५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
माथिल्लो तहमा महिलाहरूको प्रभाव बढ्दै जाँदा विस्तारै गाउँघरका पुरुष केन्द्र पनि भत्कदै गएका छन् । गाउँ–गाउँमा गठन भएका आमा समूहहरू थप शक्तिशाली भएका छन् । गाउँघरमा पुरुषको कमी हुँदा पुरुषले गर्ने सबै किसिमका काम महिलाहरूले गर्न थालेका छन् ।
वर्ष २०७३ सालमा सञ्चारमाध्यममा सबैभन्दा बढी छाउने महिला को होलान् ? निश्चय नै कौतूहलको विषय बन्न सक्छ । वर्षभरिका न्युजमेकर महिलाहरूको खोजी गर्ने क्रममा नारीले सबैजसो सञ्चारमाध्यमका समाचारलाई फर्केर हेर्ने प्रयास गरेको थियो । यो प्रयासमा केही अनौठा तथ्य बाहिर आए । विगतका वर्षझैं यो वर्ष पनि महिलाहरूको चर्चा राजनीति तथा आर्थिक क्षेत्रमा भन्दा मनोरञ्जन एवं समाजसेवामा बढी भएको रहेछ । अझै पनि महिलाहरू राजनीति, प्रशासन एवं व्यापार–व्यवसायमा अपेक्षित ढंगमा अघि बढ्न नसकेको वर्षभरिका समाचारले देखाउँछन् । देशको राष्ट्रप्रमुख, सभाध्यक्ष तथा प्रधानन्यायाधीश महिला नै भएको देशमा महिलाहरू प्रमुखताका साथ सञ्चारको केन्द्रमा रहन नसकेको तथ्य आफैमा अस्वाभाविक लाग्न सक्छ ।
यद्यपि नेपाली समाज पहिलेझैं पूर्णरूपमा पुरुषलाई केन्द्रमा राखेर चलेको छ भन्ने कुरा पनि सत्य होइन । माथिल्लो तहमा महिलाहरूको प्रभाव बढ्दै जाँदा विस्तारै गाउँघरका पुरुष केन्द्र पनि भत्कदै गएका छन् । गाउँ–गाउँमा गठन भएका आमा समूहहरू थप शक्तिशाली भएका छन् । गाउँघरमा पुरुषको कमी हुँदा पुरुषले गर्ने सबै किसिमका काम महिलाहरूले गर्न थालेका छन् । जग्गा खरिद गर्दा सरकारले दिएको विशेष सहुलियतका कारण महिलाका नाममा प्रशस्तै जग्गा नामसारी हुन थालेका छन् । सरकारी जागिरमा पनि महिला वर्चश्व बढ्दै गएको छ । संघीय शासनअन्तर्गत गाउँपालिकामा बढी महिला चुनिने संवैधानिक व्यवस्थाका कारण महिलाहरूको राजनीतिक सक्रियता पनि ह्वात्तै बढ्ने देखिएको छ । २०७३ सालमा सबैभन्दा बढी चाख लिएर पढिने, सुनिने र कुरा गरिने एक दर्जन बढी महिला देखिए जसले वर्षभरि कुनै न कुनै रूपमा नेपाली समाजलाई प्रभावित तुल्याएको पाइयो ।
पुष्पा वस्नेत, समाजसेवी
२०६९ सालमा सिएनएन हिरोको उपाधि जितेपछि चर्चा पाएकी पुष्पा बस्नेत ४ वर्षपछि पुन: सुपर हिरोको उपाधि जितेर समाचारमा छाइन् । समाजसेवा सुरु गरेको एक दशक बितेलगत्तै उनले गरेका कामको खोजी नेपाली मिडियामा मात्र होइन, विश्वभरका मिडियाहरूमा पुग्नु पुष्पाको ठूलो उपलब्धि हो । गएको वर्ष उनले सिएनएन हिरोको उपाधि प्राप्त गरेका व्यक्तिहरूमध्येबाट सुपर हिरोको उपाधि जितेकी हुन् । ३४ वर्षमै प्राप्त यो सफलताका कारण उनलाई यो वर्ष सबैभन्दा बढी चर्चा पाउने महिला मानिएको छ ।
