफैं सिकेकी हुँ । मैले सार्वजनिक रूपमा पहिलो पल्ट मिस नेपालको स्टेजमा पियानो बजाएकी हुँ । मैले बुबा–मम्मीका अगाडि पनि पियानो बजाएकी थिइन । अब राम्रोसँग सिकेर बजाउनुपर्छ भन्ने महसुस भएको छ ।