नयाँ वर्षको आगमनसँगै सबैको मनमा छुट्टै किसिमको उमङ्ग, जोस एवं जाँगर पैदा हुन्छ । नयाँ वर्षसँगै नयाँ योजना बनाइन्छन् । तीमध्ये कतिपय योजना पूरा हुन्छन् भने कतिपय अधूरै रहन्छन् । नयाँ वर्षमा अन्य नवीन योजनासँगै स्वास्थ्यसम्बन्धी योजना पनि बनाइनु जरुरी छ । अहिले धेरै महिलाले आफ्नो स्वास्थ्यप्रति जागरुक हुँदै नियमित स्वास्थ्य जाँच गराउने गरेका छन् । बालकुमारीकी दीपा श्रेष्ठ एक सन्तानकी आमा हुन् । सिजेरियन अपरेसनबाट शिशु जन्माएकी श्रेष्ठ प्रत्येक वर्ष आफ्नो पाठेघर, स्तन तथा थाइराइड जाँच गराउँछिन् ।
महिलाहरूको यस्तो प्रयासलाई सुखद् सुरुवात मान्न सकिन्छ । नर्भिक इन्टरनेसनल हस्पिटलकी डा. अचला वैद्यका अनुसार अहिले शिक्षा, जनचेतना, ठाउँठाउँमा चलाइने क्याम्प तथा सामुदायिक सेवाले गर्दा पनि महिलाहरू आफ्नो स्वास्थ्यप्रति जागरुक हुन थालेका छन् । महिलाले बाहिरी कामका साथै घर–परिवारको जिम्मेवारी पनि बहन गर्नुपर्ने हुन्छ । दोहोरो भूमिका निर्वाह गर्न बाध्य महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिन थालेसँगै रोगले विकराल रूप लिएपछि मात्र उपचार खोज्ने परिपाटीमा समेत परिवर्तन आउन थालेको छ ।
डा. अचला वैद्य, नर्भिक इन्टरनेशनल हस्पिटल
उपत्यकाका मात्र नभएर उपत्यकाबाहिर बुटवल, गोरखा, धरान, विराटनगर, भैरहवा आदि ठाउँबाट पनि नियमित उपचार गराउन आउने महिला प्रशस्तै छन् । महिलाले सानाभन्दा साना रोगलाई पनि बेवास्ता नगरी समय–समयमा चेकअप गराउनु आवश्यक छ । साधारणतया सन्तान जन्माइसकेका तथा नजन्माएका सबै महिलाले वर्षको एकपटक नियमित स्वास्थ्य जाँच गराउनुपर्छ ।
५० वर्षभन्दा कम उमेरका महिला
- शरीरमा रगतको मात्रा ठीक छ कि छैन भनेर हेमोग्लोबिन जाँच गराउनुपर्छ ।
- मधुमेह तथा थाइराइड पनि जाँच गराउनुपर्छ ।
- अहिले धेरैजसो महिला कामकाजी हुने भएकाले घाममा बस्न भ्याउँदैनन् भने कतिपयले शाकाहारी खाना खान्छन् । माछा–मासु एवं अण्डा नखाँदा भिटामिन डीको कमी हुनसक्छ । त्यसैले यसको जाँच पनि गराउनु आवश्यक छ ।
- पाठेघर तथा डिम्बाशयसम्बन्धी समस्या भए–नभएको थाहा पाउन अल्ट्रासाउन्ड गराउनुपर्छ ।
- ४० वर्षमाथिकाले स्तनक्यान्सर भए नभएको जानकारीका लागि वर्षको एकपटक अल्ट्रासाउन्ड गराउनुपर्छ ।
- कतिपयलाई पिसाबको इन्फेक्सन हुनसक्छ । त्यसका लागि पिसाब जाँच गराउनु आवश्यक छ ।
- डेलिभरीको समयमा धेरै रगत बगेको तथा कतै दुर्घटना परेर रगत दिनुपरेको हिस्ट्री छ भने हेपाटाइटिस तथा एचआईभी जाँच गराउनुपर्छ ।
- महिलामा एनिमियाँ धेरै देखिने भएकाले यसको पनि जाँच गराउनुपर्छ । छिटो थकाइ लाग्नु, अल्छी लाग्नु तथा शरीर झुम्म हुनु एनिमियाँका लक्षण हुन् ।
- ५० वर्षमाथिका महिला
- लिपिड प्रोफाइल, युरिक एसिड, मधुमेह एवं क्याल्सियम जाँच गराउनुपर्छ ।
- पहिले नियमित उपचार नगरेको भए पनि महिनावारी सुक्ने बेलामा (मेनापज) नियमित उपचार गराउनु अत्यावश्यक छ ।
- स्तन, पेट तथा पाठेघरको अवस्था बुझ्न अल्ट्रासाउन्ड गराउनुपर्छ ।
- महिनावारी सुकेपछि मुटुको समस्या देखापर्ने सम्भावना भए इसीजी तथा छातीको एक्सरे गराउनुपर्छ ।
- पाठेघरको अवस्था बुझ्न प्याप स्मेयर टेस्ट गराउनुपर्छ ।
- शरीरमा रगतको मात्रा कति छ भनेर जान्न कम्प्लिट ब्लड काउन्ट गर्नुपर्छ ।
- हड्डीको अवस्था जान्न डेक्सा स्क्यान गराउनुपर्छ । यो जाँच एकपटक गराउँदा आएको रिजल्टलाई आधार मानेर दोहोर्याउनुपर्ने–नपर्ने निर्धारण हुन्छ ।