१२ वर्षअघि समाजशास्त्रमा स्नातक गर्ने क्रममा इन्टर्नसिपका लागि जेल पुगेकी पुष्पाले निर्दोष बालबालिका आमासँगै त्यहाँ थुनिएको देखेकी थिइन् ।
आमाले अपराध गरेर जेल गए पनि निर्दोष बालबालिकाहरू प्रतिकूल अवस्था भएको जेलमा हुर्कनु विडम्बना थियो । त्यही विडम्बनालाई चिर्न उनले सुरु गरेको ‘पुतली घर’ नामक बालबालिका पुनस्र्थापना केन्द्र अहिले अन्तर्राष्ट्रिय चर्चामा छ । उनले विभिन्न कारणले जेलमा परेका आमासँग रहेका बालबालिकाहरूलाई जेल बाहिर ल्याई बस्न–खाने साथै पठनपाठनको वातावरण बनाएपछि उनको समाजसेवा सुरु भएको थियो । व्यवसायी बुवा तथा केही सहयोगी साथीहरूको साथबाट प्रारम्भ गरिएको यो कामले चाँडै देशभित्र र केही वर्षभित्रै विदेशमा पनि महत्व पाउन थाल्यो ।
श्वेता खड्का, नायिका–व्यवसायी
पृथ्वीमा दैनिक लाखौं मानिसको देहान्त हुन्छ । केही त्यस्ता भाग्यमानी हुन्छन्, जसले जीवनभर त नाम कमाउँछन् नै, मृत्युपर्यन्त लाखौंको मनमा सजीव रहन्छन् । २०७१ सालमा नायक श्रीकृष्ण श्रेष्ठ विवाह भएको ३१ दिनमा स्वर्गारोहण भएका थिए जसको मृत्युको समवेदना दिन दर्शकहरूको ओइरो लागेको थियो । मृत्युयता उनको नाम दर्शकले त सम्झिएका छन् नै, नायिका श्वेताका कारण उनी मृत्युपर्यन्त समाजसेवामा जोडिएका छन् । वर्ष २०७३ मा नायिका श्वेताले श्रीकृष्णको नाममा श्वेताश्री फाउन्डेसन स्थापना गरिन् । ठूलो पीडाबाट बाहिर आएकी श्वेताले श्रीकृष्णका नाममा समाजसेवा गरेर उनको नामलाई अमर बनाइरहेकी छिन्, त्यो भन्दा बढी आफू खुसी भएर समाजलाई खुसीका साथ बाँच्ने सन्देश दिइरहेकी छिन् ।
तेरिया मगर, नृत्या·ना
बुटवलकी तेरिया मगरले २०७१ सालमा कुशल नृत्याङ्गनाका रूपमा नेपाललाई चिनाएकी थिइन् । भारतको लोकप्रिय टेलिभिजन च्यानल ‘जी’ ले आयोजना गरेको नृत्य प्रतियोगितामा तेरियाले हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै ‘लिटिल च्याम्प’ उपाधि जितेकी थिइन् । त्यसपछि डान्स इन्डिया डान्समा पनि उपाधि जितेकी तेरियालाई नेपाल सरकारले ‘लुम्बिनी शान्तिदूत’ बनाएर सम्मान गरेको छ । तेरियाले वर्ष २०७३ मा झलक दिखलाजामा उपाधि जितेर ५० लाख रुपैंयाँ तथा एउटा कार हात पारिन् । नृत्यकै कारण २३ देश पुगिसकेकी १४ वर्षीया तेरियाको चर्चा गतवर्ष शीर्षमै रह्यो ।
झमककुमारी घिमिरे, साहित्यकार
