Successfully Copied

अश्लेषा र त्रिशाला

युवापुस्ताका त्रिशाला तथा अश्लेशा आफुलाई चिनाउने प्रयासमा छन् । मोडलिङ तथा मेकअप आर्ट मार्फत युवापुस्ता माझ परिचित अश्लेशा र कभर गीतहरु मार्फत धेरै फ्यान बटुलेका डाक्टर बन्ने तयारीमा रहेका त्रिशाला विच काम प्रतिको लगाब र केही नयाँ गरौं भन्ने जोश भरपूर छ ।

३ वर्षअघिदेखि पत्रपत्रिका तथा विज्ञापनहरूमा छाइरहेकी अश्लेषा राणाले आफू मोडलिङमा लाग्छु भनेर योजना बनाएकी थिइनन् । भारतको दिल्लीबाट बिजनेस स्टडीमा स्नातक पूरा गरी नेपाल फर्किएकी अश्लेषालाई एउटा पत्रिकाको कभरका लागि प्रस्ताव आयो । उनले पनि फुर्सद भएको हँुदा फोटोसुट गराइन् । त्यसपछि उनी प्रिन्ट मिडिया, पेपर एड तथा फोटोसुटमा छाइरहिन् । अश्लेषालाई र्‍याम्प, म्युजिक भिडियो तथा चलचित्रका लागि प्रशस्तै प्रस्ताव आइरहेका छन् तर उनले आफ्नो रुचि नभएका कारण त्यतातिर ध्यान दिएकी छैनन् । अश्लेषालाई सानैदेखि आर्टमा रुचि थियो । ब्युटिहोम संचालन गर्ने उनकी आमा पनि हेयर स्टाइल तथा मेकअपमा रुचि राख्ने भएकीले अश्लेषा पनि त्यतैतर्फ लहसिइन् । उनले थाइल्यान्डबाट मेकअप आर्टको कोर्स गरिन् । अहिले उनी भीएलसीसीको बिजनेस हेड तथा मेकअप आर्टिस्टका रूपमा कार्यरत छिन् । त्यसबाहेक फ्रिलाइन्सर मेकअप आर्टिस्टका रूपमा समेत सक्रिय अश्लेषा युवापुस्तामाझ लोकपिय्र हुने क्रममा छिन् ।

वर्तमान युवापुस्ताले रुचाउने युवती हुन्–त्रिशाला गुरुङ । गुरुङ मेडिकल छात्रा हुन् । उनले भर्खरै एमबीबीएसको अन्तिम वर्ष पूरा गरेकी छिन् । सामाजिक सञ्जाल तथा युट्युबका दर्शक एवं श्रोताबीच गायिकाका रूपमा परिचित त्रिशालाले ५० वटाभन्दा बढी कभर गीत रेकर्ड गराई भिडियोसमेत बनाएर युट्युबमा राखेकी छिन् । उनका प्रशंसकहरू उनलाई गजबकी गायिका मान्छन् तर उनले आजसम्म आफ्नो व्यक्तिगत एल्बम भने निकालेकी छैनन् । आफ्नै रुचिले एउटा गीत गाएर फेसबुकमा राखेपछि उनलाई आरबी ट्रेली नामक कम्पनीले आफ्नो कलाकार बनाएको हो । आरबीले नै उनको गीत रेकर्ड गराउने, भिडियो बनाउने तथा युट््युबमा राख्ने तथा कतै कार्यक्रम भयो भने त्यसको म्यानेज गर्ने काम गर्छ । मेडिकलकी विद्यार्थी अश्लेषाको यस्तो काम घरपरिवारबाट भने त्यति रुचाइएको छैन । यद्यपि फुर्सद निकालेर उनी आफ्नो यो रहर पूरा गर्दैछिन् । अध्ययनको एउटा चरण सकिएकाले अब पब्लिक हेल्थका साथ संगीत क्षेत्रमा पनि निरन्तरता दिने उनको सोच छ । 

तस्बिर : महेश प्रधान

पहिरन : रुना मानन्धर, इनोभ एट बुटिक, कुपन्डोल तथा नागपोखरी 

मेकअप : अश्लेषा राणा, बिजनेस हेड, भिएलसीसी, उत्तरढोका

हेयर स्टाइल : संगीता प्रधान, काया द स्पट ब्युटिपार्लर, कुपन्डोल

लोकेशन : इन्टरनेशनल क्लब, सानेपा

 Image