प्याप स्मेयर टेस्ट : पाठेघरको अवस्था बुझ्न प्याप स्मेयर टेस्ट गराउनुपर्छ । यो परम्परागत विधि हो ।
लिक्विड बेस्ड साइटोलोजी : यो अत्याधुनिक प्रविधि हो ।
भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड तथा भिजुअल इन्सपेक्सन विथ लुगोल्स आयोडिन : यो पाठेघरको क्यान्सर जाँच्ने सहज एवं सुलभ विधि हो । यसको प्रयोग हेल्थ क्याम्प वा ग्रामीण भेगमा गर्न सहज हुन्छ ।
कल्पोस्कोपी : माथिका तीनवटा टेस्ट गर्दा समस्या देखिए थप सुनिश्चितताका लागि कल्पोस्कोपी गरिन्छ । यसले योनिद्वारमा क्यान्सरका घातक कोषिकाहरू उत्पादन हुनुपूर्व र ती कोषिकाहरू उत्पादन भएपछि त्यहाँ देखिने परिवर्तनका बारेमा पत्ता लगाउन सहयोग पुर्याउँछ । सामान्यत: वर्षमा एकपटक महिलाले माथिका जाँच गराउनुपर्छ । त्यसबाहेक अन्य समस्या भए उपचारमा लापरबाही गर्नुहुँदैन । नियमित रूपमा स्वास्थ्य जाँचका साथै व्यायाम पनि गर्नुपर्छ ।
म्यामोग्राम : यो ३–४ वर्षमा एकपटक जाँच गराए हुन्छ । परिवारमा स्तनक्यान्सरको हिस्ट्री भएकाहरूले यो जाँच गराउनुपर्छ । ४५ वर्ष उमेर पुगेका महिलाले यो जाँच गराउनु अत्यावश्यक छ ।
अहिले धेरै महिलामा थाइराइड देखापरेको छ । ५० वर्षको उमेरपछि नियमित रूपमा थाइराइड चेकअप गराइरहनुपर्छ किनभने यो उमेरमा थाइराइड फङ्सन हुँदैन । थाइराइड वंशानुगत पनि हुने भएकाले परिवारमा पहिले कसैलाई थाइराइड छ भने ३५ वर्षको उमेरपछि नै थाइराइड चेकअप गराउनु जरुरी भएको डा. दीना बताउँछिन् । यसैगरी परिवारमा कसैलाई मधुमेह भए ३५ वर्षको उमेरपछि वर्षको एकपटक यसको जाँच गराउनु उपयुक्त हुन्छ । मोटोपन भएकाहरूलाई मधुमेह हुने सम्भावना भएकाले समय–समयमा मधुमेह जाँच गराउनुपर्छ । मधुमेह जाँच गराउँदा एचबीएवनसी पनि हेर्नुपर्छ । यसैगरी उच्च रक्तचापका साथै मोटोपन भएकाहरूले समय–समयमा जाँच गराउनुपर्छ । मधुमेह छ भने प्रत्येक ३ देखि ६ महिनामा रक्तचाप जाँच गराउनु आवश्यक हुन्छ ।
सबैका लागि जाँच
- महिला मात्र नभएर सबै मानिसले आफ्नो स्वास्थ्यप्रति उत्तिकै जागरुक हुनु आवश्यक छ ।
- बालबालिकाहरूलाई घरको भन्दा बाहिरको खाना मन पर्छ जसले गर्दा उनीहरूमा सन्तुलित आहारको कमी हुन्छ ।
- ५ वर्षको उमेरपछि बालिबालिकाको एनिमिया तथा शरीरमा रगतको मात्रा कति छ भनेर हेमोग्लोबिन जाँच गराउनु जरुरी हुन्छ ।
- स्वस्थ मानिसको शरीरमा ११ देखि १६ प्रतिशत हेमोग्लोबिन हुनुपर्छ ।
- त्यसैगरी भिटामिन डी तथा आइरनको कमी छ–छैन थाहा पाउन जाँच गर्नुपर्छ ।
- रोग लागेपछि उपचार गराउनुभन्दा पनि स्वस्थ मानिसले वर्षको एकपटक कम्प्लिट ब्लड काउन्ट (रगतसम्बन्धी रक्तकोषको जाँच) गराउनुपर्छ । यसबाट कुनै रोग लागेको भए समयमै पत्ता लागेर उपचार गर्न सहज हुन्छ ।
- ४० वर्ष पुगेकाहरूले वर्षको एकपटक मिर्गौला परीक्षण गराउनुपर्छ । मधुमेह र उच्च रक्तचापका बिरामीले भने जुनसुकै उमेरमा पनि बर्सेनि मिर्गौला जाँच गराउनु आवश्यक छ ।
अन्त्यमा
आफ्नो खानामा हरियो सागपातको मात्रा बढाउनुपर्छ । ताजा फलफूल, माछा–मासु, पनीर, गेडागुडी आदिलाई खानामा समावेश गर्नुपर्छ । नियमित रूपमा छाला देखिने गरी घाममा बस्दा शरीरमा भिटामिन डीको कमी हुन पाउँदैन । कोल्ड ड्रिंक्स तथा जंकफुड आदिको सेवन हितकर हुँदैन । आफ्नो स्वास्थ्यका बारेमा आफै सजग भएर यो वर्षदेखि नियमित रूपमा स्वास्थ्य जाँच गराउने संकल्प लिनु वेश हुन्छ । यति गर्न सके स्वस्थ जीवन बिताउन सकिन्छ ।