वर्ष २०७३ मा नेपाली साहित्यमा तीन महिला स्रष्टाका कृतिले चर्चा पाए भने एउटी स्रष्टाले विद्यावारिधि हासिल गरिन् । गएको वर्ष अपाङ्ग साहित्यकार झमक घिमिरेले मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि हासिल गरेकी हुन् । बोल्न, सुन्न मात्र होइन, हातका केही औंलाबाहेक कुनै अङ्ग चलाउन नसक्ने झमकले घरमै बसेर अक्षर मात्र चिनिनन्, नेपाली साहित्यका लागि गम्भीर कृति समेत दिइन् । उनको आत्मकथा ‘जीवन काँडाकी फूल’ ले मदन पुरस्कार प्राप्त गरेको थियो । यो वर्ष साहित्यमा ‘कम्प’ की लेखिका शारदा शर्मा तथा ‘इति’ की लेखिका उमा सुवेदीले विशेष चर्चा पाए । त्यसबाहेक लेखिका नीलम कार्की ‘निहारिका’ ले ‘चीरहरण’ बाट २ लाख राशिको पद्मश्री साहित्य पुरस्कार प्राप्त गरिन् ।
दीपाश्री निरौला, निर्देशक
दीपाश्री निरौला यस्ती कलाकार हुन्, जो दुई दशकदेखि आफूलाई लाइम लाइटमा ल्याउन सफल भैरहेकी छिन् । रेडियो नेपालमा मधेसी महिला ‘धनियाँ’ को भूमिका निर्वाह गरेकी दीपालाई त्यही एउटा कार्यक्रमले जनताको भाषा बोल्ने कलाकारका रूपमा चिनायो । केही चलचित्र एवं टेलिफिल्मपछि उनी ‘तीतो सत्य’ मा फरक तरिकाले जम्न थालिन् । तीतो सत्यपछि पनि उनको प्रगतिको यात्रा रोकिएन । नेपाल टेलिभिजनको छोटोपर्दाको लोकप्रियतालाई उनले ठूलोपर्दामा समेत निरन्तरता दिइन् र दुईवटा चलचित्रको लगानीकर्ता एवं सहायक निर्देशक भएर काम गरिन् । यद्यपि दीपाको जीवनको सबैभन्दा ठूलो उपलब्धि भने ‘छक्का–पञ्जा’ बनिदियो । २०७३ सालमा प्रदर्शन भएको ‘छक्का–पञ्जा’ नेपाली चलचित्रको इतिहासमै सबैभन्दा बढी कमाउने चलचित्र हो । दीपा उक्त चलचित्रकी निर्देशक हुन् । नेपाली चलचित्र उद्योगमा महिला निर्देशकको अभाव खड्किरहेका बेला दीपाश्रीको निर्देशकीय क्षमताले चलचित्र उद्योग नै तरंगित भयो ।
मीरा राई, धाविका
४ वर्षदेखि अल्ट्रा धावकका रूपमा ख्याति कमाएकी मीरा राई यो वर्ष नेसनल जियोग्राफिक च्यानलबाट वर्षकी साहसी व्यक्ति घोषित भइन् । नौ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले विश्वकै महत्वपूर्ण मानिने साहसी व्यक्तिको पदवी पाएकी हुन् । स्कुल पढ्दापढ्दै माओवादी छापामार बनेकी मीराको धोको नेपाली सेनामा जागिर खाने थियो तर अनमिनको प्रमाणीकरणमा ‘अयोग्य’ भएपछि उनी खेलकुदतर्फ लागिन् । भोजपुरमा जन्मिएकी मीराका लागि पहाडी क्षेत्रमा दौडनु सामान्य कुरा थियो । अल्टा्र धावनलाई उनले आफ्नो जीवनकै लक्ष्य बनाइन् । फलस्वरूप उनी इटलीमा सम्पन्न अल्ट्रा रेसमा प्रथम भइन् । त्यसपछि हङकङ, अस्ट्रेलिया, इटली र फ्रान्सका प्रतियोगिताहरूमा पनि महत्वपूर्ण उपलब्धि हासिल गरिन् । अल्ट्रा धावकका रूपमा ८ वटा स्वर्ण हात पारिसकेकी मीरालाई नेसनल जियोग्राफिकले वर्षकी साहसी व्यक्ति घोषणा गरेपछि उनी वर्ष २०७३ मा सर्वाधिक चर्चा पाउने महिला भइन् ।
सरस्वती भट्टराई, धाविका
वर्ष २०७३ मा खेलतर्फ सरस्वती भट्टराईले आफ्नो क्षेत्रमा राम्रो नाम कमाएर चर्चित महिलाको सूचीमा आफूलाई सामेल गराइन् । सन् २०१६ मा भएको ग्रीष्मकालीन ओलम्पिकमा १ हजार ५ सय मिटर दौडमा उनी नेपालका तर्फबाट सहभागी भएकी थिइन् । घरेलु खेलमा निकै राम्रो खेलाडी मानिने सरस्वतीले ओलम्पिकमा विशेष खेल त देखाउन सकिनन् तर ४ मिनेट ३३ सेकेन्डमा १ हजार ५ सय मिटर दौडेर यसअघि नेपाली महिलाले राखेका सबै रेकर्ड तोडिन् । नेपाली सेनाकी जागिरे सरस्वतीले राष्ट्रिय प्रतियोगिताहरूमा अनकौं स्वर्ण पदक जितेर नेपाली एथलेटिक्समा आफ्नो नाम अनिवार्य बनाएकी छिन् ।
लुना रञ्जित, सामाजिक अभियन्ता
वर्ष २०७३ सालमा सामाजिक अभियन्ताहरूमा लुना रञ्जितको नाम पनि चर्चित रह्यो । यो वर्ष सामाजिक न्यायका लागि अग्रसर भएर काम गरेको भन्दै लुनालाई अमेरिकी सरकारले ५० हजार डलरको ग्रीनेल पुरस्कार प्रदान गर्यो । त्यति मात्र होइन, अंग्रेजी महिना सेक्टेम्बर २८ तारिखका दिन अमेरिकी सहर न्युयोर्क सिटीले लुना दिवस मनाउन थालेको छ । पुरस्कार वितरण समारोहमा न्युयोर्कका मेयरले हरेक वर्ष सेक्टेम्बर २८ तारिकलाई न्युयोर्कमा लुना डे मनाउने मनाउने घोषणा गरे । सन् २००५ देखि एचआइभी एड्सविरुद्धको अभियानमा सामेल भएकी रञ्जित अमेरिकामा बसोबास गर्छिन् र उनी त्यहाँ अमेरिकामा विश्वभरबाट पुगेका नागरिकहरूविरुद्ध हुने विभेदविरुद्ध लडिरहेकी छिन् । लुनाकै संस्थागत पहलमा न्युयोर्कमा घरेलु कामदार बालिकामाथि हुने विभेद बाहिर आएको थियो । यसअघि पनि उनले १ लाख डलरको पुरस्कार हात पारिसकेकी थिइन् ।
सरिता गिरी, नाट्यकर्मी
केही समयअघिसम्म महिला नाट्यकर्मीको नाम लिँदा निशा शर्माको नाम सबैभन्दा पहिले आउँथ्यो । अहिले निशाको नाम कम त भएको छैन, तर निशाको कामलाई अघि बढाउन अरुणा कार्की, सरिता गिरीजस्ता महिला नाट्यकर्मीहरू अघि सरेका छन् । १५ वर्षदेखि नाट्यकर्ममा समर्पित सरिता गिरी वर्ष २०७३ की सर्वाधिक लोकप्रिय नाट्यकर्मी हुन् । यो वर्ष ‘बोक्सीको घर’ मा उनले गरेको अभियन सबैका लागि आश्चर्यको विषय बन्यो । उक्त नाटकमा सरिताको एकल अभिनय थियो । यसअघि उनको निर्देशनमा मञ्चन भएको नाटक ‘अश्वत्थामा हतोहत’ बाट सौगात मल्लले उत्कृष्ट अभिनयको पुरस्कार प्राप्त गरेका थिए । ४ वटा नाटकमा एकल अभिनय गरिसकेकी सरिताले वर्ष २०७३ मा नेपाली नाटकको स्तर मात्र बढाइनन्, नेपाली नाट्य क्षेत्रमा महिलाको स्थान कति माथि पुुगिसकेको भन्ने कुरा पनि प्रमाणित गरिदिइन् ।
कुञ्जना घिमिरे, कलाकार
दुई वर्षअघि भूकम्प जाँदा सयौं कलाकार भूकम्प पीडितको उद्धारमा खटिएका थिए । यद्यपि त्यसलाई निरन्तरता दिने व्यक्ति भने सीमित रहे । यही मेसोमा सीताराम कट्टेल र कुञ्जना घिमिरेले सामाजिक सेवाका लागि मिलेर खोलेको ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ ले भूकम्प पीडितहरूका लागि गरेको काम उदाहरणीय बन्यो । दुई वर्षमा भूकम्पबाट पूर्णरूपमा भत्किएका दुईवटा गाउँलाई नमूना बस्तीमा परिवर्तन गरेको उक्त संस्थाले वर्ष २०७३ मा महोत्तरीको बर्दिबासमा मुसहर बस्तीको निर्माण पूरा गरेको छ । अघिल्लो वर्ष नेपाल सरकारले सफाइदूत नियुक्त गरेपछि प्रचारका क्रममा कुञ्जना उक्त मुसहर बस्ती पुगेकी थिइन् । कुञ्जना त्यसअघि भूकम्पले क्षतिग्रस्त काभ्रेका दुई गाउँको पुनर्निर्माणमा पनि देश–विदेशबाटमा सहयोग जुटाउन तथा कार्यक्षेत्रमा खटिएर महत्वपूर्ण योगदान पुर्याउन सक्रिय थिइन् ।
कोमल वली र रेखा थापा, राजनीति
यो वर्ष राजनीतिका ठूल्ठूला घटना घटे पनि महिला राजनीतिज्ञहरू भने उतिसारो चर्चामा आएनन् । पत्रकार एवं लोकगायिकाका रूपमा ख्याति कमाएकी कोमल वली तथा प्रसिद्ध नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा गरेको प्रवेशले भने ठूलो चर्चा पायो । रेडियो नेपालको जागिर छाडेर वली कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेकी हुन् भने रेखा थापा यसअघि माओवादी नजिक थिइन् । यी दुवै सेलिब्रेटीले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएर पार्टीभित्र आफ्नो पकड पनि बलियो बनाएका छन् । वलीले खुला तर्फबाट निर्वाचन जितेकी थिइन् भने थापाले महिला कोटामा आफ्नो स्थान सुरक्षित बनाएकी हुन् । वली र थापाले निर्वाचनमा निकै राम्रो मत प्राप्त गरेका थिए।
सीता देवी यादव, राजनीति
यो वर्ष नेपाली कांग्रेसकी नेतृ सीता देवी यादव पनि चर्चामा आइन् । दोस्रो संविधानसभामा सिराहा तीनबाट निर्वाचित सीता देवीले नेपाली कांग्रेसको महाधिवेशनमा कोषाध्यक्ष पदमा जित हात पारेकी थिइन् । नेपाली कांग्रेसभित्र खुलारूपमा यति ठूलो पदमा पुग्नुलाई महत्वपूर्ण उपलब्धि मानिन्छ । सशस्त्र द्वन्द्वको समयमा २०५७ सालमा माओवादीद्वारा पति चन्द्रनारायण यादवको हत्या भएपछि उनी राजनीतिमा आएकी हुन् । चन्द्रनारायण यादव सिराहाका लोकप्रिय कांग्रेस नेता थिए । यादव अहिले शान्ति तथा पुनर्निर्माण मन्त्री पनि छिन् । मन्त्री भएयता उनी द्वन्द्वका समयमा मारिएका व्यक्तिहरूको अभिलेख राख्ने तथा बेपत्ताको खोजी गर्ने काममा सक्रिय छिन् ।
अरुणा गुरुङ, समाजसेवा
२०७३ सालमा विदेशमा उच्च सम्मान पाउने महिला अरुणा गुरुङ पनि हुन् । अरुणालाई हङकङ सरकारले महिला आयोगको सदस्यमा नियुक्त गरेको हो । गुरुङ हङकङको २१ सदस्यीय महिला आयोगमा नियुक्त हुने एक्ली विदेशी हुन् । यसअघि २०१२ मा उनी हङकङ सरकारले प्रदान गर्ने महत्वपूर्ण पुरस्कार चिफ एक्जुकेटिभ कमेन्डेसनबाट सम्मानित भएकी थिइन् । पोखरा स्थायी घर भएकी अरुणा लामो समयदेखि हङकङमा बस्दै आएकी छिन् । उनले यसअघि हङकङमा जातीय सद्भावना प्रवद्र्धन समितिको सदस्यका रूपमा काम गरिसकेकी थिइन् । अरुणा चीनको चर्चित एयरलाइन्स ड्रागन एयरको इन फ्लाइट म्यानेजर पनि हुन् । उनको नेतृत्वमा अंग्रेजी पत्रिका नेपाल पोस्ट सर्भिसेज पनि प्रकाशन हुन्छ । काठमाडौंको पद्म कन्या क्याम्पसबाट स्नातक गरेकी अरुणा खेलाडी पनि हुन् । उनले नेपालको पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ५ हजार मिटर दौडमा कांस्य पदक जितेकी थिइन् ।
भवानी राणा, व्यवसायी
नेपालमा उद्योग चलाउने भन्नेबित्तिकै पुरुषको सम्झना आउँछ । महिलाहरूले उद्योग चलाएको, नेतृत्व गरेको र समस्या समाधान गरेको कमै देखिन्छ । यद्यपि भवानी राणा फरक छिन् । गार्मेन्ट उद्योगबाट व्यवसाय प्रारम्भ गरेकी भवानी राणा अहिले चर्चित पर्यटन व्यवसायी हुन् । पर्यटन हुँदै पूर्वाधार विकासमा समेत हात हालेपछि राणा अहिले उद्योग वाणिज्य महासंघको अध्यक्षमा सर्वसम्मत भएकी छिन् । करिब १२ वर्षदेखि उद्योग वाणिज्य महासंघको विभिन्न निकायमा काम गरेकी भवानीले उद्योगीहरूको संगठनको नेतृत्व गर्न थालेपछि उनको चर्चा चुलिएको छ । सुरुमा महिला भएकै कारण नेतृत्वमा आएकी राणा विगत ८ वर्षयता खुलारूपमा पुरुषहरूसँग प्रतिस्पर्धा गर्दै माथि आएकी हुन् । २०७३ सालअघि राजनीतिको केन्द्रमा महिलाहरू थिए भने २०७३ सालले व्यवसायमा पनि महिलालाई केन्द्रमा पुर्याएको छ ।
कुसुम श्रेष्ठ, तरकारीवाली
कहिलेकाहीँ कर्मभन्दा भाग्य प्रधान हुन्छ भन्ने उदाहरण कुसुम श्रेष्ठको जीवनमा लागू भयो । रूपचन्द्र महर्जनले गोरखा भुल्मिचोक र पृथ्वी राजमार्गको बरौंदी बजार जोड्ने झोलुङ्गे पुलमा तरकारी बिक्री गर्न आएकी युवतीको तस्बिर खिचेका थिए । उनले उक्त तस्बिर आफ्नो फेसबुकमा पोस्ट गरे । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि कुसुम तरकारीवालीका नामले प्रख्यात भइन् । उनको तस्बिर लाखौं पटक सेयर भयो भने युट्युबमा दर्जनौ भिडियो बने । उनका अन्तर्वार्ताहरूसमेत प्रख्यात भए । केही चलचित्रबाट प्रस्ताव आए पनि उनले नर्सिङ पढ्ने रुचि देखाइन् । अहिले उनलाई चितवनको कोएस्ट कलेजले छात्रवृत्तिमा अध्यापन गराइरहेको छ ।